फराकिलो वृद्धि लगत्तै बजारमा देखिने करेक्सनको प्रवृत्ति पुनः दोहोरियो, आगामी चाल बजार अनुरूप

बिजमाण्डू
२०७९ असार १७ गते १४:०३ | Jul 1, 2022
फराकिलो वृद्धि लगत्तै बजारमा देखिने करेक्सनको प्रवृत्ति पुनः दोहोरियो, आगामी चाल बजार अनुरूप


काठमाडौं। सय अंकको वृद्धि लगत्तै बजारमा देखिने करेक्सनको प्रवृत्ति पुनः दोहोरिएको छ। अघिल्ला दुई दिनमा निरन्तर फराकिलो अंकले बढेको परिसूचक साताको अन्तिम कारोबार दिन भने सामान्य अंकले खुम्चिएको हो। 

Tata
GBIME
Nepal Life

बुधबार र बिहीबार गरी परिसूचकले ११६.३३ अंकको वृद्धि लिएको थियो। फराकिलो वृद्धिपछिको करेक्सन आजको कारोबारमा देखिएको छ। शुक्रबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ को विन्दुमा ओर्लिएको छ।

कारोबार अवधिभर आज उतारचढाव जारी रहेको मूल्य गतिविधिले देखाउछ। सामान्य गिरावट र सामान्य वृद्धि अन्तिम प्रहरसम्म दोहोरिइरहेको थियो। 

उतारचढावका बाबजुद लगानीकर्ताको माग बजारमा अत्यधिक रहेको बुझिन्छ। अघिल्लो दिन फराकिलो अंकको छलाङ कायम गरेको परिसूचकले लगानीकर्तामा खरिद गर्ने उत्साह थपेको हो। यद्यपि कारोबार बन्द हुँदा बिक्रेताको चापले बजारमा हावी हुँदा परिसूचक सामान्य अंक खुम्चिएको हो। 

परिसूचकको गिरावटसँगै कारोबारी बजारमा घटेको देखियो। अघिल्लो दिन साढे २ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा शुक्रबार भने मात्र डेढ अर्बको खरिद बिक्री हुन पुग्यो। फराकिलो वृद्धिपछि देखिएको बजारको उतारचढावले लगानीकर्तामा अन्योल बढाएको देखियो।

उत्साहित भएर किन्ने र प्यानिक भएर बेच्ने दुवै माहौल बजारमा देखिएन। बरु केही समय पर्खने कि? भन्ने एक किसिमको मनोविज्ञान लगानीकर्तामा माझ सृजना भएको छ। बजारको आवस्था अझै पनि विश्वसनीय नहुँदा लगानीकर्ताको आगामी चाल बजारको प्रदर्शनी अनुरुप हुने अनुमान लगाउन सकिन्छ। 

बजार आगामी दिनमा फराकिलो अंकसहित बढ्छ भने खरिदकर्ता बजारमा हावी हुने निश्चित छ। सोही गतिविधिसँगै कारोबार रकममा पनि तेजी देखिनेछ। यद्यपि बजार प्रतिकूल वातावरण सृजना भए बेचेर उम्किनेहरुले सेयर बजार नियन्त्रण गर्नेछन्। 

शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये अधिकतम उपसूचक घट्दा बजारले विपरीत लय समाएको बुझिन्छ। वित्त, लघुवित्त र व्यापार उपसमूहमा भने खरिदको माग आझै देखिन्छ। 

परिणामस्वरूप कुल ६८ वटा कम्पनीको मूल्य बढेको छ। तथापि जम्मा ६८ वटा कम्पनीको डिमाण्डले बजारको सकारात्मक प्रस्तुति कायम राख्न असक्षम रह्यो। बजारमा माग भन्दा अत्यधिक आपूर्ति सृजना भएको देखिन्छ। 

विशेषगरि कारोबारमा आएका कम्पनीमध्ये अधिकतमको मूल्य घट्दा परिसूचकमा दबाब पुगेको हो। आज १२८ वटा कम्पनीमा सेलर्सको नियन्त्रण भयो। मूल्य घटेका मध्ये प्रभावशाली कम्पनीहरु पनि समावेश छन्। आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको मूल्य डेढ प्रतिशत अधिक घटेको छ।