बढ्दो इन्धन मूल्यको विकल्प: के इलेक्ट्रिक कार चलाएर पैसा बचत गर्न सकिन्छ ?

शुक्र गिरी/बिजमाण्डू
२०७९ असार ११ गते १०:१७ | Jun 25, 2022
बढ्दो इन्धन मूल्यको विकल्प: के इलेक्ट्रिक कार चलाएर पैसा बचत गर्न सकिन्छ ?

काठमाडौं। हालसम्म आयात भएका करिब २५०० विद्युतीय कार, जिप र भ्यान नेपाली सडकमा कुद्न थालेका छन्। अन्तर्राष्ट्रिय रूपमा बढ्दो इन्धनको मूल्यले धेरैलाई पुरानो छाडेर गाडीमा अब विद्युतीय प्रयोग गर्न प्रेरित गरेको छ।

Tata
GBIME
Nepal Life

युरोप वा अन्य पश्चिमा देशहरुमा त्यहाँका सरकारहरुले सन् २०३० देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। उनीहरु विद्युतीय गाडीको प्रयोगमा जोड दिइरहेका छन्। यसलाई पर्याप्त तयारीको योजनाविनै हतार गरिएको भनेर अटोमेकरहरुले आलोचना पनि गरेका छन्। तर उक्त घोषणाको प्रभाव युरोपेली मुलुकका बजारमा देखा पर्न थालिसकेको छ।

यसले अप्रत्याशित रूपमा कारहरूको लागि आफ्नो विद्युतीय सवारी (इभी) मा प्रदान गरिने अनुदानहरु समेत रद्द गर्न थालेका छन्।

यस्तै नेपालले पनि विद्युतीय केही सवारीमा भन्सार शुल्क र अन्त:शुल्क बढाएको छ। यसले पनि विद्युतीय गाडी झन महँगो हुन पुगेको अटो व्यवसायीहरुको भनाइ छ। नेपालमा धेरैजसो गाडी भारत र चीनबाट आयात भएका छन्।

मानिसहरु तेलको मूल्य बढ्दै गएपछि इभी (इलेक्ट्रिक भेहिकल)तिर धेरै चासो राख्न थालेका छन्। बजार उदार होस् नहोस् अब विद्युतीय सवारीतर्फ अघि नबढी सुखै छैन। उत्पादकबाटै पुराना प्रविधि निरुत्साहित हुन सुरु भएपछि बजारले पछाडि फर्कन पाउँदैन। इभीका लागि विस्तारै सरकार उदार हुनैपर्छ। प्रयोगकर्ताले रुपान्तरणलाई क्रमिक अपनाएको सडकबाटै देखिन्छ। 

यतिबेला सवारी प्रयोगकर्ता पुरानो र नयाँ इन्जिनमा हुने खर्चको होसाब सुन्न मन पराइरहेका छन्। बजारमा सस्ता गाडी निकै न्यून छन्। खरिदमा एकपटक महँगो परे पनि नियमित प्रयोगमा वचत हुने देखिन्छ। विद्युतीय गाडी खर्चका मामिलामा प्रयोगकर्तालाई धेरै दबाब पार्ने खालका छैनन्। 

इन्धन खर्च: इभी चार्ज गर्दा र पेट्रोल हाल्दा कति?

कुनै ४० लिटर पेट्रोल जाने परिवारिक ह्याचब्याकको ट्याङ्कीमा इन्धन भर्दा एक वर्ष पहिले ४ हजार रुपैयाँ लाग्ने गरेकोमा बढेको इन्धन मूल्य अनुसार ८ हजार रुपैयाँ खर्च लाग्छ। नेपालमा चल्ने प्राय: निजी कारहरु पेट्रोलबाट चल्ने छन्।

हाल पेट्रोल १९९ रुपैयाँ प्रतिलिटर छ। सामान्य ४० लिटरको पेट्रोल इन्धन गाडीले प्रति लिटर १७ किलोमिटरको माइलेज दियो भने पनि ६८० किलोमिटर पार गर्न सकिन्छ। खर्च हुन्छ ७ हजार ९ सय ६० रुपैयाँ।

हालैको सरकारले ऊर्जा मूल्य समायोजन गरेको मूल्य अनुसार माथि भनिएको जति ६८० किलोमिटर दुरी पार गर्न इभीलाई १३ सय ५० रुपैयाँ खर्च लाग्छ। यदी घरमा चार्ज गर्दा सामान्यतया यसको खर्च यति हुन्छ। तर फास्ट चार्जिङमा गर्नु भयो भने २२ सय ५० रुपैयाँ लाग्छ। यसो हुनुमा फास्ट चार्जरबाट चार्ज गर्दा छिटो हुन्छ तर खर्च प्रति युनिट २५ देखि ३० रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ। आफ्नै घरमा चार्ज गरेमा प्रति युनिट १५ रुपैयाँसम्म मात्र तिरे पुग्छ।

घरमा चार्ज गर्दा समय लाग्छ तर विद्युत महसुल कम उठ्छ। सामान्य अफिस जाने आउने गर्दा पनि ६८० किलोमिटर भन्दा धेरै कुद्छ। त्यसैले एक वर्षमा इन्धन गाडीले १ लाख रुपैयाँको तेल खर्च लाग्छ। तर त्यति नै दुरी विद्युतीय गाडी कुदाउँदा एक वर्षमा घरमै चार्ज गरे १४ हजार रुपैयाँले पुग्छ। फास्ट चार्जिङ गरेमा २८ हजार रुपैयाँ खर्च हुन्छ।

तर हाल नेपाल प्राय: जसो सबै जना चालकहरुले सामान्यतया घरमा चार्ज गर्ने गरेका छन्। नेपालमा हाल प्रशस्त रुपमा फाष्ट चार्जिङ सेन्टर निर्माण भइसकेको अवस्था छैन। सरकारले ५० वटा नेपाल भरीका विभिन्न स्थानमा निर्माण गरिरहेको छ। निजी क्षेत्रबाट पनि लगभग २०-३० वटा निर्माण भएका छन्।

यसलाई आधार मान्दा इन्धन भन्दा विद्युतीय गाडी प्रयोग गर्दा इन्धन खर्च मात्र ४ गुणा धेरै सस्तो पर्दछ। यो हालको बढेको इन्धन मूल्य अनुसार इन्धन भरेको ४० लिटरको पेट्रोलमा पार गरेको ६८० किलोमिटर दुरी विद्युतीय गाडीले पार गर्दा झन्डै ६ हजार बचत हुन्छ।

विद्युतीय कार किन्न कति पर्छ ?

विद्युतीय कार र इन्धन सवारीसाधन बीचको मूल्य भिन्नता बिस्तारै संकुचित हुँदै गएको छ। तर हाल धेरै हदसम्म दुवैको मूल्य फरक छन्। अहिलेको लागि नेपालमा एक सामान्य नयाँ इलेक्ट्रिक कार किन्न पेट्रोल वा डिजेल मोडेल भन्दा महँगो छ। नेपाली बजार उपलब्ध विद्युतीय गाडीहरु ३५ लाखदेखि २ करोडसम्मका छन्।

तर इन्धन गाडीहरु त्यो भन्दा धेरै कम मूल्यमा बढि फिचर र सुविधा भएका गाडी किन्न सकिन्छ र नेपालमा उपलब्ध छन्। जस्तै २५ लाखदेखि ३० लाखको हाराहारीमा पाइन्छन्।

यद्यपि, सस्तो सेकेन्ड-ह्यान्ड इन्धन गाडीहरु नेपालमा बढ्दो रूपमा उपलब्ध छन्। तर विद्युतीय गाडीहरु भने हाल सेकेन्ड-ह्यान्ड किन्न पाइदैन। अपवादका रुपमा मात्रै उपलब्ध हुन सक्छन्।

नेपालमा इन्धन गाडीहरु भाडामा पाइने भएकाले अर्को विकल्प छ। तर विद्युतीय गाडीहरु भने तत्काल भाडामा उपलब्ध छैन। पश्चिमा मुलुकहरुमा भने विद्युतीय गाडीहरु पनि भाडामा प्रयोग गर्न पाइन थालिसकेको छ। यसले पनि अरु देशहरुमा विद्युतीय सवारीको माग बढी भइरहेको छ। ट्राभल एजेन्सीदेखि पर्यटन क्षेत्रमा काम गर्ने कार्यालयहरुले विद्युतीय गाडी प्रयोग बढाउदै लगेका छन् नेपालमा भने गाडीको मूल्यका कारण त्यसो हुन सकिरहेको छैन।

यद्यपि, विद्युतीय गाडीहरुमा प्रयोग भएका ब्याट्रीहरू प्रयोगसँगै बिग्रन्छ। जसले तिनीहरूको कार्यसम्पादन घटाउँछ। सामान्यतया ब्याट्रीको जीवनकालमा लगभग ९ प्रतिशतले ब्याट्रीको लाइफ घट्न जान्छ।

नेपालमा उपलब्ध धेरै जसो कम्पनीले आफ्नो ब्याट्रीहरू ८ देखि १० वर्ष वा एक लाखदेखि १ एक लाख ६० हजार किलोमिटरसम्मको ग्यारेन्टी दिन्छन्।

अन्य लागतहरूको बारेमा के हो?

नेपालमा सरकारले इभीमा वार्षिक करहरु छुट दिएको छ भने इन्धन गाडीमा वार्षिक कर तिर्नुपर्छ। एक हजार सीसीसम्मको इन्धन गाडीको वार्षिक कर २० हजार ९०० रुपैयाँ, एक हजारदेखि १५०० सीसीसम्मको लाई २३ हजार १०० रुपैयाँ छ।

तर विद्युतीय सवारीमा भने सरकारले ५० किलोवाटदेखि १२५ किलोवाट क्षमताको मोटर भएको गाडीले वार्षिक १५ हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्मका गाडीले २० हजार र २०० किलोवाट माथिका गाडीले ३० हजार वार्षिक कर प्रदेश सरकारलाई तिर्नु पर्छ। यस्तै ५० किलोवाट भन्दा कम मोटर क्षमता भएका विद्युतीय सवारीले यो वर्षदेखि ५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसभन्दा अघि सरकारले छुट दिदै आएको थियो।

इभीमा कम्पनीले दिएको वारेन्टी र सर्भिसिङले गर्दा धेरै कम खर्च लाग्छ। विद्युतीय गाडी ३ महिनामा सर्भिसिङ गर्दा हुन्छ भने इन्धन गाडी डेढ महिनामा गर्नुपर्छ। यसमा पनि इभीमा खर्च हुँदैन भने इन्धनमा इन्जिन आयाल, फिल्टर लगायतका कुराहरु परिवर्तन गर्नुपर्ने हुँदा कम्तीमा ५ हजार खर्च लाग्छ।

विद्युतीय कारमा इन्जिन आयल परिवर्तन गरिरहनु पर्ने झन्झट पनि हुँदैन। यसमा घर्षण हुने पार्ट्स पनि थोरै हुने भएकाले विद्युतीय कारको मर्मत खर्च पेट्रोल वा डिजेलबाट चल्ने सवारीभन्दा निकै कम हुन्छ। तर ब्याट्रीमा समस्या आयो भने त्यो चाहिँ महँगो पर्न जान्छ।

इलेक्ट्रिक कारहरूलाई सामान्यतया पेट्रोल वा डिजेल कारहरू भन्दा कम मर्मत आवश्यक पर्दछ। तर इभीमा तीन वर्षपछि वार्षिक मिनिस्ट्री अफ ट्रान्सपोर्ट (एमओटी) टेस्ट हुनु आवश्यक छ। जसले सवारी साधनको सुरक्षा, कार्बन उत्सर्जन र सडक योग्यता परीक्षण गर्ने माध्यमको रूपमा परीक्षण गर्ने गर्दछ।

इभी चार्ज गर्न कति समय लाग्छ?

यो इभीमा हुने मोडेल र चार्जरको गतिमा निर्भर गर्दछ। फास्ट चार्जिङको सुविधा उपलब्ध नभएको इभीमा सामान्य एसी चार्जरबाटै घरमा चार्ज गर्दा ६ देखि १२ घण्टासम्म लाग्न सक्छ।

तर फास्ट चार्जिङको सुविधा उपलब्ध भएका इभीहरु भने चार्ज गर्दा २० देखि ४० मिनेटसम्म लाग्न सक्छ। यसले गर्दा लामो दुरीको यात्रा गर्दा सजिलो बनाउँछ। खाजा वा खाना खाने समयमा चार्ज गर्न सकिन्छ। तर सामान्य एसी चार्जरबाट भने धेरै समय लाग्ने हुँदा विद्युतीय गाडी खरिद गर्दा फास्ट चार्जिङको सुविधा पनि भएको किन्नु राम्रो हुन्छ।

तर इन्धन सवारीको लागि भने इन्धन भर्न जम्मा ५-१० मिनेटको समय मात्र लाग्छ। यसमा भने चार्जिङको झन्झट हुँदैन। यसका लागि पेट्रोल पम्प नेपालमा प्रशस्त छन्। इभीका लागि चार्जिङ स्टेसनहरु थपिँदै छन्। हाल धेरै छैनन्। भएका पनि सीमित संख्यामा छन्।

नेपालमा हाल १७० एसी र २५ वटा फास्ट चार्जिङ स्टेसनहरु छन्। तर अन्य देशहरुमा भने देशको जनसंख्याको प्रत्येक ८२४ जनाका लागि एक चार्जरको व्यस्था गरिएको छ। यसको बढ्दो क्रम जारी नै छ।

युरोपेली देशहरुले इभी रणनीतिको एक भागको रूपमा त्यहाँका सरकारले २०३० सम्म चार्जरहरूको संख्या १० गुणा बढाउने योजना बनाएको छ।

यस्तै हाम्रो सरकारले पनि आगामी बजेटमा हरेक पेट्रोल पम्पमा निजीसँग सहकार्य गरेर चार्जिङ स्टेसन निर्माण गरिने बताएको छ। यसका लागि निजी क्षेत्रको सहयोग र लगानी आवश्यक पर्दछ।

के इभी वातावरणको लागि राम्रो छ?

आवश्यक विभिन्न खनिजहरूको कारणले गर्दा इभी उत्पादन गर्दा डिजेल वा पेट्रोल गाडीको तुलनामा बढी हरितगृह ग्यास (जीएचजी) उत्सर्जन हुन्छ। तर नेपालमा विद्युतीय गाडी चलाउँदा डिजेल कारको जीएचजी उत्सर्जनको एक चौथाइ मात्र उत्पादन हुन्छ र पेट्रोल मोडेलको भन्दा पाँचौ कम हो।

यसलाई ध्यानमा राख्दै इभीको वातावरणीय प्रभाव स्वामित्व भएको १८ महिना भित्र वा डिजेल कारको लागि दुई वर्षभित्र पेट्रोल कारको भन्दा कम हुनेछ। कार चलाउँदा उत्पन्न हुने कार्बन उत्सर्जन चार्जिङ बिजुली कसरी उत्पादन हुन्छ भन्नेमा भर पर्छ। हाम्रो जस्तो प्राकृतिक स्रोतबाट उत्पादन हुने ऊर्जाको प्रयोगले विद्युतीय गाडीबाट कार्बन उत्सर्जन हुँदैन।

तर अन्य देशहरुले नवीकरणीय ऊर्जाबाट धेरै बिजुली उत्पादन गर्ने भएकाले इभीले प्रति किलोमिटर थोरै मात्रामा भएपनि कार्बन उत्सर्जन उत्पादन गर्ने हुन्छ।

अर्को मुख्य मुद्दा इभीमा प्रयोग हुने ब्याट्रीहरूका लागि आवश्यक सामग्रीहरू र ती डेड भएपछि कसरी निकासा गरिन्छ भन्ने पनि चुनौतीका रुपमा छन्। हाल विश्वमा भएका इभीको ब्याट्रीहरु जम्मा ५ प्रतिशत मात्र पुन: प्रयोग गरिन्छ। तर प्रमुख निर्माताहरू भने यसलाई सुधार गर्न प्रतिबद्ध छन्।