ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने, कागजात तत्कालै फिर्ता

बिजमाण्डू
२०७८ मंसिर २३ गते ११:३१ | Dec 9, 2021
ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने, कागजात तत्कालै फिर्ता


काठमाडौं। ट्राफिक प्रहरीले नियम उल्लंघन गरी कारवाहीमा परेका सवारी चालकहरुलाई ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने सुविधा सुरु गरेको छ। सवारी चालकहरुले जरिवाना रकम कारवाहीमा परेलगत्तै स्थलबाटै तिरेर आफ्नो कागजात फिर्ता लिन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

Tata
GBIME
Nepal Life

अहिले काठमाडौं उपत्यकाबाट ट्राफिक कारवाहीमा परेर नियन्त्रणमा लिइएका कागजात निश्चित ट्राफिक कार्यालयमा लग्ने गरिएको छ।

सवारीधनीले अनलाइन भुक्तानी वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखामा जरिवाना भुक्तानी गरी त्यसको प्रमाण लिएर सम्बन्धित कार्यालयमा गएपछि कागजात फिर्ता पाउने गरेका छन्। 

साथै, ट्राफिक प्रहरी महाशाखाले डकुमेन्ट ट्र्याकिङ प्रणालीमार्फत् एसएमएस पठाएर कारवाहीमा नियन्त्रणमा लिइएको कागजात कुन कार्यालयमा छ भनेर बुझ्न सकिने व्यवस्था गरेको थियो। 

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँचवटा ट्राफिक कार्यालयबाट शुरु गरिएको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ।