पेट्रोलको मूल्य अत्यासलाग्दो गरी आकाशिएपछि विद्युतीय स्कुटर र बाइकको व्यापार ह्वात्तै बढ्यो




काठमाडौं। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार आकाशिँदा यसको असर नेपालसम्म परेको छ। तीन महिनादेखि जारी युक्रेन-रुस युद्धका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति संकुचित हुँदा संसारका सबै बेन्चमार्कका कच्चा तेलको मूल्यमा चाप परेको छ।



नेपालले खरिद गर्ने पेट्रोलियमका लागि मूल्य निर्धारणको आधार मानिँदै आएको ब्रेन्ट क्रुडको मूल्य पनि लगातार उकालो लागेको छ। यसकै असरस्वरुप नेपालमा केही महिनायता एकपछि अर्को नयाँ मूल्य रेकर्ड बनाउँदै रफ्तारमा ठाडो उकालो चढेको पेट्रोलको दामले सवारीधनीलाई अत्याएको छ।

दुई पाङ्ग्रे सवारीसाधन लिएर हिँड्ने खासगरी सीमित आयबाट मासिक खर्च गुजार्नुपर्ने आय समूह पेट्रोलको यो मूल्यको पारोबाट आजित हुनुको प्रभाव विद्युतीय स्कुटर तथा मोटरसाइकलको बिक्रीमा देखिन थालेको छ।

पेट्रोलमा भएको चरम मूल्यवृद्धि  छल्न यतिबेला इलेक्ट्रिक स्कुटर तथा बाइक किन्ने उपभोक्ताको संख्या बढ्न थालेको छ। विद्युतीय दुईपाङ्ग्रेका ग्राहक बढ्न थालेपछि बिक्रेताहरुको पनि नयाँ नयाँ विद्युतीय बाइक तथा स्कुटर नेपाल भित्र्याउने होडबाजी चलेको छ।

यसcघि विद्युतीय स्कुटर तथा बाइक नेपालमा आयात भए पनि आएका जति बिक्री भइरहेको अवस्था थिएन। तर पछिल्लो समय पेट्रोलमा अत्याधिक मूल्यवृद्धि भएपछि मानिसहरु इलेक्ट्रिकतर्फ आकार्षित भएका व्यवसायीहरुले बताएका छन्।

नेपालमा लामो समयदेखि इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता योम माइ नेपालका निर्देशक संजिव शिल्पकारका अनुसार हाल स्कुटर खरिद गर्न मानिसको जिज्ञासा धेरै आउन थालेका छन्। व्यापार पनि ५० प्रतिशतले बढेको छ। तर उनले आफूले कम्पनीको स्कुटर चीनमा निर्माण हुने भएकाले चीनमा पछिल्लो समय भएको लकडाउनले आपूर्ति हुन नसकेको बताए।

'अहिले डिमान्ड पनि एकदमै धेरै छ। सोध्ने मान्छेको संख्या पनि बढेको छ। तर अहिले पहिलेको जस्तो सोध्न मात्र आउँदैनन्, किन्ने योजना बनाएरै आउने गरेका छन्,' उनले भने, 'हामीसँग अब स्कुटरको स्टक थोरै मात्र बाँकी छ। चीनमा भएको लकडानका कारण हाम्रो अर्डर ढिला गयो त्यसले गर्दा अब हाम्रो व्यापारमा असर गर्न सक्ने अवस्थामा पुग्न लागिएका छौं।'

यस्तै, कोमाकी ब्रान्डको बाइक तथा स्कुटर नेपालमा बिक्री गर्दै आएको युनिटी ट्रेडिङ कन्सर्न प्रालिका अनुसार हाल इलेक्ट्रिक स्कुटरको बिक्री बढेको छ। यसभन्दा अघि दिनमा बढीमा दुईवटासम्म बिक्री भइरहेको स्कुटर अहिले पाँचवटासम्म बिक्न थालेको कम्पनीका अधिकारीले बताए।

'यसभन्दा अघि कुनै दिन एउटा पनि बिक्री नभएको पनि हुन्थ्यो भने अहिले दिनकै पाँचवटासम्म बिक्री हुन्छ। यसो हुनुमा पेट्रोलको मूल्यवृद्धिले गर्दा पनि मानिसहरु बाध्यताले इलेक्ट्रिकतिर होमिएका छन्,' उनले भने, 'हाल महिनामै औसतमा ४५ वटा जति बिक्री हुन्छ।'

यस कम्पनीले बिक्री गर्ने विद्युतीय स्कुटरहरुको मूल्य २ लाख ९५ हजारदेखि ३ लाख १० हजारसम्म रहेको  बताइएको छ। यस्तै, इलेक्ट्रिक बाइकको दाम ४ लाख ३५ हजार रहेको कम्पनीले जनाएको छ।

ग्राहकहरुले पेट्रोलको मूल्यवृद्धिका कारण तेल हाल्न नसक्ने अवस्था आएकाले विद‍्युतीय दुईपाङ्ग्रे किन्न आएको बताउने गरेको बिक्रेता कम्पनीहरुको भनाइ छ।

यस्तै, नेपालमा सर्वाधिक चलेकोमध्येको चिनियाँ विद्युतीय स्कुटर ब्रान्‍ड एनआईयु (न्यु) को आधिकारीक बिक्रेता इको इन्फिनिटीले पनि इलेक्ट्रिक स्कुटरहरुको  व्यापार पहिलेको भन्दा अहिले राम्रोसँग बढेको बताएको छ। विद्युतीय स्कुटरको बिक्री एक्कासी बढ्नुको मुल कारण पेट्रोलमा भएको मूल्यवृद्धि नै रहेको कम्पनीको भनाइ छ।

नेपालमा धेरै बिक्री हुने अर्को विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड याडियाको इलेक्ट्रिक स्कुटर पनि अहिले हप्तामै ८-१० वटासम्म बिक्री हुन थालेको यसको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले जानकारी दिएको छ। पेट्रोलको मूल्य बढेपछि नै इलेक्ट्रिक स्कुटरबारे सोधपुछ धेरै हुन थालेको र बिक्री पनि दोब्बरले बढेको भनाइ कम्पनीस्रोतको छ। पहिले मुस्किलले हप्तामा ५ वटा बिक्री हुने गरेकोमा पछिल्लो समय पेट्रोलमा मूल्यवृद्धि भएपछि अहिले सातामा १० वटासम्म स्कुटर बिक्री भइरहेको कम्पनीले जानकारी दिएको छ।

सुपर सोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी डि लाइफस्टाइलका सेल्स इन्चार्ज गोकुल राउतले पनि केही समयअघिसम्म हप्तामा मुस्किलले पाँचवटा स्कुटर बिक्ने गरेकोमा पेट्रोलको मूल्य अत्याधिक बढेपछि भने अहिले १२ वटासम्म बिक्री हुन थालेको  जानकारी दिए। शोरुममा आएका ग्राहकलाई रेसपोन्स गर्न नै स्टाफलहरुलाई भ्याइनभ्याइ भएको उनी बताउँछन्।

अझै इन्धन बाइकको तुलनामा ४०% महँगो

इन्धन स्कुटर तथा बाइकको तुलनामा विद्युतीय दुईपाङ्ग्रेको सुरुआती मूल्य ४० प्रतिशत महँगो रहेको कतिपय बिक्रेताहरु आफैं बताउँछन्। दाम यसरी महँगो पर्ने भएकाले पनि व्यापार सम्भावना अनुसार हुन सकिरहेको छैन।

मूल्य बढी परेर पनि इन्धनबाट चल्ने स्कुटर बाइकको तुलनामा विद्युतीयको इन्जिन पनि केही कम शक्तिशाली हुने भएकाले पनि धेरैले अझै पनि विद्‍युतीय दुई पाङ्ग्रेप्रति धेरै कम आकर्षण देखिएको हो।

नेपालमा चालु आवको ११ महिनासम्म ३६ करोड रुपैयाँ बराबरको ४५९१ युनिट इलेक्ट्रिक बाइक तथा स्कुटर आयात भएका छन्। यसबाट सरकारले ८ करोड ४४ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

भन्सार विभागको तथ्यांकमा इन्धनबाट चल्ने दुई पाङ्ग्रे सवारी भने २३ अर्ब ६६ करोड रुपैयाँ बराबरको दुई लाख ३९ हजार १९५ युनिट आयात भएका छन्। सरकारले भन्सार शुल्क मात्र २३ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell