काठमाडौंको शंखरापुर नगरपालिकामा विद्यालय शिक्षादेखि स्वास्थ्य सेवासम्म निःशुल्क गरिने

बिजमाण्डू
२०७९ असार ११ गते १९:५७ | Jun 25, 2022
काठमाडौंको शंखरापुर नगरपालिकामा विद्यालय शिक्षादेखि स्वास्थ्य सेवासम्म निःशुल्क गरिने


काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिकाले नगरबासीलाई शिक्षादेखि स्वास्थ्यसम्मका सेवा निःशुल्क गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

शंखरापुरको शुक्रबार सम्पन्न सातौं नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ । 

सोसँगै नगरसभाले यस नगरपालिकामा पर्ने नौवटा वडाका स्थानीयबासीका लागि माध्यमिक तहसम्म शिक्षादेखि स्वास्थ्यसम्म निःशुल्क उपलब्ध गराउने लगायका कार्यक्रम स्वीकृत गरेको हो। 

नगरसभाले ६० वर्षमाथिका जेष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा प्रदान गर्ने नीति पनि पारित गरेको छ। यस्तै, नगरबासीका लागि शवबाहन सेवा पनि निःशुल्क गर्ने नीति पनि पारित गरिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए। 

यस्ता छन् शंखरापुरमा नगरसभाले आगामी आवका लागि पारित गरेका मुख्य नीति तथा योजनाहरुः 
१) नगरपालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने
२) सम्पूर्ण शंखरापुर नगरबासीहरुलाई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने
३) कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिने
४) गर्भवती महिला र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गर्ने 
५) नगरपालिकाभित्र शव वाहन सेवा निःशुल्करुपमा उपलब्ध गराइने
६) अशक्त तथा जेष्ठ नागरिकलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिइने, जेष्ठ नागरिकहरुका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गर्ने 
७) ऐतिहासिक साँस्कृतिक शहर शंखरापुर नगरभित्रका जात्रा, पर्वहरु दीर्घकालीन आर्थिकरुपमा सहज ढंगले सञ्चालन गर्नका लागि कोषको व्यवस्था गर्ने
८) ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तीलाई साँस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने 
९) सम्पदा बस्तीमा मापदण्डअनुसार घर बनाउनेहरुलाई प्रोत्साहनस्वरुप रु.१ लाख दिँदै आएकोमा घरको नक्सा तयार गरेवापत रुं २५ हजार थप गरी रु. १ लाख २५ हजार दिने साथै सम्पदा बस्ती बाहिरको हकमा ‘घ’ वर्गको घर नक्सा नगरपालिकाबाट निःशुल्क बनाइदिने । 
१०) नगरस्तरीय खेलकुद एकेडेमी सञ्चालन गर्ने 
११) नगरपालिकाभित्र खुला ब्यायामशाला सञ्चालन गर्दै जाने
१२) बिद्यालय स्तरबाटै मार्सल आर्टका खेलाडी उत्पादन गरी शंखरापुर नगरपालिकाका खेलाडीहरुलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने
१३) स्थानीय कच्चा पदार्थबाट सञ्चालन हुने उद्योगहरुलाई अनुदान तालिम तथा अन्य सहुलियत प्रदान गर्ने
१४) गृह श्रमिक, लघु उद्यमी तथा साना व्यवसायीहरु बाट उत्पादित बस्तुहरुको बजारीकरणलाई सहज बनाउन कोसेलीघर स्थापना गरिने
१५) सामुदायिक वनहरुमा आयआर्जनको कार्यक्रमका लागि पब्लिक–प्राइभेट पार्टनरसीपका कार्यक्रम ल्याइने
१६) शंखरापुर नगरपालिकाको समृद्धिको लक्ष्य प्राप्तिको लागि कृषि पर्यटन विभिन्न क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने
१७) शंखरापुर उज्यालो कार्यक्रम अन्र्तगत सबै वडाका मुख्य चोकहरुमा सडक बत्तिको जडान गर्ने
१८) जनघनत्व बढी भएका मुख्य चोकहरुमा सीसीटिभीको व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने
१९) जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने
२०) शंखरापुर नगरपालिकाको अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने
२१) पर्यटन सूचना केन्द्र स्थापना गर्ने