भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएपछि अग्रिम बुकिङ भएको टिकट रद्द, उडान संख्या घटाउँदै

बिजमाण्डू
२०७८ माघ ९ गते १७:०२ | Jan 23, 2022
भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएपछि अग्रिम बुकिङ भएको टिकट रद्द, उडान संख्या घटाउँदै

काठमाडौं। सोमबारबाट भिजिट भिसामार्फत खाडी मुलुक जान नपाइने गृह मन्त्रालयको निर्देशनपछि अग्रिम बुकिङ गरिसकेका यात्रुको टिकट नै रद्द हुने भएको छ। टिकट रद्द हुन थालेपछि वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा आफ्नो उडान संख्या घटाउने भएका छन्।

Tata
GBIME
Nepal Life

मन्त्रालयले ओमिक्रोन संक्रमण धेरै भएको मुलुकमा भिजिट भिसामार्फत हुने हवाई यात्रा स्थगित गर्न निर्देशन दिएसँगै नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, फ्लाइ दुबाई, एयर अरेबिया लगायत वायुसेवा कम्पनीले आफ्नो उडान संख्या घटाउन लागेका हुन्।

दोहा, साउदी अरेबियाको तुलनामा दुबाईमा भिजिट भिसा लिएर यात्रा गर्नेको संख्या अत्यधिक रहेको वायुसेवा कम्पनीले जनाएका छन्। भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरु पनि बढेका छन्। उनीहरु त्यहाँ अलपत्र पर्न थालेपछि त्यसलाई रोक्न सरकारले भिजिट भिसाबाट हुने यात्रा नै बन्द गरिदिएको हो।

सोमबारदेखिको अवस्थालाई मध्यानजर गर्दै उडान संख्या घटाउने योजना रहेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। 'भोलिबाट यात्रु सहभागितालाई मध्यनजर गर्दै फ्लाइट मर्ज गर्नेछौं। मलेसिया, कतार र दुबईमध्ये दुबईमा भिजिट भिसा लिएर जाने यात्रुको संख्या धेरै छ,' प्रवक्ता खड्काले भनिन्।

एक सातायता भारतसँगै विभिन्न मुलुकको नियमित उडानमा यात्रु माग घट्दै आएको उनले जानकारी दिइन्।

सरकारले जारी गरेको निर्देशनलाई मध्यनजर गर्दै सम्बन्धित गन्तव्यको उडान व्यवस्थापन सुरु गरिसकेको हिमालय एयरलाइन्सले जनाएको छ। यो अवस्थामा व्यवसायमा प्रभाव पर्नु स्वाभाविक रहेको बताउँदै कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने,'अब यात्रुको माग घट्ने बढ्ने कुरो भनिहाल्न गाह्रो हुन्छ। अहिले भनेको भिजिट भिसा लिएकाहरुलाई ती मुलुकमा जान रोक लगाइएको हो। तर भविष्यमा वर्किङ भिसामा जाने यात्रु बढ्न पनि सक्छन्।'

नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, फ्लाइ दुबई, एयर अरेबिया लगायत वायुसेवा कम्पनीले यी गन्तव्यमा उडान गर्दै आएका छन्।