नागढुंगा सुरुङमार्गमा खटिएका ६० जना कन्सल्ट्यान्टलाई कोरोना, सुरुङको काम प्रभावित

शुक्र गिरी/बिजमाण्डू
२०७८ माघ ६ गते २०:४२ | Jan 20, 2022
नागढुंगा सुरुङमार्गमा खटिएका ६० जना कन्सल्ट्यान्टलाई कोरोना, सुरुङको काम प्रभावित

काठमाडौं। तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोनले नागढुंगा-नौबिसे सुरुङमार्गको काम समेत प्रभावित भएको छ। साइटमा अहिले काम गरिरहेका कन्ट्रयाक्टर र कन्सल्ट्यान्टहरु गरी ६० जना कोरोना संक्रमित भएको आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए। 

Tata
GBIME
Nepal Life

उनका अनुसार ८१ जनाको परीक्षण गराउँदा ६० जना संक्रमण पुष्टि भएको छ। संक्रमणदर हेर्दा कम्तीमा आधि जति कामदारमा कोरोना भएको हुन सक्ने अनुमान गरिएको छ। 

‘कन्ट्रयाक्ट ट्रेसिङमा परेको कामदारहरुको पनि कोरोना टेस्ट गरिएको र उनीहरुको रिर्पोट आएपछि मात्र सुरुङ खन्ने काम हुन्छ हुँदैन थाहा हुन्छ,’ उनले भने, ‘अहिले सुरुङमार्गमा ६ सय जना भन्दा धेरैले काम गरिरहेका छन्। मजदुर बाहेकका सबै कामदारहरु कन्ट्रयाक ट्रेसिङमा परेका छन्।’

मजदुरहरुको पनि टेस्टका लागि नमुना पठाइएको शाक्यले बताए। ‘बाँकी रहेका सबै कामदारको टेस्ट भइरहेको छ,’ उनले भने, ‘आज भोलिमा टेस्टको नतिजा आएपछि सुरुङ खन्ने कामको निर्क्यौल हुन्छ।’

सुरुङ खन्ने काम २८ प्रतिशत सकियो
नागढुंगा सुरुङमार्गको काम २८ प्रतिशत सकिएको छ। आयोजनाका अनुसार सुरुङ खन्ने काम ५ हजार ४९९ मिटरको काम गर्नुपर्ने मध्ये हालसम्म २ हजार १८१ मिटर भौतिक प्रगति भइसकेको छ।

तर आर्थिक रूपमा भने पेस्की रकमसहित ३७ प्रतिशत खर्च भएको आयोजनाले बताएको छ। जसमध्ये काठमाडौंतर्फको मुख्य सुरुङमार्गमा ३७२ मिटर र धादिङतर्फ ३६४ मिटर गरी ७३६ मिटर लम्बाइको काम सम्पन्न भएको आयोजनाले निकाल्ने प्रगति रिर्पोटमा उल्लेख गरिएको छ।

त्यस्तै निकासी सुरुङमार्गमा हेर्ने हो भने धादिङतर्फ ५३० मिटर र काठमाडौंतर्फ ७४६ मिटर गरी जम्मा १२ सय ७६ मिटर काम सकिएको छ।
काठमाडौंतर्फको क्रस प्यासेज २७ मिटर सकिएको छ। त्यस्तै धादिङतर्फकोमा १५ मिटर क्रस प्यासेजको निर्माण कार्य सकिएको आयोजनाको प्रगति रिर्पोटमा उल्लेख गरेको छ।

आयोजनाका अनुसार २ वटा अण्डरपास निर्माण हुनेमा एउटाको काम सम्पन्न भएको छ। एउटाको निर्माण कार्य भइरहेको छ। त्यस्तै, बक्स कल्र्भर्ट ४ मध्ये ३ वटाको निर्माण सकिएको छ। ओभरपासको पनि निर्माण कार्य सकिएको छ। यो सुरुङमार्गमा बन्ने ३ पुलमध्ये २ वटाको निर्माण सम्पन्न भएको पनि रिर्पोटमा उल्लेख छ।

पानी आपूर्तिको काम ७३.५ प्रतिशत सम्पन्न भएको रिर्पोटमा उल्लेख छ। अर्को तटबन्ध भर्ने काम पनि २८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ। यो सुरुङमार्गको लम्बाई २.६८ किलोमिटर दुई लेनको छ। अहिले दुई सिफ्टमा काम भइरहेको र दिनको लगभग २ मिटर सुरुङ खन्ने लक्ष्य आयोजनाले राखेको छ।

आयोजनाले बलम्बुमा  निर्माण हुने फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण गर्ने प्रक्रियामा ३१ करोड ५० लाख निकासा भएर हाल जग्गाधनीसँग लालपूर्जा लिने काम भइरहेको आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए।