दुई दिन लगातार दोहोरो अंकको वृद्धि कायम गर्दा परिसूचक पुन: दुई हजारको लेभल माथि उक्लिएको छ।
बिहीबार कारोबार बन्द हुँदा परिसूचक २०३७.६४ विन्दुमा कायम हुन पुगेको हो. सेयर बजार बढ्दा लगानीकर्ताको आकर्षण भने ‘लो क्याप’ तथा ‘भोलाटाइल’ स्टकमा बढी देखिन्छ।
प्रमुख सूचकको प्रदर्शनी अनुरुप आफ्नो लय निर्धारण गर्ने विकास बैंक, वित्त र व्यापार अन्तर्गतका कम्पनीमा खरिदकर्ताको माग अत्याधिक रहेको बुझ्न सकिन्छ। बिहीबार प्रमुख सूचक करिब ४ प्रतिशत बढ्दा विकास बैंक ६.१३, वित्त उपसमूह ६.९८ र व्यापार उपसमूह ७.३१ प्रतिशत बढेका छन्।
कारोबारमा आएका अधिकांश उपसमूहको वृद्धि फराकिलो रह्यो। १३ वटा उपसमूहले औसत ५ प्रतिशतको वृद्धि लिएको देखिन्छ।
विशेषगरी परिसूचक अत्याधिक घट्दा लगानी अनुकुल वातावरण सिर्जना भएको जानकारहरुको बुझाइ छ। यसका अलावा मौद्रिक नीति पनि सेयर बजार प्रति लचिलो हुने अनुमान अधिकांश बजारको देखिन्छ। बजारको सेन्टिमेन्ट पोजिटिभ हुनुमा सो विषयले ठुलो भूमिका निभाएको छ।
चालु आर्थिक वर्ष पनि अन्तिम प्रहरमा छ। प्राय त्रैमासिक विवरण आउनु अधि बजारमा यस प्रकारको प्रदर्शनी दोहोरिने पनि गरेको इतिहास छ।
बिहिबार कारोबार रकम पनि तिव्र गतिमा बढेको देखिन्छ। बुधबारको तुलनामा अर्ब अधिक कारोबार भयो। आज झन्डै अढाई अर्बको कारोबार भएको छ। सामान्यतया परिसूचकको बढ्दो लय अनुसार कारोबार रकम पनि बढ्नु सकारात्मक संकेत मानिन्छ।