आर्थिक संकटमा फस्न थाले हेलिकोप्टर कम्पनी, उच्च संचालन खर्च र बैंक ब्याजले थलिए, सरकार गुहार्दै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ माघ ६ गते ०६:५१ | Jan 20, 2022
आर्थिक संकटमा फस्न थाले हेलिकोप्टर कम्पनी, उच्च संचालन खर्च र बैंक ब्याजले थलिए, सरकार गुहार्दै


काठमाडौं। कोभिड संक्रमण बढ्दै गएपछि हेलिकोप्टरको व्यापार ठप्पजस्तै भएको छ। पछिल्लो १५ दिनदेखि केही रेस्क्यु उडान वाहेक छैन। करोडौं लगानी हुने यो क्षेत्र तहसनहस भएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो दुई वर्षदेखि थला परेको यो क्षेत्र तेेस्रो लहरले उठ्नै नसक्ने अवस्थामा पुगेको व्यवसायीहरु बताउँछन्। उनीहरुका अनुसार कोभिडपछि सबै कम्पनीको ब्यालेन्ससीट नोक्सानीमा छ।

'कोभिडपछि सबै कम्पनी नोक्सानीमा छन्। एकपछि अर्को लहर आउन थालेकाले आर्थिक संकट चुलिँदै गएको छ,' एक हेलिकोप्टर संचालकले बिजमाण्डूसँग भने। अब आउने दिनमा चर्को वीमा शुल्क, कर्मचारीको तलब, सेवा सुविधा, इन्धन, संचालन खर्च, बैंकको किस्ता तिर्नै नसकिने अवस्था आउने उनीहरुको जिकिर छ।

उनीहरुका अनुसार अहिले ३० प्रतिशत मात्रै हेलिकोप्टरको व्यापार छ। सिम्रिक एयरका प्रमुख बजार अधिकृत योगेश सापकोटा हेलिकोप्टर व्यवसाय संकटमा परिसकेको र तत्कालै पुर्नउत्थानको लागि सरकारले सहयोग गर्नुपर्ने बताउँछन्।

कैलाश हेलिकोप्टरका संचालक प्रतापजंग पाण्डेले तेस्रो लहरले हेलिकोप्टरको व्यापार ठप्पनै भएको बताउँछन्। 'दुई वर्षको अवधिमा जसोतसो धानेका थियो। अब धान्न सकिने अवस्था छैन,' उनले भने, 'संचालन खर्च महँगो छ। त्यसमा पनि बढ्दो ब्याजदर र इन्धनको मूल्यका कारण व्यवसाय अघि बढाउनै नसकिने भएको छ।'

कोभिड संक्रमण कम भएका बेला हेलिकोप्टरको व्यापार केही बढेको थियो। तर त्यो पनि पर्याप्त भने थिएन। विदेशी पर्यटक नआउँदासम्म संचालनमा रहेका हेलिकोप्टर उद्योगको व्यापार बढ्दैन्। उनका अनुसार कोभिडपछि सबैजसो हेलिकोप्टर उद्योग नोक्सानीमा रहेको र अब ६ महिना यस्तै रहे धेरै कम्पनी टाट उल्टिन्छ।

यतिखेर बुकिङ गरेर यात्रुले दिएको रकम फिर्ता भइरहेको उनले बताए। उडान कम हुन थालेपछि सबैजसो कम्पनीले ५० प्रतिशत मात्रै कर्मचारीलाई काममा खटाएका छन्। दुई वर्ष यता हेलिकोप्टर उद्योगको आम्दानी नै ४० प्रतिशतले घटेको अल्टिच्युड एयरका संचालक निमा नुरु शेर्पाले बताए। 'अहिले भइरहेको आम्दानीले महँगो इन्स्योरेन्स प्रिमीयम, बैंकको किस्ता, कर्मचारी तलब, लगायत  व्यवस्थापन गर्नै गाह्रो छ। समग्रमा हेलिकोप्टर कम्पनी प्रभावित छ,' संचालक शेर्पाले भने।

दुई वर्ष यता हेलिकोप्टर उद्योगको अवस्था भेन्टिलेटरको विरामी जस्तै रहेको उनले बताए।

नेपालमा अहिले सिम्रिक, कैलाश, एयर डाइनेष्टी, मुस्ताङ, अल्टिच्युड, श्री, हेलि एभरेष्ट, मनाङ, माउन्टेन, प्रभु लगायत दुई दर्जन भन्दा बढी हेलिकोप्टरले उडान गर्दै आएका थिए। नागरिक उड्डयन प्राधिकरणमा यतिखेर अन्नपुर्ण र रोयल त्रिलोक लाइसेन्स लिने प्रक्रियामा छ।