९६ प्रतिशत साइटहरुमा दूरसंचार प्राधिकरणले पुर्‍यायो ब्रोडब्याण्ड इन्टरनेट, ३.८९ अर्ब भुक्तानी

बिजमाण्डू
२०७८ माघ ३ गते १०:५१ | Jan 17, 2022
९६ प्रतिशत साइटहरुमा दूरसंचार प्राधिकरणले पुर्‍यायो ब्रोडब्याण्ड इन्टरनेट, ३.८९ अर्ब भुक्तानी

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले ९६.३१ प्रतिशत साइटहरुमा मंसिरसम्म ब्रोडब्याण्ड इन्टरनेट जडान सम्पन्न भएको जनाएको छ। 

Tata
GBIME
Nepal Life

कुल ५ अर्ब ६७ करोड रुपैयाँमा सम्झौता भएको ब्रोडब्याण्ड परियोजनामध्ये प्राधिकरणले ग्रामिण दूरसञ्चार बिकास कोष परिचालन गरी सेवा प्रदायकहरुलाई तीन अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ। मंसिरसम्मको वित्तीय प्रगति ६८.६७ प्रतिशत पुगेको छ। 

प्राधिकरणका अनुसार सम्झौता भएका १८ प्याकेजको कुल साइट संख्या १५ हजार ९८२ छ। जसअन्तर्गत स्थानीय निकायको कार्यालय ७०२, वडा कार्यालय ५९३३, माध्यमिक विद्यालय ५२२५ र स्वास्थ्य संस्था ४१२२ छन्। 

कुल साइट संख्यामध्ये ६७९ स्थानीय निकायको कार्यालय, ५६६४ वडा कार्यालय, ५२२५ माध्यमिक विद्यालय र ४०२७ स्वास्थ्य संस्था गरी १५ हजार ३९३ साइटमा इन्टरनेट जडानको काम सकिएको प्राधिकरणले जनाएको छ। 

अब २३ स्थानीय निकायको कार्यालय, २६९ वडा कार्यालय, २०२ माध्यमिक विद्यालय र ९५ स्वास्थ्य संस्था गरी कुल ५८९ साइटमा मात्रै इन्टरनेट सेवा जडान गर्न बाँकी गरेको प्राधिकरणले जनाएको छ। 

ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेज मार्फत ६५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा १००० तथा एउटा प्याकेज मार्फत ५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ५०% भन्दा बढी कार्य सम्पन्न भएर सेवा संचालनमा आएको जनाएको छ।

मंसिर मसान्तसम्म बाँकी एउटा प्याकेज मार्फत चार जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ३० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भएर सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ। 

सम्पन्न भएका परियोजनाहरुमध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सकिएको छ।  एउटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरणको अनुगमन तथा प्रमाणीकरणको काम समेत सकिएको प्राधिकरणले जनाएको छ। 

दुईवटा परियोजनाहरुको हकमा पहिलो चरणको अनुगमन तथा प्रमाणीकरणको काम भएर प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ। यस्तै, एउटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम परामर्शदाताबाट सम्पन्न भएर प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ।