गीता गोपीनाथ मुद्रा कोष प्रथम डेपुटी प्रबन्ध निर्देशकमा नियुक्त, जर्जिएभापछि नेतृत्व पाउलिन्?

बिजमाण्डू
२०७८ मंसिर १७ गते ०९:१८ | Dec 3, 2021

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रथम डेपुटी प्रबन्ध निर्देशकमा भारतीय मूलकी गीता गोपीनाथ नियुक्त हुने भएकी छन्। मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिन जर्जिएभाले उनको नाम घोषणा गरेकी हुन्।

Tata
GBIME
Nepal Life

वर्तमान पहिलो डेपुटी प्रबन्ध निर्देशक जेफ्री ओकामोटोले अर्को वर्षको सुरुवातमा मुद्रा कोष छाड्ने छन्। त्यो ठाउँमा गोपीनाथलाई नियुक्त गर्न लागिएको हो।

गोपीनाथ अहिले मुद्रा कोषको प्रमुख अर्थशास्त्री छिन्। जर्जिएभाले नयाँ नियुक्तिको घोषणा गर्दै भनिन्- जेफ्री र गीता दुवैजना उत्कृष्ट सहकर्मी हुन्। जेफ्री गएको देखेर म दुःखी छु तर, गीताले नयाँ जिम्मेवारी स्वीकार गर्ने निर्णय गरेकोमा म खुसी छु। 

जर्जिएभाले गीताको प्रशंसा गर्दै भनिन्- विशेष गरी महामारीले हाम्रा सदस्य राष्ट्रहरूले सामना गर्ने बृहत् आर्थिक चुनौतीहरूको मापन र दायरा बढाएको छ। म विश्वास गर्छु गीताले यस्ता चुनौतीहरुलाई पार लगाउन अग्रणी भूमिका खेल्नेछिन्। 

हार्वर्ड युनिभर्सिटीमा अर्थशास्त्र र अन्तर्राष्ट्रिय अध्ययनकी प्रोफेसरका रूपमा कार्यरत गीताले मुख्य अर्थशास्त्रीको भूमिका पाएको तीन वर्ष पुरा भएको छ। तीन वर्षमा उनी उच्च पदमा पुग्न सफल भएकी हुन्। प्रथम डेपुटी प्रबन्ध निर्देशकलाई भविष्यको मुद्रा कोषको प्रमुख अर्थात प्रबन्ध निर्देशकका रुपमा हेरिन्छ।

गीताका अनुसन्धानहरु अन्तर्राष्ट्रिय वित्त तथा बृहद् अर्थशास्त्रसँग सम्बन्धित छ। सन् २०१४ मा गीता मुद्रा कोषको ४५ वर्ष मुनिका टप २५ अर्थशास्त्रीहरुमा परेकी थिइन्। उनलाई सन् २०११ मा विश्व आर्थिक मञ्चमा योङ ग्लोबल लिडरका रूपमा चुनिएको थियो।

दिल्ली स्कुल अफ इकोनोमिक्समा पढेकी प्रोफेसर गीता नब्बेको दशकमा थप अध्ययनका लागि अमेरिका गएकी थिइन्। उनले सन् २००१ मा प्रिन्सटन युनिभर्सिटीबाट विद्यावारिधि गरेकी हुन्।