काठमाडौं महानगरको जिम्मेवारी दुई युवाको काँधमाः मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित

बिजमाण्डू
२०७९ जेठ १२ गते २२:४६ | May 26, 2022
काठमाडौं महानगरको जिम्मेवारी दुई युवाको काँधमाः मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित

काठमाडौं। स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा साहलाई विजयी घोषित गरेको हो। वडाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारको बहुमत हुँदा नगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवार साह निर्वाचित भएका हुन्। 

Tata
GBIME
Nepal Life

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले अन्तिम मत परिणाम बिहीबार राति सार्वजनिक गरेका छन्। बधाई सहितको कार्यक्रम भने निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान ८ः३० बजेका लागि तय गरेको खतिवडाले बताए। 

महानगरका मतदाताले पहिलोपटक स्वतन्त्र उम्मेदवारलाई नगर प्रमुखको जिम्मेवारी सुम्पिएका हुन्। 

यस्तै उपप्रमुखमा नेकपा (एमाले) की सुनिता डंगोल फराकिलो मतान्तरले विजयी भइन्.। 

बालेनले कूल सदर मतमध्ये ६१ हजार ७६७ प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत पाइन्। तेस्रो स्थानमा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए। 

स्वतन्त्र उम्मेदवार सुमन सायमिले १३ हजार ७१७ मत पाउँदा राप्रपाका मदनदास श्रेष्ठले पाँच हजार ७७९ मत पाए। नगर प्रमुखको प्रतिस्पर्धामा रहेका ५५ उम्मेदवारमध्ये अन्यले एक हजार मत कटाउन सकेनन्। 

यस्तै, उपप्रमुखमा डंगोलले ६८ हजार ६१२ मत पाएकी छिन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्। 

स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३ हजार ६९६ मत पाउँदा राप्रपाकी विनीता मगैयाँले १२ हजार १४१ मत पाइन्। स्वतन्त्रबाटै वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाउँदा विवेकशील साझाकी कीर्ति कंसकारले दुई हजार ५९० मत पाइन्। अन्य उम्‍मेदवारले एक हजार मत कटाउन सकेनन्। 

महानगरका तीन लाख २४२ मतदातामा एक लाख ९० हजार ९५२ मत खसेको थियो। जसमा सात हजार ६८२ मत बदर भएको छ।