दिनभरको उतारचढावका बाबजुद अन्तिम प्रहरमा ९ अंक उक्लियो नेप्से, कारोबार भने खुम्चियो

बिजमाण्डू
२०७९ जेठ ४ गते १५:२८ | May 18, 2022
दिनभरको उतारचढावका बाबजुद अन्तिम प्रहरमा ९ अंक उक्लियो नेप्से, कारोबार भने खुम्चियो

काठमाडौं। साताको पहिलो कारोबारमा करिब ८५ अंक गुमाएको नेप्से परिसूचकले बुधबार ८.९०अंकको पुनरागमन लिएको छ। दिनभरको उतारचढावका बाबजुद अन्तिम प्रहरमा हावी भएका खरिदकर्ताले बजारको लय परिवर्तन गर्न सफल रहे।

Tata
GBIME
Nepal Life

बुधबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २२७४.४२ को विन्दुमा उक्लिएको छ। जलविद्युत अन्तर्गतका सेयरमा लगानीकर्ताको आकर्षण विशेष छ। कारोबार र कमाउने शीर्ष स्थान जलविद्युत  कम्पनीले नै ओगटेका छन्।

बुधबार जलविद्युत उपसमूह दुई प्रतिशत अधिक बढेको छ। त्यस्तै, विकास बैंक र फाइनान्स उपसमूहका कम्पनीहरुमा पनि  क्रेताको विशेष चाप थियो। खरिदको मात्रा केहि बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार एक अर्ब ६३ करोड रुपैयाँ को सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम एक अर्ब ३१ करोड रुपैयाँमा सीमित छ। उक्त रकम बराबरको साढे ३१ लाख कित्ता सेयर कारोबारमा आए।  

बुधबारको टप कारोबारी कम्पनी अरुण भ्याली हाइड्रो हो। हाइड्रोको ५ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सो रकम बराबरको सेयर कारोबार हुँदा कम्पनीको मूल्य करिब साढे ३ प्रतिशत बढ्यो। जल्पा सामुदायिक लघुवित्तको पनि झन्डै ५ करोड रुपैयाँको सेयर खरिद बिक्रि भयो। बुधबार हिमालयन डिष्टिलरीको पनि ४ करोड अधिकको सेयर कारोबार भएको छ। करिब ४ करोड रुपैयाँको सेयर किनबेच भएको नेपाल लाइफ इन्स्योरेन्स पनि रह्यो। 

जलविद्युत उपसमूहमा विशेष आकर्षण देखिँदा राधि विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए। १:१.४७ अनुपातमा कम्पनीले हकप्रद जारी गर्दै छ। मंगलबारको तुलनामा राधिको मूल्य आज ६.०२ प्रतिशत बढ्यो।

पाँच प्रतिशत अधिक कमाउने सिनर्जी पावर, बरुण हाइड्रो, इमार्जिंङ नेपाल, नेशनल हाइड्रो, सामलिंग पावर, कालिका पावर, युनिभर्सल पावर र अरुण काबेली पावरका लगानीकर्ता पनि हुन्। 

परिसूचकमा देखिएको वृद्धिको बाबजुद सूर्योदय वोमी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। प्रुडेन्सियल इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि ४ प्रतिशत अधिकका दरले गुमाए।