बुक बिल्डिङ आइपीओः सर्वोत्तम सिमेन्ट विवादमा आएपछि अरु कम्पनी पनि गएनन्

बिजमाण्डू
२०७८ मंसिर १६ गते १९:०९ | Dec 2, 2021

काठमाडौं। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत ल्याउन खोजेको आइपीओ विवादमा परेपछि अन्य कम्पनीहरु पनि बुक बिल्डिङमा जान हच्किएका छन्।

Tata
GBIME
Nepal Life

नेपालमै पहिलोपटक प्रयोगमा ल्याउन खोजिएको बुक बिल्डिङ विधिमार्फत आइपीओ ल्याउन निजी क्षेत्रका धेरै कम्पनीहरुले रुचि देखाएका थिए।

सर्वोत्तम सिमेन्ट, अर्घाखाँची सिमेन्ट, रिलायस स्पिनिङ मिल लगायतका कम्पनीले बुक बिल्डिङमार्फत आइपीओ ल्याउन अनौपाचरिक रूपमा तयारी गरिरहेका थिए।

सर्वोत्तमले भने धितोपत्र निष्कासनका लागि बिक्री प्रबन्धक तोक्नुका साथै विशेष साधारणसभामार्फत ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्तावसमेत पारित गरिसकेको थियो।

सरकारी निकायबाट अनुमति माग्न धितोपत्र बोर्डमा जाने तयारी गरिरहेका बेला धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कम्पनीको सेयर किनेको कुरा बाहिरिएपछि कम्पनीले औपचारिक रूपमा अनुमति नमाग्दै विवादमा आएको थियो।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीइओ र बजारका केही ठूला लगानीकर्ताहरुले पनि सर्वोत्तम सिमेन्टको सेयर अग्रिम रुपमा किनिसकेको कुरा बाहिरिएपछि यो थप विवादित बनेको थियो। कम्पनीले बिक्री प्रबन्धकदेखि धितोपत्र बोर्डसम्म सबैलाई प्रभावमा पारेर महंगो मूल्यमा सेयर निष्कासन गर्न लागेको आरोप समेत लागेको थियो।

लहरो तान्दा पहरो गएपछि कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छैन।

तर धितोपत्र बोर्डका निर्देशक निरज गिरी कुनै पनि कम्पनी बुक बिल्डिङको लागि अनुमति माग्न आएमा प्रक्रिया पुर्‍याएर अनुमति दिने बताउँछन्।

'अहिलेसम्म कुनै पनि कम्पनीले औपचारिकरूपमा आइपीओ जारी गर्ने प्रस्ताव बोर्डमा ल्याएका छैनन्,' गिरीले भने, 'बिडर कम्पनीलाई अनुमति दिएर आवश्यक कार्यविधि समेत बनाइसकेकाले अनुमति माग्न आएमा दिन सकिन्छ।'

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विवादमा आएपछि अरु कम्पनीहरु हच्किएका हुन्? भन्ने प्रश्नमा गिरीले भने- 'ठ्याक्कै त्यस्तो त होइन होला। बुक बिल्डिङबाट आइपीओ ल्याउने भनेर अनौपचारिक रूपमा कुरा भए पनि बोर्डमा कसैको आवेदन परेको थिएन, र छैन। उहाँहरुको तयारी नपुगेर नआएको होलान्।'

सर्वोत्तम सिमेन्टका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले बुक बिल्डिङबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आवेदन दिएको जानकारी दिए। उनले नेप्सेबाट स्वीकृति पाएलगत्तै बोर्डमा आवेदन दिने जानकारी दिँदै पुसभित्रै सेयर सर्वसाधरणमा ल्याउने बताए।