बक्यौता रहेकाले भारतले तेल नदिने भन्यो: राज्यमन्त्री श्रेष्ठ, निगम भन्छ: ‘हामीलाई भनेको छैन’

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ असार १७ गते १४:३२ | Jul 1, 2022
बक्यौता रहेकाले भारतले तेल नदिने भन्यो: राज्यमन्त्री श्रेष्ठ, निगम भन्छ: ‘हामीलाई भनेको छैन’


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भुक्तानी नदिएको भन्दै भारतले तेल नदिने जानकारी गराएको बताएका छन्। 

Tata
GBIME
Nepal Life

काठमाडौंमा विद्युतीय पूर्वाधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले बक्यौता रहेको भन्दै भारतले पेट्रोलियम पदार्थ नदिने जानकारी गराएका थिए। 

‘अहिले भर्खरै मात्रै म उद्योग मन्त्रीजीकोमा पुगेर आएको थिएँ। २३ अर्ब रुपैयाँ पैसा तिर्न नसकेर अब हामी तेल दिन्नौं भनेर भारतले भनिरहेको छ,’ श्रेष्ठले सार्वजनिक कार्यक्रममा भनेका थिए।  बक्यौता नतिरे इन्डियन आयल कर्पोरेसनले आपूर्ति बन्द गर्ने जानकारी दिएको भन्ने मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा बताए पनि तेल आपूर्तिकर्ता नेपाल आयल निगम भने यसबारे अनभिज्ञ छ।

'हामीलाई अहिलेसम्म आइओसीले तेल रोक्ने बारेमा कुनै जानकारी दिएको छैन। हामीले मूल्य समायोजन गरेर भएपनि पैसा दिन्छौं भनेर प्रतिबद्धता गरिरहेका छौं,' निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बिजमाण्डूसँग भने, 'तिर्न बाँकी २३ अर्ब रुपैयाँ हो। त्यसका लागि हामीले भ्याट वापतको साढे पाँच अर्ब रुपैयाँ र तीन अर्ब रुपैयाँ ऋण लिएर किस्ता तिर्न खोजिरहेका छौं।'

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण निगमलाई कठिन अवस्था रहेको उनले बताए। 'हामी कठिन अवस्थामा पक्कै छौं। यो कठिन अवस्थालाई सबै पक्षले बुझ्न भने जरुरी हुन्छ,' भट्टराईले भने।

अभाव गराउने अभिव्यक्ति

मन्त्री श्रेष्ठले पेट्रोलियम पदार्थ आपूर्तिको संवेदनशीलता नबुझी सार्वजनिक अभिव्यक्ति दिएका छन्। उनको अभिव्यक्तिले तत्कालै उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने देखिन्छ।

'मन्त्रीजस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले उपभोक्तामाझ त्रास फैलाउने काम भएको छ,' एक उपभोक्ता संघका सदस्यले भने, 'मन्त्रिपरिषद्‍मा कसरी तेल आपूर्ति सहज गर्न सकिन्छ भनेर छलफल गर्नुपर्नेमा उल्टै बाहिर आएर जनतालाई भ्रम छर्ने काम भएको छ।'

मन्त्रीको अभिव्यक्तिले उपभोक्ता पेट्रोल लिन पम्पमा खडा हुने र त्यसले अझै ठूलो समस्या ल्याउने उनी बताउँछन्। 'मन्त्रीले नै पैसा नतिरे तेल आउँदैन भनेपछि उपभोक्ता आतिन थाल्नेेछन्। उनीहरुसँग तेल भइरहे पनि भण्डारणका लागि पम्पमा जाने र झन् अभाव सिर्जना हुन्छ,' ती सदस्यले भने।