'अर्थतन्त्र संकटमा गएको होइन, उसिनेको खानुपर्ने भएको मात्र हो,' डेपुटी गभर्नरको अन्तर्वार्ता




नेपाल राष्ट्र बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेर गाडी, सुनलगायत करिब ३०० वस्तुको प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिएको छ। यसले जनमानसलाई आतंकित पारिरहेका बेला मंगलबार अर्थमन्त्रीले अन्य मन्त्रीहरु, योजना आयोग, गभर्नरसँग छलफल गरेर कसरी अगाडि बढ्ने भनेर सुझाव लिएका थिए। बैठकमा पेट्रोलियमको खपत कम गर्न दुई दिन बिदा दिनेदेखि जोरबिजोर प्रणाली लागू गर्नेसम्मको कुराकानी भयो। खर्च कटौतीका उपायका बारेमा पनि छलफल भयो। यसै सन्दर्भमा बिजमाण्डूले राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई सोध्यो- अहिलेको अवस्था कत्तिको सिरियस हो?



त्यस्तो सिरियस चाहिँ होइन। आतंकित हुनुपर्ने अवस्थामा हामी छैनौं। 

राष्ट्र बैंकको, सरकारको व्यस्तताले त त्यस्तो भन्दैन त?

हामी अब ठाडै संकटमा गयौं भन्ने अवस्था होइन। करिब करिब सात महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने अवस्थामा छौं। हामीसँग जम्मा सात अर्ब डलर ऋण हो। श्रीलंकासँग ३५ अर्ब डलर ऋण हो। 

हामीसँग सहुलियपूर्ण ऋण धेरै छ। श्रीलंकाजस्तो महँगो ऋण होइन। ऋणको एउटा मात्रै किस्ता तिर्न नसक्दा हामीलाई अन्तर्राष्ट्रियरूपमा गाह्रो पर्ने हो। त्यो अवस्था हाम्रो छैन। हामीले ऋणको भुक्तानी तालिका बनाएर नियमित गरिरहेका छौं। 

अनि किन जनता आतंकित हुने गरी यो/त्यो आयात बन्द गर भन्ने खालको छलफल चलाउनु परेको?

हामी एकदमै सामान्य अवस्थामा पनि होइनौं। हाम्रो अर्थतन्त्रलाई अलिकति ग्यास्ट्रिक भएको छ। त्यो भएपछि चिल्लो-पिरो कम गर्नु पर्छ। अहिले चिल्लो-पिरो कम गरौं त्यसपछि त ग्यास्ट्रिक ठिक भइहाल्छ नि। कमसेकम केही समय बार्दा राम्रो हुन्छ भने किन नबार्ने? बारेन भने अर्को समस्या देखिन सक्छ।

अहिले हामीले सन्देश दिन खोजेको के हो त?

अहिले हामीले उसिनेको खाँदा स्वास्थ्य राम्रो हुने देखियो भन्न खोजेको हो। 

उसिनेकोमा के के पर्‍यो?

उसिनेको भनेको- ती वस्तु जुन अहिले नल्याउँदा पनि अर्थतन्त्रलाई फरक पर्दैन र ठूलो मात्रामा विदेशी मुद्रा जोगिने खालका हुन्। अर्थात् गाडी पनि पर्‍यो, सुनचाँदी पनि पर्‍यो। विलासिताका सरसामान पनि पर्‍यो। 

अचानक वस्तुको आयात रोक्न भन्नु त अवस्था अलिक गम्भीर नै भन्ने बुझिन्छ नि?

ठूलो रोग लागेको होइन। पाचन प्रणालीमा समस्या भएको हो। पाचन प्रणालीमा आएको समस्या बेलैमा समाधान गरिएन भने भोलि गम्भीर खालको रोग लाग्न सक्छ। त्यसैले अहिले सावधानी अपनाउन खोजिएको मात्र हो। 

अहिलेको समस्या ग्यास्ट्रिकभन्दा माथिको हो जस्तो देखिन्छ नि तपाइँहरुको दौडधुप हेर्दा त?

विदेशी मुद्राको सञ्चितिमा चाप छ। तर हामी अझै पनि कोभिडभन्दा अगाडिको अवस्थामा छौं। यतिभन्दा भन्दै पनि यो बीचमा अर्थतन्त्र बिस्तार भएको छ। आयात बिस्तार भएको छ। यस्तो बेलामा हामीले अलिक बढी उदार भयौं भने त भएको सञ्चिति अझै घट्न सक्छ। हामीसँग अझै पनि सात महिना पुग्ने सञ्चिति छ।

अलार्मिङ अवस्थामा हामी छैनौं। विकासशील मुलुकहरुमा तीन/साढे तीन महिनाको भए पुग्छ। तर जुन तीव्रताका साथ पछिल्लो ७/८ महिनामा सञ्चिति घट्यो त्यो अवस्था अब नहोस् भनेर न हामी गम्भीर हुनु परेको हो। केही समय उसिनेको खाँदा ग्यास्ट्रिक निको हुन्छ भने किन नखाने?

अहिले कस्ता वस्तु आयात नियन्त्रण गर्न खोजेको हो हामीले?

अहिले बुँदागत रूपमा केही पनि छैन। प्रमुख कार्यकारी अधिकृतहरुसँग हामीले सरसल्लाह गरेका थियौं। त्यहाँ विदेशी मुद्रा ज्यादा खर्च हुने क्षेत्र, विलासिताका सामाग्रीहरु आयातमा अलिकति कडाइ गर्ने भन्ने कुरा भएको हो। सबै कुरा लिखितमा हुँदैन। देश भनेको नीति निर्माताको मात्र होइन सबैको हो। सबैले सचेत भएर विदेशी मुद्रा धेरैे बाहिरिने क्षेत्रको प्रतितपत्र नखोलौं, अहिलेलाई अत्यावश्यक वस्तुको आयातलाई मात्र प्राथमिकतामा राखौं भनेका हौं। हामीले विगतमा पनि लिखित निर्देशनबिनै छलफलबाट पनि समस्या समाधान गरेका थियौं। यस्ता समस्या निर्देशनले भन्दा पनि छलफल र आपसी समझदारीले समाधान हुने हो। 

आयात रोकिने सूचीमा के के पर्छन्? समाझमा त राष्ट्र बैंकले गरेको छलफललाई गम्भीर रूपमा लिइएको देखिएको छ?

मैले अघि नै भनेँ आत्तिनुपर्ने खालको गम्भीर अवस्थामा हामी छैनौं। सञ्चार माध्यम पनि यसमा सचेत हुन जरुरी छ। आत्तिने खालको सूचना दिनु हुँदैन। किनभने अवस्था त्यो हुँदै होइन। हामीलाई अहिले ग्यास्ट्रिक मात्र भएको हो, अल्सर भएको होइन। ग्यास्ट्रिक बिग्रियो भने अल्सर हुन्छ। त्यो हुन नदिन केही केही खानेकुरा हामीले बार्नु पर्ने छ, त्यो बारौं भनेको हो। 

पुसमा करिब ३०० वस्तुको प्रतितपत्र खोल्दा शत् प्रतिशतसम्म मार्जिन लाग्ने व्यवस्था गरिएको थियो। त्यसले नतिजा नदिएपछि प्रतिबन्धतिर लागेको हो? अर्थात अस्तिको भन्दा अवस्था खराब भयो भन्ने बुझिन्छ नि?

अल्‍सर भएको छैन। बिग्रिएको छैन। आत्तिनु पर्दैन। सञ्चार माध्यमले आतंक सृजना भएको भए त्यो चिरीदिनु पर्छ। 

अहिलेलाई कुन कुन वस्तुको आयात रोकियो त अब?

मुख्यत: २०  प्रमुख आयात हुने वस्तुहरु भित्र नै छ। यसबाहेक हामीले पुसमा केही वस्तुको आयातमा मार्जिन शत् प्रतिशत लगाएका थियौं। तिनै वस्तुको आयात केही समय नगरौैं र अवस्था सामान्य भएपछि फेरि गरौंला भनेको हो। 

अब यो नियन्त्रण कहिलेसम्म?

ग्यास्ट्रिक जहिलेसम्म ठिक हुँदैन तहिलेसम्म। एक महिनामा ठिक भए एक महिनापछि। तीन महिनामा ठिक भए तीन महिनापछि। 

अब सञ्चिति सुधार्न नियन्त्रणमा मात्र जाने कि अरु पनि केही छन् उपाय?

हामीसँग रेमिटेन्सको फ्लो घटेको छैन। औसत ७८ अर्ब रुपैयाँमाथि नै रेमिटेन्स भित्रिरहेको छ। फागुनको पनि राम्रो रेमिटेन्स भित्रिएको छ। औसतभन्दा ५/७ अर्ब बढी नै भित्रिएको छ। सञ्चितिमा यसले प्रभाव पार्छ। पर्यटनमा सुधार देखिएको छ। पर्यटन प्रवर्द्धन गर्नका लागि खुकुलो नीतिनियम तर्जुमा गर्नु पर्छ। भिसादेखि अन्य सुविधाहरुमा लचकता अपनाउनु पर्छ। रेमिटेन्स आयलाई बढावा दिनका लागि अन्य नीतिगत काम गर्नु पर्छ। सहुलियत सुविधा दिनु पर्छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell