सेती नदी हाइड्रोपावरको साधारणसभामा पूर्व अर्थमन्त्री युवराज खतिवडा, आइपीओ निकाल्ने निर्णय

बिजमाण्डू
२०७८ पुष २८ गते १२:१७ | Jan 12, 2022
सेती नदी हाइड्रोपावरको साधारणसभामा पूर्व अर्थमन्त्री युवराज खतिवडा, आइपीओ निकाल्ने निर्णय


काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाले आइपीओ निकाल्ने भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपीओ जारी गर्ने निर्णय गरेको हो। 

Tata
GBIME
Nepal Life

सभाबाट पारित उक्त प्रस्तावलाई अब जति सक्दो चाँडो कार्यान्वयनका लागि थप प्रक्रिया अगाडि बढाइने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए।

जुम माध्यमबाट सेमी-भर्चुअल रूपमा गरिएको साधारणसभामा प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गर्दै भिजन लुम्बिनीले गरेको नौलो अभ्यासको प्रशंसा गरे।

उनले सानो सानो पुँजी एकीकृत गरेर ठुला ठुला जलविद्युतको परियोजना चलाउनु उदाहरणीय भएको उल्लेख गरे। कार्यक्रममा कम्पनीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै लक्ष्मण गैरे र उत्कृष्ट कर्मचारी दीपक केसी (कुशल) लाई सम्मान गरिएको थियो। भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ।

माछापुच्छ्रे भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ। पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका दुई वटा टर्बाइनमा जोडिनेछ।

विसं २०७९ साउन अगावै विद्युत उत्पादन हुने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए। उत्पादित विद्युत चार किमि दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ।

पाँच अर्ब रुपैयाँ लगानी रहेको आयोजनामा ३ अर्ब ५० करोड विभिन्न बैँक तथा वित्तीय संस्थाले लगानी गर्न सम्झौता भइसकेको आयोजना प्रबन्धक इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए।

बाँकी रकम प्रवर्द्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन्। उनका अनुसार स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन्।
जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरिद गरिसकिएको र सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रबन्धक बमबहादुर गुरुङले जानकारी दिए।

आयोजनाले उत्पादन गरेको विद्युत वर्षा यामको ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता छ।