१३ कम्पनीका १४ सामूहिक लगानी योजना निष्कासन पर्खाइमा, १५ अर्ब ३५ करोड रुपैयाँका इकाइ

बिजमाण्डू
२०७८ माघ ४ गते ११:०१ | Jan 18, 2022
१३ कम्पनीका १४ सामूहिक लगानी योजना निष्कासन पर्खाइमा, १५ अर्ब ३५ करोड रुपैयाँका इकाइ

काठमाडौं। १३ वटा सामूहिक लगानी कोष कम्पनीका योजनाहरु पाइपलाइनमा छन्। धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा उनीहरुले स्वीकृति पाउन रोकिएको हो।

Tata
GBIME
Nepal Life

कुल १५ अर्ब ३५ करोड रुपैया बराबरको १ अर्ब ५३ करोड ५० लाख इकाई निष्कासनका लागि अनुमति पर्खिएर बसेका हुन्। कुल १४ वटा म्युचुअल फण्ड योजनाहरू सार्वजनिक निष्कासन गर्ने तयारीमा रहेका छन्।

सेबोनको स्वीकृतिको प्रतीक्षामा रहेका १४ वटा म्युचुअल फण्डहरुमध्ये दुई खुलामुखी र बाँकी बन्दमुखी योजना हुन्।

कोषको आकार र समय सीमा सुरु मै निर्धारण हुने बन्दमुखी योजनाहरूमध्ये सर्वाधिक इकाई निष्कासनको तयारीमा 'एनआईसी एसिया ग्रोथ फण्ड-२' रहेको छ। योजना व्यवस्थापकले यो सामूहिक लगानी कोष अन्तर्गत २ अर्ब बराबरको २० करोड इकाई सार्वजनिक निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको छ। एनआईसी एसिया बैंक कोष प्रवर्द्धक रहेको यस म्युचुअल फण्डको योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी पाइपलाइनमा रहेको दोस्रो ठुलो कोष आकार भएको म्युचुअल फण्ड 'एनआइबिएल ग्रोथ फण्ड' छ। योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलले 'एनआइबिएल ग्रोथ फण्ड' नामक कोष अन्तर्गत १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई सर्वसाधारण माझ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ।

कोषको आकार समान १ अर्ब २० करोड रुपैयाँ रहेका ६ विभिन्न म्युचुअल फण्ड योजनाहरू पनि सार्वजनिक निष्कासन तथा बिक्रीको पर्खाइमा छन्।

'एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-II', 'सानिमा ग्रोथ फण्ड', 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३', 'सनराइज फोकस्ड इक्विटी फण्ड', 'ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-I' र 'कुमारी धनवृद्धि योजना' नामक कोषहरु अन्तर्गत सम्बन्धित व्यवस्थापकहरूले समान १२/१२ करोड इकाईको म्युचुअल फण्ड सार्वजनिक बिक्री गर्ने तयारीमा छन्।

त्यस्तै, १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईको सामूहिक लगानी कोष निष्कासन गर्न दुई योजनाका व्यवस्थापक इच्छुक देखिन्छन्। सीबीआईएल क्यापिटल योजना व्यवस्थापक रहेको 'सिटिजन सुपर ३० म्युचुअल फण्ड' र एनआईसी एसिया योजना व्यवस्थापक रहेको क्यापिटल 'एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड' योजना अन्तर्गत उल्लेखित इकाई बराबरको म्युचुअल फण्ड सार्वजनिक तवरले बिक्री गर्न सम्बन्धित योजना व्यवस्थापकहरू बोर्डको स्वीकृतको पर्खाइमा छन्।

यता, स्टक एक्सचेन्जमा सूचीकरण नहुने, धितोपत्र दलालमार्फत कारोबार नहुने र निश्चित अवधिमा परिपक्व नभई निरन्तर सञ्चालनमा रहने दुई खुलामुखी योजना कोषहरूको इकाई प्राथमिक निष्कासन गरी बिक्री गर्न दुई योजनाका व्यवस्थापकले सेबोनमा निवेदन पेश गरेका छन्।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले 'नबिल फ्लेक्सी फण्ड' नामक योजना अन्तर्गत ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई र लक्ष्मी क्यापिटल मार्केट्सले 'शुभ लक्ष्मी कोष' नामक योजना अन्तर्गत ५० करोड रुपैंयाको ५ करोड इकाई सार्वजनिक निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको हो।

घट्दो बजारमा म्युचुअल फण्ड योजनाहरूले लगानीकर्ताहरूलाई लगानीको नयाँ र सुरक्षित वित्तीय औजार उपलब्ध गराउने गर्दछन्। लगानीकर्ताहरूलाई आफ्नो लगानी विविधीकरण गर्न सामूहिक लगानी कोषले निकै सहयोग पुर्‍याउने गर्दछ। नयाँ लगानीकर्ताहरूका लागि सुरक्षित लगानीको विकल्प सामूहिक लगानी कोषलाई नै मानिन्छ। बजार विश्लेषकहरू पनि सुरक्षाको दृष्टिकोणबाट लगानीको सर्वोत्तम विकल्प सामूहिक लगानी कोषलाई नै मान्ने गर्दछन्।