नेपालमा रेल चालक बन्न डिप्लोमा पास हुनुपर्ने, भाडा नदिनेलाई जुनसुकै स्टेसनबाट ओरालिने

बिजमाण्डू
२०७९ असार १७ गते १५:४१ | Jul 1, 2022

काठमाडौं। राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।

Tata
GBIME
Nepal Life

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए। अर्का संशोधनकर्ता सांसद डा. विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने बताइन्।

सांसद प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि संकुचित गर्ने मनशाय राखिएको केही प्रावधान हटाउनुपर्ने बताए। रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए।

चालक बन्न डिप्लोमा पास गर्नुपर्ने, नेपाली नपाए विदेशी

विधेयकमा रेलको चालक बन्न मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट चालकको तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने उल्लेख छ। चालक बन्न २१ वर्ष पुरा भएको र ४० वर्ष ननाघेको हुनुपर्ने विधेयकमा उल्लेख छ। विदेशी चालकका लागि दफा १७ बमोजिम निवेदन दिनुपर्ने उल्लेख छ।

नेपाली नागरिकबाट कुनै आवेदक नआए विदेशबाट चालक करारमा नियुक्त गर्न सकिने प्रावधान छ। यससम्बन्धी व्यवस्था परिच्छेद १३ को ७३ मा उल्लेख छ।

को चढ्न पाउँदैनन्

विधेयकमा यात्रीका लागि इन्कार गर्न सकिने प्रावधान पनि उल्लेख छ। रेलमा संक्रामक रोगसम्बन्धी प्रचलित कानुन बमोजिम यात्रा गर्न रोक लगाएको कुनै रोग लागेको अवस्थामा चढ्न नपाइने उल्लेख छ। त्यसैगरी मादक पदार्थ, लागू पदार्थ सेवन गरेको व्यक्तिलाई समावेश गराउँदा रेलमा अशान्ति मच्चिने सम्भावना भएमा उनलाई पनि यात्रा गर्न निषेध गर्न सकिने उल्लेख छ।

दुर्घटनासम्बन्धी यस्तो छ प्रावधान

रेल यात्राका क्रममा दुर्घटनामा परेमा यात्रुलाई दिइने क्षतिबारे पनि विधेयकमा उल्लेख छ। परिच्छेद ९ को ५५ को १ मा भनिएको छ, ‘रेल दुर्घटनाबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएकोमा मृतकको नजिकको हकवालालाई देहाय बमोजिमको रकम उपचार खर्च, क्षतिपूर्ति, किरिया खर्च वा राहत बापत उपलब्ध गराउनुपर्नेछ।‘

दुर्घटनाबाट कुनै व्यक्तिको मृत्यु भएमा किरिया खर्च तथा राहत वापत सात लाख रुपैयाँ दिने उल्लेख छ।

भाडा नदिए जुनसुकै स्टेसनबाट ओरालिने

यात्रुले भाडा नदिएमा जुनसुकै स्टेसनमा यात्रीलाई ओराल्न सकिने व्यवस्थासमेत विधेयकमा उल्लेख छ। परिच्छेद ६ को २८ मा यससम्बन्धी व्यवस्था गरिएको छ। २८ को २ मा भनिएको छ, ‘उपदफा(१) बमोजिम पुरा रकम नबुझाउने वा बुझाउन इन्कार गर्ने यात्रुलाई टिकट जाँचकीले जुनसुकै बखत रेल्वे स्टेशनमा रेलबाट ओराल्न सक्नेछ।‘

विधेयकको दफावार छलफलका क्रममा सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावका सम्बन्धमा उठेका सांसदहरूले राखेका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिने तयारी गरिएको छ।