भाटभटेनी सुपरमार्केट हेटौंडामा पनि खुल्यो, देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा बिस्तार गर्ने

बिजमाण्डू
२०७८ मंसिर २३ गते १०:५४ | Dec 9, 2021

हेटौंडा। देशकै ठूलो तथा वृहत् चेन सुपरमार्केट भाटभटेनीले हेटौंडामा स्टोर सञ्चालन गरेको छ । भाटभटेनीले मंगलबारदेखि स्टोर सञ्चालनमा ल्याएको हो । भाटभटेनीले हेटौंडा–२, चौकीटोलमा २० औं स्टोरका रुपमा सेवा शुरु गरेको हो । स्टोरको भाटभटेनी सुपरमार्केट अध्यक्ष मीनबहादुर गुरुङले स्टोरको  शुभारम्भ गरे।

Tata
GBIME
Nepal Life

सुपरमार्केट अध्यक्ष तथा प्रवन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर बिस्तार गर्ने अभियानमा हेटौंडामा पनि स्टोर सुरु भएको बताए।  स्वदेशमै अन्तर्राष्ट्रियस्तरको सपिङ सुबिधा अनुभव गराउनुका साथै धेरै युवालाई रोजगार प्रदान गर्ने र आयबाट सामाजिक सेवा पनि गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धन गर्दै अगाडि बढेको उनको भनाई छ।

उनले भने– 'यहाँ स्थापना भएको स्टोरले हेटौंडामा सुपरमार्केटको सेवासँगै आर्थिक चलायमान हुनुका साथै पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ । व्यवसायसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने, रोजगारी प्रदान गर्ने र आयबाट समाजसेवा गर्ने हाम्रो अभियान हो ।'

भाटभटेनीमा १ लाख ५० हजार प्रकारका बस्तु पाइने गुरुङले जानकारी दिए । प्रवन्ध निर्देशक गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत सडक सजावट र चौकीटोल क्षेत्रलाई थप विकसित बनाउन रकम खर्चिएको बताए । ‘व्यवसाय सञ्चालनपछि नाफाआर्जनमात्र गर्नुपर्छ भन्ने होइन,’ उनले भने– भाटभटेनी खुलेको क्षेत्रको विकासमा लगानी गर्नु हाम्रो कर्तव्य हो ।' 

स्टोरले शुभारम्भको अवसरमा ग्रोसरी, लत्ताकपडा लगायत सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशत छुट उपलब्ध गराएको सुपरमार्केटका बजार व्यवस्थापक बिनोद भट्टराईले बताए । करिब १० महिनामा निर्माण सम्पन्न भएको भाटभाटेनीमा करिब २ सय २५ जनाले रोजगारी पाउनेछन् ।

करिब साढे १४ कठ्ठामा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुवै बेसमेण्टमा पार्किङको व्यवस्था छ ।

कोभिड महामारीका समयमा भाटभटेनी सुपरमार्केटले सातै प्रदेशलाई २५–२५ लाख सहयोग गरेको थियो । काठमाडौंस्थित टिचिङ अस्पतालका लागि करोडौं खर्चेर २ वटा बिल्डिङ बनाएको भाटभटेनीले बिभिन्न सामाजिक कार्य गर्नुका साथै समाजकल्याणमा करोडौं लगानी गर्दै आएको छ । स्टोरले आफ्नो क्षेत्रमा सडक चौडा र व्यवस्थित नालाका साथै आकर्षक बनाउन स्थानीय तहको समन्वयमा आफ्नै करिब ८० लाख खर्चेको व्यवस्थापक भट्टराईले बताए ।

भक्तपुरमा १, ललितपुरमा २, काठमाडौंमा ९, सुनसरीको धरानमा १, मोरङको विराटनगरमा १, चितवनमा १, पोखरामा १, रुपन्देहीको बुटवल र भैरहवामा गरी २, बाँकेको नेपालगञ्जमा १ र सुनसरीको इटहरीमा १ र हेटौंडामा गरी हालसम्म भाटभटेनीका २० स्टोर सञ्चालनमा आइसकेको उनले जनाए । यसलगत्तै काठमाडौंमा थप २ वटा र धनगढीमा स्टोर सञ्चालन शुरु गर्ने भाटभटेनीको तयारी छ ।