पाँच वर्षभित्र हजार उद्यमीसँग जोडिने लक्ष्यमा आइडिया स्टुडियो, ६० आइडिया जो व्यवसायमा बदलिए

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ माघ ९ गते १२:३१ | Jan 23, 2022
पाँच वर्षभित्र हजार उद्यमीसँग जोडिने लक्ष्यमा आइडिया स्टुडियो, ६० आइडिया जो व्यवसायमा बदलिए

काठमाडौ‌ं। आइडिया स्टुडियोलाई सोचको प्रशोधन गर्ने स्टुडियो भन्छन् कार्यकारी अध्यक्ष डा. छिरिङ लामा। कुनै पनि सोचलाई मूर्तरुपमा यथार्थमा अर्थात् व्यवसायमा बदल्न प्रशोधन अपरिहार्य हुन्छ। त्यसका लागि आइडिया स्टुडियो माध्यम भएको लामा बताउँछन्। 

Tata
GBIME
Nepal Life

'हामी किन विश्वविद्यालय जान्छौं, पढ्न लेख्न त आउँछ नि। त्यहाँ जानु एउटा प्रक्रिया हो, डिसिप्लिन हो। उद्यमशीलता मानसिकता हो, आइडिया स्टुडियो प्रक्रिया हो, डिसिप्लिन हो,' लामाले भने। 

कुनै पनि आइडियालाई प्रोसेसिङ गर्न सहयोग गर्नैका लागि आइडिया स्टुडियो स्थापना गरिएको उनले बताए। साझेदारी रणनीति अनुसार आइडिया स्टुडियो संचालन हुँदै आएको उनको भनाइ छ। 

नीति, ज्ञान र कार्यान्वयन (प्राक्टिसनर्स) बीचको सहकार्यबाटै आइडिया स्टुडियो संचालन भइरहेको लामाले जानकारी दिए। यस्तै, ठूलो वा धेरै मात्रामा उत्पादन गर्ने नभइ धेरैजनाले उत्पादन गर्नेमा नेपाल पर्ने दाबी पनि उनले गरे। 

'विदेशमा ठूलो कम्पनीले एउटा ग्लास एउटै मेसिनले बनाउँछ होला। नेपालमा भने कच्चा पदार्थ अनेक ठाउँबाट आउँछ। एउटा सामान उत्पादन गर्न सप्लाई चेनमा झण्डै १० जना जोडिएका हुन्छन्,' लामाले भने।  

आइडिया स्टुडियोको औचित्य 

नेपालमा कस्तो प्रकारको व्यवसाय आवश्यक छ वा कस्तो व्यवसायले देशलाई समृद्ध बनाउँछ भन्नेमा ठूलो प्रश्न रहेको भन्दै लामाले यसको समाधान दिन क्रिएटिभ बिजनेसका लागि प्रवर्द्धन गर्नलाई नै आइडिया स्टुडियो आवश्यक रहेको बताए। 

'बिजनेस यस्तो होस् कि सामाजिकरूपमा नवीन होस् र ग्रीन होस्। अथवा वातावरणमैत्री र सामाजिक रुपमा जायज होस्। आज पनि केही गर्दा घर परिवार वा समाजले चित्त दुखाउँछ भन्ने लाग्छ हामीलाई। अरुतिर जस्तो नेपालमा खुला तरिकाले काम गर्न सकिँदैन,' लामाले भने। 

स्टार्टअपहरु वातावरणमैत्री बनुन् भन्नकै लागि आइडिया स्टुडियोले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) सँग पनि सहकार्य गर्दै आएको छ। नेपालको आगामी व्यवसाय भनेकै वातावरणमैत्री र सामाजिक रुपमा न्यायोचित भएको उनको जिकिर छ। नेपालको आइडिया परम्परागत मान्यतालाई सुहाउने र ग्लोबल ट्रेड बुझ्दै अघि बढ्नुपर्ने अवस्थामा रहेको उनी बताउँछन्।

'यता स्वस्थानी व्रत कथा सुन्नु पनि पर्‍या छ, उता आर्टिफिसियल इन्टेलिजेन्स पढ्नु पनि परिरहेको छ। कृष्ण मन्दिर कसरी बनायो भनेर बुझ्नु पनि पर्‍या छ, अर्कोतर्फ भूकम्प प्रतिरोधी भवन पनि बनाउनु पर्‍या छ,' उदाहरण दिँदै लामाले भने। 

यो दुवैको फ्युजन भएर जन्मिने नयाँ बिजनेस नै नेपालको सन्दर्भमा नवप्रवर्तन (इन्नोभेसन) भएको लामाले बताए। यस्तो इन्नोभेसनकै लागि आइडिया स्टुडियो उभिएको उनी बताउँछन्।

यसरी सघाउँदैछ उद्यमशीलतालाई 

आइडिया स्टुडियोले कसैको सोचलाई यथार्थमा बदल्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ। कम्पनीले स्टार्टअप आइडिया/ इन्क्युबेटर, स्केल अप/एक्सिलेटर, वित्तीय सुविधामा पहुँच, इन्क्युबेटको क्षमता वृद्धि, कलेज आइडिया हन्ट लगायतका कार्यक्रमहरु संचालन गर्दै उद्यमशीलता विकासमा योगदान गर्दै आएको छ। 

साथै, वित्तीयदेखि अन्य सुविधालाई न्योयोचित वितरण र पहुँच बढाउन आइडिया स्टुडियोले काम गरिरहेको पनि लामाले बताए। आइडिया स्टुडियोले सोच बोकेका सबैको प्रतिनिधित्व गरिरहेको उनको दाबी छ।

'स्कुल नदेखेको मान्छेदेखि पीएचडी गरेको मान्छे, १७ देखि ७० वर्ष उमेरका मान्छे, केही गर्छु भन्ने सोच भएकादेखि ५-६ करोड लगानी गरिसकेका र क्षमता विस्तार गर्ने मान्छे पनि हामीसँग हुनुहुन्छ,' लामाले भने। 

आइडिया स्टुडियोको अमेरिकाको एमआइटी विश्वविद्यालयसँग पनि उद्यमशीलता विकास गर्न सहकार्य भइरहेको छ। यस्तै, राष्ट्रिय युवा परिषद्, डब्लूडब्लूएफ, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, प्रभु बैंकलगायतका संस्थाहरुसँग समेत यसले स्थानीयस्तरमा सहकार्य गरिरहेको छ। आइडिया स्टुडियोले पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालय (एग्रो-बिजनेस इन्क्युबेसन सेन्टर) , त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गरिरहेको छ। त्यसैगरी, यसले स्टार्टअपहरुलाई कस्ट सेयरिङमा समेत सघाउने बताइएको छ। 

'तपाईं एकजनालाई एकाउन्टेन्ट राख्न त गाह्रो हुन्छ नि। तर हामी चारजना मिलेर एउटा एकाउन्टेन्ट त राख्न सक्छौं नि। यसले खर्च सेयर हुन्छ। हामी उद्यमीलाई यसरी पनि सहयोग गर्छौं,' लामाले भने। 

६० बढी स्टार्टअप जन्मिए

आइडिया स्टुडियोमा अहिलेसम्म आइपुगेका ६० भन्दा बढी सोच बिजनेसमा बदलिसकेको लामाको भनाइ छ। ६५ जिल्लाहरुमा आफ्नो पहुँच विस्तार गरिसकेको आइडिया स्टुडियोबाटै नाम चलेका कम्पनी संचालन भइरहेको उनी दाबी गर्छन्। 

सजिलो मर्मत सेवा, नेपाल मेड, टिकेट एन सप, मेट्रो तरकारी, कृषि गुरु, सिता अर्ग्यानिक, मिस्टर कर्न, रिभलुसन टिभीलगायतका आइडियाहरु कम्पनीमै परिणत भइसकेको उनले जानकारी दिए। 

यस्तै, आइडिया स्टुडियोले २३०४ आइडिया संकलन गरिसकेको छ भने १६० आइडिया इन्क्युबेट गरिसकेको जनाएको छ। 

'मेरो लागि सबै गर्व गर्न लायक आइडियाहरु हुन्। उद्यमशीलता भनेको अनुभवको यात्रा हो। ६० वटा आइडियाहरु अहिले व्यवसाय गरिरहेका छन्। एउटाले न्यूनतम ५ लाखै कारोबार गरेपनि त्यो ३ करोड हुन्छ,' लामाले भने।

त्यसैगरी, आइडिया स्टुडियोको सबैभन्दा ठूलो चुनौती अहिले आगामी ५ वर्षभित्र एक हजारजना उद्यमी निकाल्ने लक्ष्य भेटाउने रहेको लामाले बताए। 

छैटौं सिजनको आवेदन माग

आइडिया स्टुडियोले पाँचवटा सिजन सम्पन्न गरिसकेको छ। छैटौं सिजनका लागि आइडिया स्टुडियोले अहिले आवेदन माग गरिरहेको छ। 

आइडिया स्टुडियोमा सहभागी हुन वेबसाइट वा फोनबाट निवेदन दर्ता गर्न सकिने कम्पनीले जनाएको छ। 

इच्छुक निवेदकहरुले माघ १७ गतेभित्र आवेदन बुझाइसक्नुपर्ने आइडिया स्टुडियोले जनाएको छ। आइडिया स्टुडियो टेलिभिजन रियालिटी सोको रुपमा समेत अघि बढेको छ। 

आवेदन परेकामध्येबाट शीर्ष १०० वटा आइडिया र प्रस्तावलाई सर्टलिस्ट गर्ने लामाले जानकारी दिए। 

'के हो आइडिया। के गर्न खोज्नु भएको छ। त्यसरी पठाइने भिडियो हेरेर हामीले आइडियाहरु छनोट गर्छौं। हामी आइडिया पठाउने व्यक्तिको कमिटमेन्ट हेर्न चाहन्छौं,' लामाले भने। 

शीर्ष सयमा छानिने आइडियाहरुलाई आइडिया स्टुडियोले अडिसनका लागि बोलाउँछ। उनीहरुले जजहरुको सामु आफ्ना आइडियाहरु पिच गर्नेछन्।

त्यहाँबाट शीर्ष ४५ छानिनेछन्। तीमध्येबाट तीनवटा आइडिया कलेज आइडिया हन्ट जितेर आएका हुनेछन्। छनोट मापदण्डअनुसार जजहरुले आइडिया छनोट गर्नेछन्। यी आइडियाहरुलाई आइडिया स्टुडियोले इन्क्युबेसनमा समावेश गर्नेछ। कुनै आइडियाले समाजमा पार्ने प्रभावलाईसमेत मूल्यांकन गरिन्छ।

त्यहाँ छनोट भएकाहरुलाई समस्या पहिचान र समाधानसहितका विषयमा आइडिया स्टुडियोले तालिम दिने लामाले जानकारी दिए। उनका अनुसार स्टुडियोले मेड इन नेपाल, हाइ फ्लाइङ, ग्रीनोभेसनसहित यसको सामाजिक प्रभावलाई विश्लेषण गरी आइडियाहरुलाई वर्गीकृत गर्दै अघिल्लो चरणमा पठाउनेछ।

सम्भाव्य उद्यमीहरुले आफ्ना व्यवसाययोग्य विचारलाई आइडिया स्टुडियोमा पठाएर नि:शुल्क भाग लिन सक्नेछन्। यदि कोही कसैलाई कुनै विषयमा थप प्रष्टता आवश्यक परेको खण्डमा भने शुल्क लिएर सेवा दिने लामाले बताए। आइडिया स्टुडियोले आफ्नो सेवालाई बलियो र स्तरीय बनाउन स्वदेशी तथा विदेशी संस्थाहरुसँग सहकार्य गरेर अघि बढिरहेको दाबी उनको छ।