तेलको मूल्यवृद्धिलाई प्रतिस्थापन गर्ने यस्ता छन् नेपालमा उपलब्ध इलेक्ट्रिक स्कुटर र बाइकहरु

शुक्र गिरी/बिजमाण्डू
२०७९ जेठ ४ गते १५:५२ | May 18, 2022

काठमाडौं। पेट्रोल लगातार महँगिदै लिटरको १७० रुपैयाँ पुग्यो। सहरी ट्राफिकमा मोटरसाइकल-स्कुटरले ५०/५५ किलोमिटरभन्दा बढी माइलेज दिँदैनन्। अब इन्धन महँगिदा खर्च बढ्यो।

Tata
GBIME
Nepal Life

 अब इलेक्ट्रिक बाइक कुदाउनुपर्ला भन्नेका लागि नेपाली बजारमा थरी थरीका मोडल उपलब्ध छन्।  एकपटक फुल चार्ज गर्दा ६० देखि २०० किलोमिटर गुड्ने क्षमताका बाइक तथा स्कुटर बजारमा आइसकेका छन्।

यी इलेक्ट्रिक स्कुटर चार्ज गर्न २ देखि ४ युनिटसम्म विद्युत् खपत हुन्छ। एक युनिटको विद्युत प्राधिकरणले १०-१२ रुपैयाँसम्म तोकेको छ। अर्थात् एकपटक फुल चार्ज गर्न २० देखि ४८ रुपैयाँसम्म लाग्छ। 

पेट्रोल इन्जिन सवारीका तुलनामा विद्युतीय सवारी १५ गुणाभन्दा बढी सस्तो पर्छ। त्यही कारण पनि इलेक्ट्रिक स्कुटर तथा बाइकमा सवारी प्रयोगकर्ताको रुचि देखिन थालेको छ। प्रयोगकर्ताको रुचि बढेसँगै विभिन्न प्रकारको ब्राण्डमा बाइक तथा स्कुटरहरु पनि नेपाल भित्रिन थालेका हुन्।

पुराना मोडलका तुलनामा बजारमा लगातार आइरहेका मोडल छरिता र सजिला पनि छन्। मूल्यमा केही महँगो देखिए पनि इलेक्ट्रिक स्कुटर र बाइक प्रयोगकर्ताका लागि खर्चमा मितव्ययी छ्न्।

हाल नेपालमा करिब साढे २ दर्जन ब्राण्डका इलेक्ट्रिक स्कुटर र बाइक उपलब्ध छन्। नेपालमा हाल उपलब्ध भएका दुई पाङ्ग्रे सवारीको मूल्य न्यूनतम १ लाख १० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्ममा उपलब्ध छन्।

प्रयोगका हिसाबमा खासै फरक छैन, तर इलेक्ट्रिक बाइक तथा स्कुटरको सञ्चालन खर्च पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा शून्य जस्तै छ। यो भन्दैमा खर्चनै नलाग्ने हुदैन। यसका पार्ट्सहरुको लागि भने खर्च लाग्छ।

प्रारम्भिक मूल्यले अलि महँगो भए पनि सञ्चालन र इन्धन खर्चमा भार कम हुने भएकाले मोटरसाइकल/स्कुटर प्रयोगकर्ता विद्युतीय सवारीतर्फ आकर्षित भएको नाडा अटोमोबाइल एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको भनाइ छ।

यस्ता छ्न् इलेक्ट्रिक स्कुटर र बाइक

टेल्जी

टेल्जी ब्राण्डको स्कुटर वा बाइक नेपालका लागि अर्को राम्रो विशेषतासहित नेपालीले रुचाएको ब्राण्ड हो। यसको निर्माण चिनियाँ कम्पनीले गरेको हो। यो ब्राण्डका स्कुटर वा बाइकले फुल चार्जमा १३० किलोमिटरको माइलेज दिने मोडलहरु नेपालमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको ब्याट्री चार्ज गर्न लगभग ५ देखि ६ घण्टा लाग्छ।

कम्पनीले ब्याट्रीमा भने २ वर्षको वारेन्टी दिएको छ। स्कुटरको मूल्य १ लाख ८५ हजारदेखि २ लाख १० हजारसम्म पर्छ। 

सेगवे नाइटवट

यो स्कुटर नेपाली बजारमा गत वर्षदेखि बिक्री सुरु गरिएको हो। सेगवे नाइनवट इलेक्ट्रिक स्कुटर नेपालमा आधिकारिक बिक्रेता कम्पनी आइ हबले बिक्री गर्दै आएको छ।

कम्पनीले ई-१०० र ई-१२५ मोडलको स्कुटर बिक्रीमा राखेको छ। यसमा रहेको ७४ भोल्ट क्षमताको ब्याट्रीले फुलचार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्छ भने यसलाई एकपटक फुलचार्ज गर्दा १२० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ।

यूएसबी चार्जर, रिमोट कि कन्ट्रोल जस्ता फिचर उपलब्ध छन्। यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम छ।

सेगवे नाइनवट ई-१२५ को मूल्य ३ लाख ९० हजार रुपैयाँ छ।

पुयर इभी

यो ब्राण्डको स्कुटर नेपालमा सन् २०२१ देखि आएको हो। यसलाई अहिले नेपाली बजारमा चलेको ब्राण्ड मानिन्छ। यो भारतमा बनेको हो। यसले धेरै थरिका इलेक्ट्रिक स्कुटरहरू बजारमा ल्याएको छ।

एक चोटी फुल चार्जमा ११६ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ। यसको मूल्य नेपाली बजारमा १ लाख ९९ हजारदेखि २ लाख ४९ हजारसम्ममा उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न ३ देखि ४ घण्टा लाग्छ।

ल्युयान एमएनके-३

ल्युयान एमएनके-३ स्कुटरमा १.५ वाट क्षमताको मोटर जडान गरिएको छ। यसमा ७२ भोल्ट ३२ एम्पियर २.१६ किलोवाटको ब्याट्री छ। यो ब्याट्री फास्ट चार्जरमार्फत एक पटक फुल चार्ज गर्न ३ घन्टामात्र लाग्ने कम्पनीको दाबी छ।

फुलचार्जमा यो स्कुटरमा भएको ब्याट्रीले ८५ किलोमिटरसम्मको दुरी पार गर्दछ। यसको मूल्य १ लाख ७४ हजार रुपैयाँ छ।

यो स्कुटरमा फ्ल्याट रन टायर, एन्टी थेफ्ट अर्लाम, चाइल्ड लक, एलइडी हेडल्याम्प, एलइडी डीआरएल, डिस्क ब्रेक, मोबाइल चार्जर पोर्ट, ब्याकरेस्ट, डिजिटल मिटर, एलइडी टेल ल्याम्प, रेन्ज तथा स्पीड इन्डिकेटर, जस्ता फिचर छन्।

कोमाकी इलेक्ट्रिक

कोमाकी इलेक्ट्रिक जापानी ब्राण्डको स्कुटर हो भने भारतमा यसको उत्पादन हुन्छ।

यसको स्कुटरमा ७२ भोल्ट ४० एम्पियरको रिमुभेवल लिथियम आयन ब्याट्री प्याक दिएको छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

कम्पनीले भेनिस र एसइ स्कुटरमा ब्लुटूथ कनेक्टेड फिचर, सीबीएस ब्रेकिङ सिस्टम, राइड मोड जस्ता फिचर दिएको छ।

युनिटी ट्रेडिङले कोमाकी भेनिसको मूल्य ३ लाख र एसईको मूल्य २ लाख ९५ हजार रुपैयाँ छ।

नीयु

यो स्कुटरको ब्राण्डले नेपाली बजारमा विगत ३ वर्षदेखि आफ्नो स्कुटरहरु नेपालमा बेच्दै आएको छ। यो स्कुटर लामो दूरीको इलेक्ट्रिक स्कुटर खोज्नेहरूका लागि यो एउटा विकल्पको रुपमा राख्न सकिन्छ।

कम्पनीले यो स्कुटरमा डबल ब्याट्रीको समेत फिचर थपेको छ। जसले अन्य विद्युतीय स्कुटरहरूको लगभग दोब्बर दूरी पार गर्न सकिन्छ। यसको चार्जिङ समय ६ देखि ७ घण्टा लाग्छ। कम्पनीले ब्याट्रीमा भने २ वर्षको वारेन्टी दिएको छ।

नेपाली बजारमा यसको मूल्य १ लाख ४५ हजारदेखि ४ लाख ४५ हजारसम्म तोकिएको छ।

इभेइ

यो स्कुटरमा लिड एसिड ६० भी ब्याट्री प्रयोग गरिएको छ। एकपटक चार्ज गरेपछि १०० किलोमिटरसम्म चल्ने यो स्कुटरको टप स्पीड ६० किलोमिटरको गतिमा दौडिन सक्छ। फुल चार्ज गर्न ६ देखि ७ घण्टा लाग्ने र यसले २ युनिट विद्युत् खपत हुन्छ।

यो कम्पनीले ब्याट्रीमा भने ५ वर्षको वारेन्टी दिएको छ। यो स्कुटरको नेपाली बजार मूल्य १ लाख १७ हजारदेखि २ लाख २४ हजारसम्म छ।

मिकु इलेक्ट्रिक बाइक

मिकु सुपरमा ३ किलोवाटको मोटर जडान गरिएको छ। यसमा ७२ भोल्ट २० एम्पियर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ।

दुई ब्याट्री अप्सनमा आउने मिकु सुपरले एक पकटको फुलचार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी कम्पनीको छ। यसमा भएको ब्याट्रीलाई फुलचार्ज गर्न ४-५ घन्टासम्म लाग्छ।

यो इलेक्ट्रिक बाइकमा फुल एलइडी लाइट्स, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, राइडिङ मोड, डबल डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छन्।

यो मोटरसाइकलको मूल्य ३ लाख ९६ हजार रुपैयाँ छ।

टेरा

यो ब्राण्डको स्कुटर वा बाइकमा लिड एसिड ६० भी-२९ ए लिथिएम आयोन ब्याट्री प्रयोग गरिएको छ। एकपटक फुल चार्ज गरेपछि ८० देखि १०० किलोमिटरसम्म गुड्छ।

यो ब्राण्डका स्कुटर वा बाइकको ब्याट्री फुल चार्ज गर्न ५ देखि ६ घण्टा लाग्दछ। यस कम्पनीको स्कुटर वा बाइकमा रहेको ब्याट्रीको वारेन्टी २ देखि ३ वर्षसम्मको छ। यो स्कुटरको नेपाली बजार मूल्य १ लाख १५ हजारदेखि ६ लाखसम्म छ।

इभेनेङ इ-बाइक

यो ब्राण्डले ल्याएको स्कुटर एकपटक फुल चार्ज गरेपछि ७० किलोमिटरसम्म गुड्न सक्छ। यो ब्राण्डको स्कुटर वा बाइकको ब्याट्री फुल चार्ज गर्न ३ देखि ४ घण्टा लाग्छ। कम्पनीले ब्याट्रीमा भने २ वर्षको वारेन्टी दिएको छ। यो ब्राण्डको स्कुटरको नेपाली बजार मूल्य १ लाख ८५ हजारदेखि ३ लाखसम्म रहेको छ।

ओरभा

यो कम्पनीले नेपाली बजारमा विगत १ वर्षदेखि आफ्नो इलेक्ट्रिक स्कुटरहरु बेच्दै आएको छ। यो ब्राण्डको स्कुटरले फुल चार्ज गरेपछि लगभग ५५ किलोमिटर दूरी तय गर्न सक्ने र ब्याट्री फुल चार्ज गर्न भने ८ देखि १० घण्टा लाग्छ। कम्पनीले ब्याट्रीमा कति वर्ष वारेन्टी भन्ने कुरा खुलाएको छैन। नेपाली बजारमा यसको मूल्य १ लाख १० हजारदेखि छ।

मियामा

मियामा ब्राण्डका इलेक्ट्रिक स्कुटर वा बाइक नेपाली बजारमा उपयुक्त मानिन्छ। यो कम्पनीले ब्याट्रीमा १ वर्षको वारेन्टी दिएको छ। ब्याट्री फुल चार्ज गर्न भने ४ देखि ५ घण्टा लाग्छ। एक चोटी फुल चार्ज भएपछि १०० किलोमिटर दुरी पार गर्न सकिन्छ। यो जापनमा बनेको स्कुटर हो। यो ब्राण्डको मूल्य नेपाली बजारमा १ लाख ४९ हजारदेखि २ लाख ९ हजारसम्म पर्छ।

डुहान

दुहान चीनमा निर्माण भएको ब्राण्ड हो। यो ब्राण्डले तीन पाङ्ग्रे र दुई पाङ्ग्रे स्कुटर नेपाली बजारमा ल्याएको छ। यसको माइलेज भनेको १४० किलोमिटरसम्म छ। यसमा रहेको ब्याट्री फुल चार्ज हुन ६ घण्टा लाग्छ।

यो ब्राण्डको मूल्य नेपाली बजारमा २ लाख ३१ हजारदेखि ३ लाख ६९ हजारसम्म रहेको छ। यो कम्पनीले ब्याट्रीमा भने डेढ वर्षको वारेन्टी दिएको छ।

ओकीनवा

यो स्कुटर नेपाली बजारमा विकी ट्रेडर्सले ल्याएको हो। यो जापनमा बनेको ब्राण्ड हो। एकचोटी फुल चार्ज गर्न ४ देखि ५ घण्टा लाग्ने यो स्कुटरको ब्याट्रीले १३५ किलोमिटर माइलेज दिन्छ। यो स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ७० हजारदेखि ३ लाख ४० हजारसम्म पर्छ।

हिरो इभी

यो स्कुटर नेपाली बजारमा २०२० देखि उपलब्ध भएको हो। यो ब्राण्डको स्कुटर भारतीय कम्पनीले विश्व बजारमा ल्याएको हो। यसको मूल्य नेपाली बजारमा १ लाख ३५ हजारदेखि सुरु हुने रहेको छ। फुल चार्जमा यसले लगभग ५० किलोमिटर माइलेज दिन्छ । यसको ब्याट्री चार्ज गर्न ७ घण्टा लाग्छ।

भीमोटो

यो ब्राण्डको स्कुटर नेपालमा गत वर्ष आएको हो। यो स्कुटरमा रहेका ब्याट्रीले फुल चार्जमा ५५ देखि १२० किलोमिटरसम्म माइलेज दिने कम्पनीले बताएको छ।

एकपटक ब्याट्री चार्ज गर्न लगभग ६ देखि ८ घण्टा लाग्छ। यो ब्राण्डको स्कुटरको मूल्य नेपाली बजारमा १ लाख १५ हजारदेखि २ लाख ६० हजारसम्म छ।

बेला

यो ब्राण्डको स्कुटरलाई बेला मोटर्सले विगत २ वर्षपहिले नेपालमा ल्याएको हो। यसले फुल चार्जमा ७५ किलोमिटरभन्दा माथि माइलेज दिन्छ। यसमा रहेको ब्याट्री चार्ज गर्न लगभग ४ देखि ५ घण्टा लाग्छ। यो स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ५५ हजारदेखि छ।

सुपर सोको इ-बाइक

यो बाइक र स्कुटर नेपालमा यही वर्षबाट उपलब्ध भएको हो। यो ब्राण्डको बाइक र स्कुटर चीनमा बनेको हो। यो बाइकमा रहेको ब्याट्री चार्ज गर्न साढे ३ घण्टा लाग्छ। ब्याट्री फुल चार्ज हुँदा यसले ७५ किलोमिटर सम्मको माइलेज दिन्छ।

कम्पनीले आफ्नो ग्राहकलाई ३ वर्षको वारेन्टी दिएको छ। यसको मूल्य नेपाली बजारमा २ लाख ३२ हजारदेखि ५ लाख ३९ हजारसम्म रहेको छ।

यस्तै कम्पनीले नेपाली बजारमा फुल चार्जमा २०० रेन्ज दिने दुई नयाँ स्पोर्टी मोटरसाइकल पनि ल्याउदै छ।

आफ्नै घरमा चार्ज गर्न सकिन्छ

विद्युतीय बाइक तथा स्कुटर घरमै पनि चार्ज गर्न सकिन्छ। विद्युतीय स्कुटर वा बाइक चार्ज गर्न आफ्नै घरमा उपलब्ध हुने एम्पियरले पुग्ने बिक्रेताहरु बताउँछन्।

स्कुटर वा बाइकमा भएको ब्याट्री भोल्टेज जम्मा ६० देखि ७० मात्र हुन्छ। त्यसका लागि घरमा भएको एम्पियरले पुग्छ। तर गाडीका लागि भने चार्जिङ स्टेसन वा घरको फेज बढाउन आवश्यक पर्ने हुन्छ।

यसलाई मोबाइल चार्ज गरे जसरी आफ्नो घरको पार्किङमा गर्न सकिन्छ।