खुद ब्याज आम्दानीमा उत्साहजनक वृद्धि देखिएको निफ्राको लाभांश दिन सक्ने क्षमता कति?

बिजमाण्डू
२०७८ माघ ६ गते १०:२२ | Jan 20, 2022

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको लेखा परिक्षण नभएको अपरिष्कृत वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ।

Tata
GBIME
Nepal Life

प्रतिवेदनअनुसार दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा, ब्याज आम्दानी र संचालक मुनाफामा उत्साहजनक वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निफ्राले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको निफ्राको जगेडा कोषमा २ अर्ब ८४ करोड रुपैंया संचित छ। बैंकले ६ महिनाको अवधिमा १ अर्ब ११ करोड रुपैंया निक्षेप संकलन गरेर ८ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्ममा बैंकको निक्षेप १३३.७५ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी ६५.२१ प्रतिशतले बढेको छ। पुस अन्त्यसम्ममा बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानीमा ४४.६१ प्रतिशतको वृद्धि देखिएको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२ करोड ३५ लाख रुपैयाँ छ। समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिसन पनि १२.५६ प्रतिशतले वृद्धि हुँदा संचालक मुनाफा २५.५७ प्रतिशतले उकालो लागेको छ। यस अवधिसम्ममा निफ्राको वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ  छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रुपैयाँ थियो। बैंकले आर्जन गरेको वितरणयोग्य मुनाफालाई वार्षिकीकरण गर्दा निफ्राको लाभांश क्षमता ३.४९ प्रतिशत रहेको देखिन्छ।

बैंकका आधारभूत पक्ष सन्तोषजनक देखिए तापनि प्रतिसेयर आम्दानीमा भने गत आर्थिक वर्षको तुलनामा १.४४ प्रतिशत गिरावट आएको छ। बैंकको इपीएस समीक्षा अवधिमा ४.४३ रुपैयाँ छ। निफ्राको प्रति सेयर नेटवर्थ ११४.२२ रुपैयाँ कायम रहँदा पछिल्लो कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात भने ८३.१ गुणा रहेको छ।