ग्लोबल आइएमइ बैंकले सीइओलाई भुक्तानी गर्यो एक करोड ३९ लाख तलब, साढे १३ प्रतिशत लाभांश

बिजमाण्डू
२०७८ मंसिर २२ गते १२:०६ | Dec 8, 2021

काठमाडौं। ग्लोबल आइएमइ बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत बर्ष कुल एक करोड ३९ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। गत बर्ष बैंकले कामु प्रमुख कार्यकारीका रुपमा महेश शर्मा ढकाल र प्रमुख कार्यकारीका रुपमा रहेका रत्नराज बज्राचार्यलाई भुक्तानी गरेको रकम हो।

Tata
GBIME
Nepal Life

बैंकले मंसिर २७ गते साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, ढकाल साउन १ देखि साउन ३२ गतेसम्म कामु प्रमुख कार्यकारीको भूमिकामा थिए। बज्राचार्य भदौ १ देखि प्रमुख करायकारी अधिकृत छन्। त्यसैले यसको ठूलो हिस्सा अर्थात ११ महिनाको सुविधा बज्राचार्यले बुझेका हुन्।

बैंकले प्रमुख कार्यकारीलाई ७३ लाख ३२ हजार रुपैयाँ तलब दिएको छ। ४८ लाख ६० हजार रुपैयाँ भत्ता दिएको छ। सञ्चय कोष सुविधा बापत ७ लाख ३३ हजार र दसैं भत्ता १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ। यसमा नाफाबाट बितरण गरिने बोनस जोडिएको छैन। 

बैंकले कुल कर्मचारी खर्च ३ अर्ब  १६ करोड ४८ लाख रुपैयाँ गरेको छ। यसमध्ये ६६ करोड ३१ लाख नाफाबाट बितरण गरिएको बोनस पनि छ। बैंकले २ अर्ब ८ करोड सञ्चालन खर्च गरेको छ।

बैंकको सभाले गत बर्षको नाफाबाट चुक्ता पुँजीको ३.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर पारित गर्ने छ। बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ छ। बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो।