स्थानीय चुनावले बढायो पेट्रोलियम पदार्थको खपत, दैनिक बिक्री बढ्दो, एनओसीको घाटा बढ्ने ?

सरला सुवेदी/बिजमाण्डू
२०७९ बैशाख २७ गते १६:१६ | May 10, 2022
स्थानीय चुनावले बढायो पेट्रोलियम पदार्थको खपत, दैनिक बिक्री बढ्दो, एनओसीको घाटा बढ्ने ?


काठमाडौं। स्थानीय तह निर्वाचनमा आगामी शुक्रबार मतदान हुँदैछ। यतिबेला चुनावी दौडाहा चलिरहेको छ। चुनावले गर्दा पेट्रोलियम पदार्थको खपत बढेको छ। चुनाव प्रचारमा सवारीसाधनको व्यापक प्रयोगसँगै इन्धन खपत बढेको हो।

Tata
GBIME
Nepal Life

७५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा अहिले विभिन्न दल र उम्मेदवारहरुका गाडी त कुदेकै छन्, चुनाव व्यवस्थापनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि सवारीसाधन प्रयोग गरेका छन्। चुनावका कारण पेट्रोल, डिजल, एलपीजी ग्यास र हवाई इन्धनको खपतमा वृद्धि भएको नेपाल आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए।

सबैभन्दा धेरै खपत पेट्रोलको भइरहेको छ। हाल देशभर पेट्रोलको खपत दैनिक ३ हजार केएलभन्दा बढी छ। निगमका अनुसार वैशाख १७ गते  ३१ केएल,  १८ गते १०१ केएल, १९ गते ४,९१० केएल, २० गते १८२ केएल, २१ गते २,२२५ केएल ,२२ गते ३,१६५ केएल, २३ गते ३,५५८ केएल पेट्रोलको बिक्री भएको छ। त्यस्तै २४ गते शनिबार ११ केएल पेट्रोल बिक्री भएकोमा २५ गते आइतबार ३,९४३ केएल पेट्रोलको बिक्री भएको निगमले जनाएको छ।

सामान्य दिनमा पेट्रोलको दैनिक खपत २ हजारदेखि २२ सय केएल हाराहारी हुने गरेको थियो। त्यस्तै, डिजेलको खपत पनि बढेको छ। गत साता ९४ केएल बिक्री भएको बढेर १० हजार ४ सय ७९ केएल भएको छ। जसमा गत १९ गतेदेखि डिजेलको बिक्री ७ हजार केएलभन्दा बढी हुन थालेको हो। सामान्य समयमा डिजेलको बिक्री ६ हजार केएल रहेको सहप्रवक्ता कार्कीले बताए।

हवाई इन्धन ५५६ केएल खपत भइरहेको छ। 'हवाई इन्धनको बिक्री गत साताभन्दा घट्न थालेको छ,' उनले भने। वैशाख १७ गते ५५६ केएल बिक्री भएको थियो। त्यसयता २५ गतेसम्म ५ सय ५ केएल हवाई इन्धन बिक्री भएको  छ।

एलपी ग्यासको खपत १० प्रतिशतले बढेको छ। अहिले एलपी ग्यासको पीडीयो इस्यु ४७ हजार टनभन्दा बढी छ। यसअघि ग्यासको खपत महिनामा करिब ४५ हजार  टनसम्म हुने गरेको थियो।

निगमका अनुसार हाल पेट्रोलको मौज्दात ६ हजार २ सय केएल, डिजेल ३५ हजार ६ सय केएल, मट्टितेल १६ सय ३६ केएल  र हवाई इन्धन ६ हजार ७ सय ६४ केएल छ। माग बढ्दा निगमको नोक्सानी भने बढ्ने देखिन्छ। मे महिनाको मूल्य अनुसार निगमलाई १० अर्ब भन्दा बढी नोक्सानी हुने प्रक्षेपण थियो।