मंसिरमा कनेक्ट आइपीएसबाट मात्रै २.२८ खर्बको कारोबार, क्यूआर कोडबाट ६ अर्ब बढीको भुक्तानी

बिजमाण्डू
२०७८ माघ २ गते १७:०५ | Jan 16, 2022
मंसिरमा कनेक्ट आइपीएसबाट मात्रै २.२८ खर्बको कारोबार, क्यूआर कोडबाट ६ अर्ब बढीको भुक्तानी


काठमाडौं। मंसिरमा (नोभेम्बर-डिसेम्बर) विभिन्न प्रकारका विद्युतीय माध्यमबाट हुने भुक्तानी उकालो लागेको छ। 
कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडमा आधारित सबै भुक्तानीको कारोबार बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

Tata
GBIME
Nepal Life

कनेक्ट आइपीएस प्रयोग गरी मंसिरमा झण्डै ३० लाख वटा कारोबारबाट दुई खर्ब २८ अर्ब ४५ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ। कात्तिकमा २७ लाख ६० हजार वटा कारोबारबाट दुई खर्ब तीन अर्ब रुपैयाँ भुक्तानी भएको थियो। 

पछिल्लो समय क्यूआर कोड प्रयोग गरी हुने भुक्तानी पनि बढ्दै गएको देखिन्छ। कात्तिकमा १३ लाख ८७ हजार वटा कारोबारबाट पाँच अर्ब ३६ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो। जबकी मंसिरमा कारोबार संख्या नै करिब साढे १६ लाख पुगेको छ। जसबाट ६ अर्ब २८ करोड २० लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी, इन्टरनेट र मोबाइल बैंकिङबाट हुने कारोबार संख्या र रकम दुवै बढेको छ। मंसिरमा इन्टरनेट बैंकिङ प्रयोग गरी दुई लाख ५३ हजार र मोबाइल बैंकिङबाट एक करोड ३० लाखवटा भन्दा बढी कारोबार भएका छन्। 

मंसिरमा इन्टरनेट बैंकिङबाट १२ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र मोबाइल बैंकिङबाट ८८ अर्ब ५३ करोड १० लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। 

कात्तिकमा इन्टरनेट बैंकिङ प्रयोग गरी साढे दुई लाख वटा कारोबारबाट ११ अर्ब ८३ करोड २० लाख रुपैयाँ भुक्तानी भएका थिए। मोबाइल बैंकिङ एक करोड २६ लाखभन्दा बढी कारोबारबाट ७८ अर्ब १५ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको थियो। 

यस्तै, मोबाइल वालेटबाट हुने भुक्तानीको ग्राफ पनि उकालो लागेको छ। कात्तिकमा वालेट प्रयोग गरी एक करोड ३० लाख ३० हजार कारोबारबाट १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ। मंसिरमा भने बढेर एक करोड ३० लाख ८८ हजार कारोबारबाट १५ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार मंसिरमा विद्युतीय भुक्तानीका विभिन्न माध्यम प्रयोग गरी झण्डै ५० करोड वटा कारोबार भएका छन्। जसबाट प्रयोगकर्ताहरुले ४८ खर्ब ४५ अर्ब रुपैयाँ भुक्तानी गरेका छन्।