सांग्रिला बैंकको नाफामा छलाङ, खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित

बिजमाण्डू
२०७८ माघ ६ गते १०:४० | Jan 20, 2022
सांग्रिला बैंकको नाफामा छलाङ, खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित

काठमाडौं। तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंकले बढी नाफा कमाएको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको जनाएको छ। 

Tata
GBIME
Nepal Life

चालु आवको दोस्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ बढी रहेको जनाएको छ। 

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म २२ करोड २४ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३७ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यसरी अघिल्लो वर्षको तुलनामा बैंकले संचालन मुनाफामा समेत ६८.१६ प्रतिशतको छलाङ हानेको छ।

व्यवसाय वृद्धिमा बैंक व्यवस्थापनले ध्यान दिएका कारण खुद ब्याज आम्दानीतर्फ पनि आकर्षक प्रगति भएको दाबी बैंकको छ। अघिल्लो वर्षको यही अवधिसम्म ५४ करोड २१ लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी बढेर यो वर्ष ७९ करोड ५८ लाख रुपैयाँ माथि पुगेको बैंकले जनाएको छ। 

यस्तै, अघिल्लो वर्ष ६५ करोड ९५ लाख रुपैयाँमा सीमित रिजर्भको आकार बढेर समीक्षा अवधिसम्म ७२ करोड ४२ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ। चुक्ता पुँजी पनि २ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ३ अर्ब १ करोड रुपैयाँ माथि पुगेको छ।  

समीक्षा अवधिमा सांग्रिलाले ४५ अर्ब ९२ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ४१ अर्ब ७९ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको थियो। 

नाफामा भएको बढोत्तरीसँगै सांग्रिला बैंकको दोस्रो त्रैमाससम्मको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) मा पनि वृद्धि भएको छ। अघिल्लो वर्षको यही अवधिसम्म इपीएस १२ रुपैयाँ ६५ पैसा रहेकोमा बढेर समीक्षा अवधिसम्म १७.३९ रुपैयाँ पुगेको हो। 

बैंकले यो अवधिमा खराब कर्जाको अनुपात सुधारमा निकै कसरत गरेको देखिन्छ। परिणामस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म २.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित बन्न पुगेको बैंकले जनाएको छ। 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ रु. १३०.९७, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, तरलता अनुपात २०.८६ प्रतिशत, क्यापिटल एडेक्वेसी रेसियो १२.८० प्रतिशत रहेको बैंकले जनाएको छ।