बुटवलमा २ अर्बको लागतमा सपिङ कम्प्लेक्स निर्माण योजना, मोडल सार्वजनिक-निजी साझेदारी

बिजमाण्डू
२०७८ मंसिर २१ गते १३:३० | Dec 7, 2021
बुटवलमा २ अर्बको लागतमा सपिङ कम्प्लेक्स निर्माण योजना, मोडल सार्वजनिक-निजी साझेदारी

रुपन्देही। बुटवलमा आधुनिक सपिङ कम्प्लेक्सका सबै सुविधासहितको बहुउद्देश्यीय भवन बनाइने भएको छ। सार्वजनिक-निजी साझेदारी (सानिसा)मा बहुवर्षे योजनाका रूपमा बुटवल सिटी सेन्टर निर्माण गर्ने अवधारणा उपमहानगरपालिकाले अघि सारेको हो।

Tata
GBIME
Nepal Life

बुटवल-९ को लुम्बिनी बस टर्मिनल क्षेत्रमा खाली रहेको करिब चार बिघा क्षेत्रफलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण, सञ्चालन तथा हस्तान्तरण आयोजना अवधारणमा कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए। भवनको लागत करिब २ अर्ब रहने छ।

भवन निर्माणका लागि उपमहानगरपालिकाले साझेदारीमा काम गर्न इच्छुक तथा योग्य कम्पनी/संस्थाहरुसँग आवेदन मागेको छ। उपमहानगरको भवन निर्माणसम्बन्धी मापदण्ड २०७४ खारेज गर्दै नयाँ मापदण्ड बनाएसँगै अब बुटवलमा तोकिएको क्षेत्रमा बहुतलाका भवन निर्माण गर्न सकिने छ। बढ्दो जनघनत्व र जग्गाको अभावलाई मध्यनजर गर्दै नयाँ अवधारणा बनाइएको प्रमुख सुवेदीले बताए।

सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्र बनाइने र बजार क्षेत्रमा सम्भाव्यता अध्ययन गरेर बहुतलाका भवन निर्माणको स्वीकृति दिने गरी नयाँ मापदण्ड बनाइएको उनको भनाइ छ। जनप्रतिनिधि निर्वाचित भएयता बुटवलमा करिब ३०० बिघा सार्वजनिक जग्गा संरक्षण गरी सरकार मातहतमा ल्याइएको छ।

हाइराइज अर्थात् बहुतले बहुउद्देश्यीय भवनमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेसन बनाई प्राविधिकबाट अनुगमनसमेत गर्ने व्यवस्था मिलाइएको उपमहानगरका प्रवक्तासमेत रहेका पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले बताए।

उपमहानगरले उपमहानगरपालिकाको सार्वजनिक निजी साझेदारी शाखा प्रमुख लक्ष्मी ढकालका अनुसार तीनवटा राष्ट्रिय निजी कम्पनीले चासो राखेका छन्। कम्पनी छनोट भएलगत्तै निर्माण अगाडि बढाइनेछ। 

निर्माणस्थलको सर्भे, माटो जाँच, वातावरणीय प्रभावलगायत प्रक्रिया पूरा भइसकेको र बहुतले भवन निर्माणमा संलग्न हुँदै आएका विज्ञहरूको समेत परामर्शमा लिएर अवधारणा बनाइएको उपमहानगरका सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुमन श्रेष्ठको भनाइ छ। रासस