लोभको ‘मात’ ले ग्रीनलाइनका अग्रवालको डुब्यो मदिराको साम्राज्य, परिवारसहित बेपत्ता

बिजमाण्डू
२०७८ पुष २८ गते १३:०२ | Jan 12, 2022
लोभको ‘मात’ ले ग्रीनलाइनका अग्रवालको डुब्यो मदिराको साम्राज्य, परिवारसहित बेपत्ता


काठमाडौं। उपत्यकाको प्राइम लोकेसन कान्तिपथ र दरबारमार्गमा विदेशी मदिरा बिक्री गर्ने रिटेल शप ‘ग्रीनलाइन’ निकै चर्चित छ। 

Tata
GBIME
Nepal Life

यो रिटेल शपबाट विदेशी कूटनीतिज्ञ, तारे होटल, रेष्टुरेन्टमा विदेशी मदिरा बिक्री हुन्थ्यो। उपत्यकाका उच्च घरानासमेत यही मदिरा किन्न पुग्थे। ग्रीनलाइनमा महँगा महँगा मदिरा बिक्रीका लागि राखिन्थ्यो।

रिटेल शप ठूला करदाताको सूचीमा थियो। मदिरा बिक्री गर्ने थोक कारोबारी फर्म ठूला करदाता सूचीमा रहनुले समेत यसको कारोबारको आकार कत्रो थियो भन्ने अनुमान गर्न सकिन्छ।

यो रिटेल शपमा अहिले एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले सूचना टाँस्दै ‘सबै स्टक आफ्नो स्वामित्वमा रहेको’ भन्दै सिलबन्दी गरेका छन्। 

ग्रीनलाइनका सञ्चालक अमित र अभिषेक अग्रवाल सम्पर्कमा छैनन्। बाबु ओमप्रकाश अग्रवालसहित सबै परिवार अहिले सम्पर्क बाहिर छन्।

दुई दाजुभाईको खोजीमा अहिले प्रहरी प्रशासनसमेत लागेको छ। जानकारहरुका अनुसार करोडौंको कारोबार गर्ने रेपुटेड कम्पनी छाडेर अग्रवाल परिवार भाग्नुका पछाडि आर्थिक संकट नै हो। बुबा ओमप्रकाशले मेहनत गरेर तयार पारेको व्यापारिक साम्राज्य दुई दाजुभाईको महत्वाकांक्षाले एकाएक ढल्यो।

ओमप्रकाश सन् १९८८ तिर हरियाणाबाट नेपाल छिरेका थिए। हरियाणामा सामान्य परिवारका उनले काठमाडौं आएर ड्युटी फ्रीको मदिरा साइकलमा राखेर विभिन्न होटलमा लगेर बिक्री गर्थे। साइकलबाट सुरु भएको मदिरा बिक्री विस्तारै औपचारिक रूपमा कम्पनीमा दर्ता भएको थियो। 

त्यो बेलामा व्यवसायी प्रकाश टिवडेवालाको सहयोगबाट कम्पनी स्थापना गरेका थिए। त्यतिबेला नै ओमप्रकाशले जनकपुरबाट नेपाली नागरिकता लिएका थिए। उनले महोत्तरीको जलेश्वरको जमिन्दारको छोरी विवाह गरेका थिए। औपचारिक कारोबारबाट ओमप्रकाशले करोडौंको कारोबार गर्ने कम्पनी खडा गरेका थिए।

मदिराको कारोबार गर्न अग्रवाल परिवारले तीनवटा कम्पनी दर्ता गरेका थिए। अलायन्स डिस्ट्रिब्युटर्स, अमिअभि (अमित र अभिषेक) ट्रेडिङ र ग्रीनलाइन सेन्टरमार्फत कारोबार हुन्थ्यो। एलायन्स डिस्ट्रिब्युटर्सले विदेशबाट मदिरा आयात गर्थ्यो। अमिअभि ट्रेडिङले होलसेल र ग्रीनलाइनले खुद्रा बिक्री कारोबार गर्दै आएको थियो। 

अग्रवाल परिवारले विभिन्न भर्टिकल बनाएर मदिराको बिक्रीमा एकछत्र राज गर्दै आएको थियो। यो कारोबारबाट राम्रै आर्थिक हैसियत समेत बनेको थियो। उनीहरुले मदिराबाट कारोबार ज्ञानेश्वरमा १६ आना जग्गा, काठमाडौंका तीन स्थानमा प्रिमियम अपार्टमेन्ट किनेका थिए। 
कारोबार राम्रो हुँदै गएपछि ओमप्रकाशका दुई छोरा अमित र अभिषेकले नेपालमै वाइन र ह्विस्की उत्पादन गर्ने उद्योग खोल्ने योजना बनाए। मदिरा कारोबारमा नेटवर्किङ भएकाले स्वदेशी मदिरा उद्योग स्थापना गर्दा राम्रो मुनाफा हुने देखेका थिए। 

मदिराको कारोबारबाट आएको मुनाफासँगै दुई दाजुभाईको महत्वाकांक्षा समेत बढ्दै गएको थियो। उनीहरुको कारोबार लाख, करोड हुँदै अर्बतिर लम्किरहेको थियो। त्योसँगै अमित र अभिषेकको महत्वाकांक्षाको पारो पनि उकालो लाग्दै थियो।

त्यही बेलामा महेश बस्नेत उद्योगमन्त्रीमा आए। बस्नेतको अध्यक्षतामा २०७२ असोज १ गते बसेको औद्योगिक प्रवर्द्धन बोर्डको २१६औं बैठकले मदिरा उद्योगको इजाजत खुला गर्ने निर्णय गर्‍यो । यो निर्णयसँगै अमित र अभिषेकले मदिराको लाइसेन्स लिने प्रक्रिया अगाडि बढाए। 

मदिरा कम्पनीको इजाजत लिने क्रममा किशोर भट्टराई, प्रमोद अधिकारी र रुक्मिणी श्रेष्ठ पनि थपिए। चार जनाको संयुक्त लगानीमा स्थापित सागर डिस्टिलरी र एलायन्स वाइन इन्ड्रस्ट्रिजले बस्नेतकै पालामा इजाजत पनि पाए। उनीहरुले उद्योग स्थापनाका लागि नवलपरासीमा ६ बिघा जग्गा किनेर प्रक्रिया अगाडि बढाए।

बस्नेतका पालामा मदिरा उद्योगको लाइसेन्स बाँडिदा संसदीय समितिदेखि धेरै शक्तिकेन्द्र सल्बलाएका थिए। ती सबै निकाय मिलाउन समेत अग्रवाल दाजुभाइले राम्रै पैसा खर्चिए। तर समयमा यो उद्योग सञ्चालनमा आउन सकेन। 

समयमा उद्योग सञ्चालनमा आउन नसकेपछि उनीहरुले यहाँ लगाएको पैसा समेत ‘डम्प’ भयो। उद्योगमा लगाएको पैसा डम्प हुने र बैंकबाट थप ऋण लिन नसक्ने अवस्था भएपछि अग्रवाल दाजुभाईको भेट नाम चलेको एउटा सपिङ सेन्टरका मालिकसँग भयो। ती मालिक मिटर ब्याजबाट राम्रो आम्दानी गर्दै आएका थिए। त्यही भेटसँगै दुई दाजुभाईले मिटर ब्याजमा पाँच करोड रुपैयाँ ऋण लिए। 

पाँच करोड रुपैयाँ केही वर्षमै १८ करोड पुग्यो। मिटर ब्याजमा १८ करोड रुपैयाँ पुगेको थाहा पाएपछि सागर डिस्टिलरी र एलाइन्स वाइनका साझेदारले खाता ब्लक गरेर आफ्नो सेयर बिक्री गर्न अग्रवाल दाजुभाईलाई दबाब दिएका थिए। 

यो दबाबसँगै उनीहरुले थप ऋण मिटर ब्याजबाटै लिएर चलाएको स्रोतले बतायो। ती उद्योगका साझेदारको सेयर पनि अग्रवाल दाजुभाईले किने। उनीहरुले मिटर ब्याजकै रकम मात्रै ५० करोड रुपैयाँभन्दा माथि पुगेको छ। ब्याजको स्याज मात्र बढेन मिटर ब्याजीबाट ज्यान मार्ने, परिवारका सदस्य अपहरण गर्नेसम्मको धम्की आउन थाल्यो। बिना धितो तीन/चार वटा सहकारीबाट पनि उनीहरुले ऋण चलाएका थिए। 

मिटर ब्याजले थिचिँदै गएका उनीहरुले उद्योग चलाउन सकेनन्। र, नौ महिनाअघि उनीहरुले श्यामसुन्दर खेतानलगायतको समूहलाई ५१ करोड रुपैयाँमा मदिरा कम्पनी बेचिसकेका छन्। उनीहरुले त्यो कम्पनीका लागि हिमालयन बैंकसँग ऋण लिएका थिए। कम्पनी बेचेपछि त्यहाँको ऋण भने चुक्ता भइसकेको छ।

एकातिर पैसा तिर्न नसक्ने अवस्था र अर्कोतिर ज्यान जानसक्ने जोखिम। यही दबाबमा सबैथोक छाडेर अग्रवाल परिवार भागेको उनीहरुलाई नजिकबाट चिन्नेको दाबी छ।

अग्रवाल परिवार आर्थिक संकटमा पर्नुमा कोभिड पनि कारण छ। दुई वर्षअघि कोभिड सुरु भएपछि सरकारले लकडाउन गर्‍यो। लकडाउनका बेलामा मदिराको कारोबार सहज रूपमा गर्न सम्भव भएन। उनको कम्पनीले आयात गरेको मदिरा ‘डेट एक्सपायर’ भयो। 

अग्रवाल नजिकका एक व्यवसायीका अनुसार, कोभिडका कारण झण्डै २५ करोड रुपैयाँ बराबरको मदिरा (विदेशी बियर र वाइन) ‘डेट एक्सपायर’ भएर नोक्सानी ब्योहोर्नु पर्‍यो । कोभिडकै कारण होटल र रेष्टुरेन्ट पनि बन्द भए। होटल र रेष्टुरेन्टमा मदिराको कारोबार ठप्पजस्तै भयो भने त्यहाँ उधारोमा दिएको पैसा पनि उठ्न छाड्यो। क्यासिनो, तारे होटल, रेष्टुरेन्ट र राम्रा पार्टी प्यालेसमा झण्डै २० करोड रुपैयाँ उधारो बाँकी रह्यो। 

एकातर्फ २५ करोड रुपैयाँको सामान ‘डेट एक्सपायर’ भएर फाल्नुपर्ने र अर्कोतिर उधारो नउठ्ने समस्याले उनीहरु थप समस्यामा परे। मिटर ब्याज, उधारो, डेट एक्सपायर सामानका कारण तरलता व्यवस्थापनमा उनीहरु असफल भए। उनले झण्डै १० करोड रुपैयाँ बराबर विदेशी मदिरा आयात गर्ने इम्पोर्टर, स्वदेशी मदिरा उद्योगलाई तिर्न बाँकी छ। 

स्रोतहरुका अनुसार, अग्रवाल दाजुभाइ वित्तीय रुपमा अप्ठ्यारोमा परेपछि ठगीधन्दामा पनि सामेल हुन थालिसकेका थिए। उनीहरुले आफ्नो विभिन्न ठाउँमा रहेको घरजग्गा (जुन बैंकमा धितोमा थियो) देखाउँदै बैना असुल्न थालेका थिए।

उनीहरुले ग्राहकलाई लोभ्याउन आनाकै करोड पर्ने जग्गाहरु ५० लाखमै दिने भनेर बैना उठाएका थिए। यसरी बैना गर्नेहरु अहिले बैंकको सम्पर्कमा आउन थालेका छन्।

‘सबैतिरबाट अप्ठेरो पर्न थालेपछि उनीहरुले ठगीधन्दा सुरु गरेको देखिन्छ,’ बैंक स्रोतले भन्यो, ‘बीचमा मिलाउन खोजेका पनि थिए,  तर बैंकमा ऋण, बाहिर भित्र सबैतिर ऋण, अर्कोतिर ज्यान जाने अवस्था अनि उ भाग्यो।‘

बैंकरका अनुसार, अहिलेको बिजनेस र बैंककै ऋणका कारण मात्र भाग्नुपर्ने अवस्था थिएन।

एक महिनाअघि अमितले आफ्ना नजिकका आफन्तलाई भनेका थिए- 'मैले मेरो गल्तीका कारण व्यवसाय डुबाएँ। म राम्रो कर तिर्ने व्यक्ति भएपनि कोभिडसँगै बजारबाट सामान उठ्न सकेन र मैले व्यवस्थापन गर्न सकिन। तर सहज अवस्था भए भोलिका दिनमा आएर सेटलमेन्ट गर्न सक्छु।'

भाग्नु अगाडि ‘स्टकमा ताला’
बैंकहरुले हाइपोथेटिकल ऋण दिँदा सम्बन्धि व्यापारको स्टक अर्थात अग्रवालसँग भएको मदिरा आफ्नो कब्जामा राख्छन्। त्यसो हुँदा उसको व्यापारको सबै तालाचाबी एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकसँग थियो।

जुन सामान स्टक गरिएको ठाउँ थियो, त्यहाँ अचानक एक साता अगाडि भिडभाड भएको थियो। त्यहाँ अग्रवालका अन्य पारिवारिक सदस्यहरु आएर ‘रुवाबासी’ गरिरहेका थिए। त्यसपछि सामान रुङ्न बसेको बैंकको गार्डले आफ्नो हेड अफिसमा जानकारी गराए।

हेड अफिसबाट कर्मचारी पुगेर बुझ्दा अग्रवाल दाजुभाइ भागेको पत्ता लाग्यो। लगत्तै दुवै बैंकले त्यहाँबाट सामान निकाल्न नदिन ‘सिल’ गरे। अहिले गोदामभित्र कति सामान छ र पसलमा कति छ भन्ने यकिन भइसकेको छैन। मंगलबार ग्लोबल आइएमइ, मेगा र एभरेष्ट बैंकले मुचुल्का उठाएका छन्। इन्भेष्टमेन्ट बैंकले उठाउँदैछ।

‘उनीहरु भागेको थाहापाउने बित्तिकै हामीले शिल्ड गरिसकेकाले स्टक राम्रै देखिन्छ,’ बैंक स्रोतले भन्यो, ‘त्यसबाट केही पैसा उठाउन सकिन्छ। कतिपयमा अन्य सम्पत्ति पनि धितो छ।’ 

बैंकहरुले अग्रवाल दाजुभाइका फरक फरक कम्पनीमा ऋण लगानी गरेका छन्। स्रोतका अनुसार, एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी भएको छ।

यी बैंकले दिएको सबै ऋण हाइपोथेटिकल होइन। विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति  पारिपासोमा राखेर ऋण दिइएको छ। मेगा बैंकको स्टक र धितो दुवै राखेर ऋण दिएको छ। एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ। इन्भेष्टमेन्ट बैंकको पनि धितो र स्टकमा ऋण छ।

बैंकहरुले अब सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया सुरु गर्ने जनाएका छन्। ‘भएको धितो लिलामी गर्ने। अबको त्रैमास रिकभरीमा जाने छौं,’ एक बैंकरले भने।