ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्रे गरिँदै, ४० करोडमा ठेक्का सम्झौता

बिजमाण्डू
२०७८ चैत्र ३० गते ००:०० | Apr 13, 2022

काठमाडौं। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ। उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयका अनुसार कन्टेक निर्माण प्रालिसंग कालोपत्रेका लागि सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

यस सँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको आयोजनाले जानकारी दिएको छ। पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र गर्नका लागि आवश्यक कामहरु सुरु गरिएको बताइएको छ। 

आयोजनाका अनुसार कालोपत्रेका लागि आवश्यक पर्ने मेशिनरी तथा अन्य आवश्यक सामाग्रीहरु आइपुग्न केही दिनको समय लाग्नेछ। सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ। 

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको हो। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र भइसकेको छ।

सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढ्ने आयोजनाको भनाइ छ।