पोखरा लेकसाइडबाट पामेमा सिफ्ट हुँदै रेष्टुरेन्ट, विदेशको झल्को दिने रेष्टुरेन्टको लहर

बिजमाण्डू
२०७८ माघ १ गते ०९:२३ | Jan 15, 2022
पोखरा लेकसाइडबाट पामेमा सिफ्ट हुँदै रेष्टुरेन्ट, विदेशको झल्को दिने रेष्टुरेन्टको लहर

पोखरा। पछिल्लो दुई वर्ष कोरोना भाइरसका कारण विदेशी तथा स्वदेशी पर्यटकले गुलजार हुने पोखराको लेकसाइड सुनसान बन्यो। कोरोनाको मारमा सबैभन्दा बढी लेकसाइडका पर्यटन व्यवसायी परे।

Tata
GBIME
Nepal Life

हल्लनचोक, सेन्टर पोइन्ट, बाराहीचोकदेखि खहरेचोकसम्मका नाम चलेका र ठुला रेष्टुरेन्ट महामारीको समयमा थलिए। पर्यटकका लागि मुख्य गन्तव्य मानिएको लेकसाइड क्षेत्र महामारीको समयमा सुनसान बने पनि पामे आसपासका क्षेत्रले भने अवसर पाएको थियो।

मुख्य मानिएको गन्तव्य सुनसान बनिरहँदा पामे आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल ह्वातै बढ्न सुरु भएको थियो। महामारीको समयमा पर्यटन व्यवसायी विस्थापित नै हुनुपर्ने अवस्था सिर्जना हुँदा पामे आसपासका क्षेत्रमा भने करोडौं लगानीमा रेष्टुरेन्ट खुले।

खहरे चोकबाट केही पर छ पामे क्षेत्र र सेदी। स्थानीय (फेवातालको माछा)को स्वाद लिनका लागि पर्यटक पुगे पनि परिचित थिएन केही समय अघिसम्म पामे क्षेत्र। लेकसाइडको मुख्य कोलाहलभन्दा केही परको गन्तव्यमा कम पर्यटक पुग्थे।

पोखरा महानगरपालिकाले पञ्चासे पुग्ने सडकखण्ड कालोपत्र गर्ने योजना ल्याएसँगै बीचमा पर्ने पामेको सडक केही वर्ष अघिमात्र पक्की बनेको हो। प्याराग्लाइडिङ ल्यान्डिङको मुख्य गन्तव्य र पक्की बाटोले थोरै मात्रामा पर्यटकको चहलपहल हुन थालेको थियो। त्यहीँ पनि पामे पुग्ने स्वदेशी हुन् या विदेशी, तिनलाई स्तरीय पर्यटकका रूपमा हेरिँदैन्थ्यो।

अहिले कोरोनाले पामेको पर्यटनमा नयाँ आयाम ल्याएको छ। करोडौंको लगानीमा पामे क्षेत्रमै रेष्टुरेन्टहरु खुलेका छन्। स्वदेशी र विदेशी पर्यटकको चहलपहल पनि उतै बढी छ। कोरोना अघि खुलेको अल्फान्जो, द बिच, महामारीकै समयमा खुलेको पाम बिच र महामारीपछि खुलेको नर्थ बिच पर्यटकको रोजाइमा पर्ने रेष्टुरेन्ट हुन्।

फेवातालको दृश्य र शान्त वातावरणका कारण पनि पर्यटकले पामे क्षेत्रलाई रुचाए। तर पर्यटकको चहलपहल बढ्नुको कारण भने यो मात्रा होइन। फोटोलाई लक्षित गरि बनाइएको रेष्टुरेन्टको बनोटलाई आन्तिरक पर्यटकले रुचाएका हुन्। फोटो खिच्नकै लागि भए पनि आन्तरिक पर्यटक यी रेष्टुरेन्टहरुमा पुग्छन्। पामे क्षेत्रमा रेष्टुरेन्ट र होटलको राम्रै लगानी भए पनि कोरोनाकाल अघि पर्यटकको उपस्थिति उत्साहजनक हुने गरेको थिएन।

महामारी अगावै पाँच करोड लगानीमा सञ्चालनमा आएको अल्फान्जो रेष्टुरेन्टलाई पर्यटकले रुचाउन थाले। अल्फान्जो रेष्टुरेन्टलाई पनि सुरुवातमा पर्यटकले फोटोकै लागि रुचाए। अहिले भने उक्त रेस्टुरेन्ट आतिथि सत्कारले आफनै एक स्थान बनाउन सफल बनिसकेको छ।

पर्यटकको चहलपहल बढेसँगै अन्य व्यवसायलाई लगानी बढाउन पनि सहज भयो। त्यहीँबीच पामे क्षेत्रको खपौंदीमा साढे दुई करोड लगानीमा पाम बिच सञ्चालनमा आयो। पामे क्षेत्रमा रेष्टुरेन्टमा लगानी भएको यो ठूलै रकम थियो। अझ पाम बिच त कोरोना महामारीको समयमा सञ्चालनमा आएको हो।

चकटी रेष्टुरेन्ट भएको स्थानमा रवि तिमिल्सना र अभिषेक गुरुङले दूई करोड ६५ लाख लगानी लगाएर महामारीकै समयमा पाम बिच सञ्चालनमा ल्याएका हुन्। इन्डोनेसियाको बाली ढाँचाको पाम बिचको बनोटले पर्यटक लोभिन्छन्। रुखमा झुण्डिएको चराको गुँडमा बसेर फोटो खिच्नका लागि पहिलो लहरको महामारीकै समयमा पर्यटक पाम बिच पुग्थे।

पृष्ठभूमिमा फेवाताल राखेर गुँडमा बसि खिचिएको आन्तरिक पर्यटकको फोटोले नै हो पाम बिचले चर्चा कमाएको। सामाजिक सञ्जालमा राखिएका तस्बिर देखेरै पाम बिचमा पर्यटक झुमिन्छन्।

पाम बिच सञ्चालनमा छ। तर यो रेस्टुरेन्टलाई जस्तो बनाउन डिजाइन गरिएको थियो, त्योअनुसार निर्माण कार्य सम्पन्न भइसकेको छैन। चाहिने सामान भारत आइपुग्न ढिला हुँदा केही काम बाँकी रहेको सञ्चालक रवि तिमिल्सना बताउँछन्। बिचले अस्ति भर्खर मात्र ८० लाख लगानीमा केही बनोट थपेको छ।

सो डिजाइनमा समेत पर्यटक आर्कषित भइरहेका छन्। तिमिल्सनाका अनुसार बाली र इटालीको डिजाइनसहित अमेरिकाको फलोरिडाको बनोट रेष्टुरेन्टलाई दिइँदैछ। महामारीको समयमा लगाएको लगानीलाई पनि बढेको पर्यटकको चहलपहलले आशा दिएको छ।

महामारीकै बीचमा उत्साहजनक पर्यटकको उपस्थिति देखेर लगानी गर्नेमा अर्का छन् नर्थ बिचका सञ्चालक दिवस लामिछाने। दुई करोडभन्दा बढी लगानीमा तयार भएको रेष्टुरेन्ट मंसिर १ गतेदेखि सञ्चालनमा आएको हो।

०७७ चैतबाट सुरु भएको रेष्टुरेन्टको संरचना निर्माणकार्य यहीँ वैशाखमा लकडाउनले रोकियो। तीन/चार महिनामा सक्ने लक्ष्य राखेका लामिछानेलाई कोरोना अड्चन बन्यो। नर्थ बिच भएको स्थानमा पहिले लामिछानेकै रेष्टुरेन्ट थियो। महामारीकै समयमा उनले सो स्थानको रेष्टुरेन्टलाई नयाँ बनोट दिएका हुन्।

‘मैले अनुमान लगाइसकेको थिएँ केही समय विदेशी पर्यटक आउने सम्भावना कम छ। लकडाउनकै समयमा आन्तरिक पर्यटकको चहलपहल बढी भएको देख्न थालेँ,’ उनले भने, ‘प्रतिस्पर्धा चलिरहेको समयमा कसैलाई काउन्टर दिने खालको थिएन। मैले यसैलाई नयाँ संरचना बनाउँदा पर्यटक आउँछ भन्ने मलाई थाहा थियो।’

अन्य रेष्टुरेन्ट जस्तै नर्थ बिचको मुख्य आकर्षण हो लन्डन ब्रिज। रेष्टुरेन्टकै एककुनामा लन्डन ब्रिजको थिम दिएको स्थानमा फोटो खिच्नेको चहलपहल बाक्लै हुन्छ। लामिछाने पनि महामारीकै समयमा गरेको लगानीबाट सन्तुष्ट सुनिन्छन्।

लेकसाइडमा २५ करोड लगानीमा रेष्टुरेन्ट

यस्तै कोरोना महामारीकै समयमा लेकसाइडमा सञ्चालनमा आएको अर्को रेष्टुरेन्ट हो ओपन हाउस। सन् १९९८ देखि महेन्द्रपुलमा सञ्चालनमा आएको ओपन हाउस एक वर्ष अघिदेखि लेकसाइडमा सञ्चालनमा आएको हो।

 महामारीकै समयमा सुरु भएको रेष्टुरेन्टको निर्माणकार्य अझै सम्पन्न भइसकेको छैन। १९ करोड लगानीमा बन्दै गरेको रेष्टुरेन्ट र डिस्कोको लागत कोरोनाका कारण बढेर २५ करोडमा पुगेको छ।

 ओपन हाउस रेष्टुरेन्टकै स्थानमा बन्दै छ क्याट वाक (डिस्को)। सञ्चालक गुप्त लामाका अनुसार ओपन हाउसको निर्माणमा सात करोड सकिइसकेको छ। क्याट वाकको काम १२ करोड लगानीमा ८० प्रतिशत मात्र सम्पन्न भएको छ।

लामासहित पाँच जना लगानीकर्ताले २० करोड लगानीमा सम्पूर्ण निर्माण कार्य सकिने अनुमान गरेका थिए। तर कोरोनाले पाँच करोड लगानी बढाएको छ। दैनिक दूई सय जनासम्म मान्छे पुग्ने ओपन हाउसको आर्कषण हो रेष्टुरेन्टमा भएको तारा आकृति। जसको बीचमा बसेर फोटो खिच्न रुचाउँछन् मान्छे।

ओपन हाउसका सञ्चालक लामाले पनि रेष्टुरेन्टको बनोटले पनि पर्यटक आउन रुचाउने बताउँछन्। रेष्टुरेन्टलाई फोटो र भिडियोकै लागि डिजाइन गरेको उनको भनाइ छ। त्यसरी नै आएको स्टार आकृति पनि।

 रेष्टुरेन्टमा अर्को आकर्षण छ रिमोटमा खेल्न मिल्ने पिङ। जसलाई लामाले नेदरल्याण्ड्स् हुँदा देखेका थिए। उनले त्यहीँ पिङको योजनालाई ताल छेऊ ल्याएका हुन्। उक्त पिङ बनाउन उनले नेदरल्याण्ड्सबाटै इन्जिनियर ल्याएको बताउँछन्। उसो त रूप परिवर्तित भए पनि ओपन हाउसको आफ्नै पुरानो पहिचान छ।

‘हामो पहिलो योजना भनेको मान्छेलाई जसरी भएपनि हाम्रोमा भिजिट गराउनुपर्छ। चाहे टिकटकबाट होस् वा फेसबुकबाट भ्यू र फोटो राम्रो गराएर होस्,’ लामाले भने,‘हामी फूडको लागि पनि राम्रो छौं। पोखराभरको रेष्टुरेन्टमा २ लाख ५० हजार सेफलाई दिएर राख्ने हामी नै हौं। खानाको लागि कहिल्यै धित मर्दैन फोटो एकपटक मात्र खिचिन्छ नि।’

अहिले ओपन हाउसमा ३ सय ७४ जना बस्न मिल्ने ठाउँ छ। कामदार ६५ जना छन्। ओपन हाउसमा मान्छेको चहलपहल पनि उत्तिकै राम्रो छ। पछिल्लो केही महिना यतादेखि बढेको आन्तरिक पर्यटकको चहलपहलले महामारीको समयमा गरेको लगानीलाई केही आड दिएको लामा बताउँछन्।

‘ओपन हाउसदेखि हामी फाइदामा छौं। चित्त बुझ्दो छ। तर क्याटवाकको बैंकको ब्याजले भने हामी ब्रेक इभनमा छौं। हाम्रो फोकस ओपन हाउसलाई २० प्रतिशत मात्र हो बाँकी क्याटवाकलाई हो,’ उनले भने। 

आन्तरिक पर्यटकलाई तान्न नयाँ तथा पुरानो रेष्टुरेन्टले नयाँ थिममा संचालनमा ल्याएपनि दीर्घकालीन भने नहुने पर्यटन क्षेत्रका अध्ययनकर्ता टिकाराम सापकोटा बताउँछन्।

‘अहिले लेकसाइडका रेष्टुरेन्टमा स्वदेशीको पर्यटक धेरै जान्छन्। तर यो दिगो बन्दैन,’ उनले भने, ‘अहिले एक जनाले राम्रो रेष्टुरेन्ट बनायो। दुई चार महिना चल्छ पछि अर्को राम्रो आइसकेपछि त्यतै जान्छन्।'