आपले सरकार चलाइरहेको पञ्जाबमा आर्थिक संकट, ऋण पासोमा परेको भन्दै निकाल्यो स्वेत पत्र

बिजमाण्डू
२०७९ असार ११ गते २१:५१ | Jun 25, 2022
आपले सरकार चलाइरहेको पञ्जाबमा आर्थिक संकट, ऋण पासोमा परेको भन्दै निकाल्यो स्वेत पत्र


दिल्लीबाहिर पहिलोपटक आम आदमी पार्टी (आप) ले सरकारको नेतृत्व गरिरहेको भारतको पंजाब आर्थिक समस्या र ऋण पासो (डेब्ट ट्रयाप) मा रहेको प्रान्तीय विधानसभामा प्रस्तुत यस राज्यको वित्तसम्बन्धी स्वेत पत्रले देखाएको छ।

Tata
GBIME
Nepal Life

पंजाबका वित्त मन्त्री हरपल सिंह चीमाले शनिबार स्वेत पत्र प्रस्तुत गर्दै अहिले देखिएको वित्तीय गडबडीको कारक यसअघिको सरकार भएको आरोप लगाए।

राज्य बजेट प्रस्तुत हुने दिनभन्दा दुई दिनअघि विधानसभामा पेस गरिएको उक्त दस्तावेजमा भनिएको छ, 'आज पञ्जाब आर्थिक दलदल र ऋणको पासोमा छ। पूर्ववर्ती सरकारले आवश्यक सुधारका कदम चाल्नु साटो वित्तीय विलास र भ्रष्टाचारलाई निरन्तरता दियो। राज्य सरकारको कोष अनुत्पादक प्रयोजनमा अनियन्त्रित किसिमले खर्च गरेका विवरणहरु यसका प्रमाण हुन्। सित्तैमा अनुपयुक्त ठाउँमा अनुदानहरु दिइएका छन्।'

स्वेतपत्रमा थप भनिएको छ, 'राज्यको वित्तीय अवस्थाका सम्बन्धमा जारी स्वेतपत्र पंजाब सरकारले वित्तको क्षेत्रमा सामना गरिरहेका जटिल समस्याहरुलाई सरलीकृत गरेर प्रस्तुत गर्ने कोसिस हो, जसले विगतका सरकारहरुको लापरवाहीका कारण गम्भीर बन्दै गएको अवस्थालाई उत्खखन समेत गर्न खोजेको छ।'

यसका साथै अहिले पंजाब सरकारको तिर्न बाँकी कर्जा २६ खर्ब ३० अर्ब (२.६३ लाख करोड) भारु राज्यको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.८८ प्रतिशत पुगिसकेको पनि जनाइएको छ। 'पंजाबको कर्जा सूचकहरु सायद अहिले पूरा देशमा नै सबैभन्दा खराब छ, जसले राज्यलाई डेब्ट ट्रयापको गहिराइमा धकेलिरहेको छ,' स्वेतपत्रमा उल्लेख छ।