राष्ट्र बैंकले औंल्यायो बैंकका दर्जन बदमासी: २७ वटै सीईओलाई डाकेर पढायो गल्ती

बिजमाण्डू
२०७९ जेठ ३१ गते १७:५१ | Jun 14, 2022
राष्ट्र बैंकले औंल्यायो बैंकका दर्जन बदमासी: २७ वटै सीईओलाई डाकेर पढायो गल्ती


काठमाडौं। मौद्रिक नीति जारी गर्नुअघि नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग छलफल गर्दै कर्जा दुरुपयोग बढेको जनाएको छ।

Tata
GBIME
Nepal Life

डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले ऋण दुरुपयोग बढेको उल्लेख गरेका हुन्।

कार्यक्रमको सुरुआतमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मन्तव्य राखेका थिए। उनले पछिल्लो समय बैंकहरुले नीति निर्देशनको राम्रो पालना नगरेको बताएका थिए।

त्यसपछि प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरिएको थियो। लगत्तै ढकालले बोलेका थिए। छलफलका क्रममा ढकालले चालु पुँजी कर्जा प्रवाह गर्दा आवश्यक नहुनेलाई प्रदान गरेको कौफियत औंल्याएका थिए।

वाणिज्य बैंक सुपरिवेक्षण विभागले आयोजना गरेको कार्यक्रममा ढकालले आवश्यकताभन्दा बढी कर्जा प्रवाह भएको बताएका थिए। उनले प्रक्षेपित र वास्तविक खुद चालु सम्पतिबीच धेरै नै फरक देखिँदासमेत त्यसको बैंकहरुले बेवास्ता गरेको उनले बताए।

ढकालले अन्य पक्षहरुको मूल्यांकन नगरी स्थिर सम्पत्तिको आधारमा मात्र कर्जा प्रदान नगर्ने गरेको पाइएको बताए। नयाँ कर्जा प्रदान गरी पुरानो कर्जा चुक्ता गर्ने प्रवृत्ति बढेको भन्दै ढकालले असन्तोस व्यक्त गरेका थिए।

राष्ट्र बैंकले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत बैंकका दर्जन बढी बदमासीमाथि चर्चा गरेको थियो। यसलाई नियमित कार्यक्रमअन्तर्गत राखिए पनि विशेष गरी बैंकहरुको बदमासीका बारेमा छलफल गरिएको थियो।

नेपाल राष्ट्र बैंकले तोकेभन्दा फरक तरिकाले ब्याज प्रिमियम तोक्ने र परिवर्तन गर्ने गरिएको अभ्यासबारे पनि गुनासो गरिएको थियो। यसलाई गलत अभ्यास भन्दै राष्ट्र बैंकले कारवाही गरिने चेतावनीसमेत दिएको थियो।

कतिपय कर्जाहरु, कर्जा प्रवाह गर्दाका बखतमा आधार दरभन्दा कम ब्याजदर हुने गरी समेत प्रवाह भएको राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतहरुलाई जानकारी गराएको थियो। सेवा शुल्कमा राष्ट्र बैंकको नीति बमोजिम (२० प्रतिशतभन्दा फरक हुन नहुने) नगरेको पाइएको पनि जानकारी गराइएको थियो।

तीन/तीन महिनामा कर्जा प्रवाह गरी नवीकरणको नाममा चार पटकसम्मक सेवा शुल्क लिने गरेको पनि राष्ट्र बैंकले फेला पारेको कार्यक्रममा जानकारी गराएको थियो।

ढकालले कार्यक्रममा कर्जाको वर्गीकरण गलत प्रकारले गर्ने गरेको पाइएको समेत बताए। बैंकहरुले भाखा नागेको आधारमा गरिनु पर्ने कर्जा वर्गीकरण समेत फरक गर्ने गरेको देखिएको बताए।

‘नेट वर्थ ऋणात्मक भएको, ऋण र स्वपुँजी अनुपात नपुगेको, कम्पनी विगत वर्षहरुमा निरन्तर नोक्सानमा गएको, कर्जा नवीकरण नगरी भाखा सारेको जस्ता ऋणीहरुलाई प्रवाह भएको ऋणलाई समेत असल कर्जामा वर्गीकरण गरिएको छ’ उनले बैंकर माझ भने।

ऋणी कम्पनीको ब्यवसाय नचलेको अवस्थामा समेत कर्जालाई असल कर्जामा वर्गीकरण गर्ने गरेको उनले औंल्याए। उनले आगामी दिन यस्ता कैफियत नसुधार राष्ट्र बैंकले कडा कारवाही अगाडि बढाउने पनि बताए।

ढकालले बैंकप्रति ग्राहकको गुनासो बढिरहेको बताउँदै बैंकहरुमा नियामकीय अनुपालन कमजोर देखिँदै गएको उल्लेख गरेका थिए। उनले आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन प्रक्रियामा अझै सुधार गर्नुपर्ने समेत बताए।

उनले कर्जा प्रवाह उल्लेख्य वृद्धि हुँदा पनि समग्र आर्थिक वृद्धिमा त्यसको असर कम देखिएको बताउँदै बैकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाइरहेको तर्फसमेत सचेत गराएका थिए। उनले अन्तर्राष्ट्रिय प्रतिकुलताले ल्याएका चुनौतीहरुको सामना गर्दै समग्र वित्तीय स्थायित्व कायम गर्नु चुनौती रहेको समेत बताए।

बजारमा आवश्यकताका आधारमा कर्जा प्रवाह गर्दै अनियन्त्रित कर्जा विस्तारलाई नियन्त्रण गर्नु पर्ने पनि चुनौती रहेको भन्दै ढकालले कर्जालाई अधिकतम रुपमा उत्पादनशील क्षेत्रमा प्रवाह गरी मुलुकको समग्र विकासमा योगदान दिनु पर्ने बताए।

कार्यक्रममा गभर्नर उपस्थित थिएनन्। डेपुटी गभर्नरहरुले सुपरिवेक्षणमा देखिएका कमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका थिए।