संचालनमा आएको ६ महिनामै सिजी नेटको गुणस्तर माथि प्रश्न, दूरसंचार प्राधिकरणमा उजुरीको चाङ

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ मंसिर २३ गते १६:३७ | Dec 9, 2021
संचालनमा आएको ६ महिनामै सिजी नेटको गुणस्तर माथि प्रश्न, दूरसंचार प्राधिकरणमा उजुरीको चाङ

काठमाडौं। चौधरी समूहको सिजी नेटले ६ महिना अघि काठमाडौं उपत्यकामा आक्रामक रुपमा इन्टरनेट सेवा विस्तार गर्‍यो। संचालनमा रहेका अरु इन्टरनेट सेवा प्रदायकबाट वाक्क भएका ग्राहकले सस्तो र गुणस्तरीय भन्दै सिजीको इन्टरनेट जडान गरे।

Tata
GBIME
Nepal Life

६ महिनाको अवधिमा ८ हजार भन्दा बढी ग्राहक बने। नेपालकै ठूलो व्यवसायिक घरानाले ल्याएकै कारण सिजी इन्टरनेट ग्राहक आकर्षित हुने अर्को बलियो कारण थियो। यी सबै कारणले आकर्षित भएका ग्राहक अहिले भने बिलखबन्दमा परेका छन्।

सिजी नेटको पनि अरु आईएसपीजस्तै गुणस्तरमा समस्या देखिएको छ। कम्पनीले प्रतिवद्धता गरे अनुसार सेवा नदिएको भन्दै ग्राहकले नेपाल दूरसंचार प्राधिकरणमा समेत उजुरी गरिसकेका छन्। सुरुमा थोरै ग्राहक हुँदा इन्टरनेट सेवा राम्रो भएपनि क्रमिक रुपमा ग्राहक बढ्दै जाँदा सिजीले त्यसको व्यवस्थापन गर्न नसकेको देखिन्छ। 

प्राधिकरण स्रोतका अनुसार सिजी नेटको गुणस्तरलाई लिएर उजुरी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गएको जनाएको छ। प्राधिकरणमा ग्राहकले गरेको उजुरीमा सिजी नेटले गुणस्तरीय इन्टरनेट नदिएको, टोल फ्री नम्बरमा सम्पर्क गर्न खोज्दा नउठेको र धेरै समय ‘कल बिजी’ भएको लगायतका शिकायतहरु रहेका छन्। 

‘जेठदेखि संचालनमा आएकाले सुरुमा उजुरी कम भएपनि ग्राहक बढ्दै जाँदा उजुरी बढ्दै गएको छ। इन्टरनेट स्लो भयो भन्ने गुनासो बढी मात्रामा हाम्रो कम्प्लेन्ट ह्यान्डलिङ प्रणालीमा दर्ता भएका छन्। जसको उचित व्यवस्थापन कम्पनीले नगरेको भन्ने गुनासो छ। हामीले ती उजुरीलाई तत्काल समाधान गर्न भनिसकेका छौं,’ स्रोतले भन्यो।

सेवा ल्याउने क्रममा गुणस्तरीय एवम् भरपर्दो इन्टरनेट सेवा दिने दाबी गरेपनि स्मार्ट आफ्टर सेल्स सेवा नपाएपछि ग्राहकहरुले सेवा प्रदायकसँगै नियामकसँग उजुरी गरिरहेका छन्। 

फाइबर इन्टरनेटमा ठूलो हिस्सा रहेका वर्ल्डलिंक, सुबिसु, भायनेट, नेपाल टेलिकम, क्लासिक टेकलगायतका आइएसपीहरुको विकल्पका रुपमा सिजी नेटलाई हेरिएको थियो। पुराना आइएसपीहरुको सेवाले आजित बनेका ग्राहकहरुले नयाँबाट पनि उही समस्या भोगेपछि समस्यामा परेका छन्। 

ग्राहकहरुले कम्पनीको आफ्टर सेल्फ सर्भिस प्रति गुनासो पोखिरहेको सिजी नेटले पनि स्वीकार गरेको छ। 

सेवा सुरुआतको दिनमा प्रतिस्पर्धी इन्टरनेट व्यापारमा भित्रिँदा हरेक दिन डेढ सयदेखि दुई सय नयाँ ग्राहक थपिने वा डिमान्ड आउने अपेक्षा आफूहरुले नगरेको कम्पनीका प्राविधिक तर्फका सहायक महाप्रवन्धक रन्नू शर्माले जानकारी दिए। ग्राहकहरुको माग धान्ने संरचना वा पूर्वानुमान पहिल्यै यकिन गर्न नसकेपछि कम्पनीको सेवामा ग्राहकहरुले प्रश्न उठाएको देखिन्छ।

‘बढ्दो मागलाई पूर्ति गर्न जति जनशक्ति हामीलाई चाहिन्छ ग्राउन्ड लेभलमा त्यो भएन। यो जनशक्तिको बजारमा चरम अभाव छ। हामीले नयाँ ग्राहकहरुको माग व्यवस्थापन गर्न उक्त सेवा आउटसोर्स गर्ने प्रक्रिया अघि बढाइसकेका छौं,’ शर्माले भने। 

सेवा प्रति गुनासो वा समस्या आए अहिले पनि सम्बोधन गर्ने प्रयास गरिरहेको दाबी शर्माले गरे। त्यसैगरी, कम्पनीले ग्राहकहरुको गुनासोमा राम्रो सम्बोधन गरेन भन्ने आरोप बारे शर्माले नेपाल टेलिकमले समयमै सिप (कस्टमर सेवाका लागि प्रयोग हुने डेडिकेटेड नम्बर) उपलब्ध नगराएको बताए। जसका कारण कम्पनीले सहज रुपमा गुनासो टिप्न नसकेको बताए। अहिले सिजी नेटले स्मार्ट टेलिकमको नम्बर प्रयोग गरी गुनासो टिप्दै आएको छ। कम्पनीले अर्को हप्ता टेलिकमबाट उक्त सेवा पाउने बताइएको छ। 

सिजी नेटले भारतीय कम्पनी एयरटेलबाट ब्यान्डविथ खरिद गरिरहेको छ। क्रसबोर्डरमा आफ्नो नेटवर्क नबनेकाले सिजीले प्रतिद्वन्दी भायनेटको संरचना उपयोग गरिरहेको छ। प्रतिस्पर्धी कम्पनीको संरचनामा भरपर्नु पर्ने बाध्यता सिजी नेटलाई छ। ‘कहिलेकाहीँ एउटा लिंक डाउन हुँदा अर्को लिंकमा जाँदा केही समस्या देखिन्छन्। जसलाई ग्राहकहरुले प्रत्यक्ष भोग्नुपर्ने हुन्छ। सिस्टम स्टेबलाइज हुन समय लाग्छ। तर, विस्तारै यी समस्याहरु समाधान गर्दै लगेका छौं,’ शर्माले भने।

सिजीले नेट सुरु गर्दा १० जना आफ्टर सेल्स सेवामा राखेको थियो। अहिले सिजीले कल सेन्टरमा ३० जना, इन्जिनियर थप्नेदेखि फिल्डमा जाने ३७ वटा टोली रहेको शर्माले जानकारी दिए। उनका अनुसार सिजी नेटले आफ्नो ग्राहक आठ हजार भन्दा बढी पुगेको जनाएको छ।आफुहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा दिन प्रयास गरिरहेको दाबी गरेको छ।

यस्तै, सिजी नेटले अज्ञात समूहरुले काठमाडौंका विभिन्न क्षेत्रहरुमा आफुहरुले लाइन काट्ने गरेको आरोप लगाएको छ। सस्तोमा सेवा दिइरहेको मन नपराउने केही सेवा प्रदायकहरुले लाइन काटेर समस्या दिइरहेको आक्षेप लगाएको छ। साथै, आफूहरुले पोलभाडा सम्झौता र रकम विद्युत प्राधिकरणलाई बुझाए पनि लाइन काटिरहेको जनाएको छ।