डेढ अर्ब लगानीमा हेटौंडामा भाटभटेनीको नयाँ शाखा संचालनमा आउँदै, अरु ६ वटा थपिदै

बिजमाण्डू
२०७८ मंसिर १५ गते २१:५५ | Dec 1, 2021
डेढ अर्ब लगानीमा हेटौंडामा भाटभटेनीको नयाँ शाखा संचालनमा आउँदै, अरु ६ वटा थपिदै

विराटनगर। देशभरि आउटलेट विस्तारमा आक्रामक भइरहेको भाटभटेनी सुपर स्टोरले वाग्मती प्रदेशको राजधानी हेटौंडामा यही मंसिर २२ गतेदेखि नयाँ स्टोरको सञ्चालन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीको १ सय ५० करोडको लगानीमा निर्मित २० औं स्टोरको उद्घाटन गर्न लागेका हुन्।

अध्यक्ष गुरुङका अनुसार हेटौंडा-२ चौकी टोलमा भाटभटेनीको सुपर स्टोरको निर्माण गरिएको छ। यो स्टोर पुग्न हेटौँडाको मुख्य बजारको बुद्ध चौकबाट ४ सय मिटर ओरालो झर्नुपर्ने हुन्छ।

गुरुङले स्टोर परिसरको जमिन र निर्माणका लागि १ सय ५० करोडको लगानी भएको बताए। भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले चौकी टोलमा खरिद गरिएको १४ कट्ठा ५ धुर जग्गामा स्टोरको २ वटा बेसमेन्टसहित ८ तले भवनको निर्माण गरिएको बताए। भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट छ।

व्यवस्थापक भट्टराईका अनुसार २ वटा बेसमेन्टमा पार्किङको प्रबन्ध गरिएको छ। दुबै बेसमेन्टमा गरी ३ सय गाडी र ७ सय मोटर साइकल अटाउने क्षमता छ।स्टोरको भुइँतल्लामा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान र मन्जन–टुथ ब्रस लगायतका कस्मेटिक सामग्री राखिनेछन्।

यही तलामा केएफसीको आउटलेट रहेको भट्टराईले जनाए। यस तलामा ९ वटा काउन्टर छन्। त्यस्तै पहिलो तलामा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गार प्रसाधनका कस्मेटिक सामग्री हुनेछन्। यही तलामा पेपे पिज्जाको आउटलेटसमेत राखिनेछ। यस तलामा ६ वटा काउन्टर हुनेछन्।

दोस्रो तला महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता लगायतका पहिरनका सामग्रीका लागि छुट्याइएको छ। यस तलामा न्यू ब्यालेन्स, एनबी, फिला, स्केयर्स र युएस पोलोजस्ता विश्वप्रसिद्ध ब्रान्डेड कम्पनीका तयारी कपडा पाइने भट्टराईले बताए। यस तलामा ८ वटा काउन्टर राखिनेछन्।
तेस्रो तलामा जुत्ताचप्पल लगायतका फुटवेयर हुनेछन्।

यही तलामा टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री राखिनेछन्। यस तलामा ४ वटा काउन्टर हुने व्यवस्थापक भट्टराईले बताए। चौथो तलामा क्यू एन्ड यु कम्पनीका फर्निचर राखिनेछन्। पाँचौं तलामा तत्कालका लागि खालि हल छ। यही तलामा स्टोरको प्रशासनिक र व्यवस्थापकीय कार्यालय पनि राखिएको छ। यो तला अझै निर्माणाधीन छ।

छैटौं तलामा स्टोरको गोदाम बनाइएको छ। भाटभटेनीले काठमाडौंको टोखा र सानागाउँ, पश्चिम नेपालको धनगढी, प्रदेश नम्बर २ को जनकपुर र वीरगञ्ज तथा पूर्वको झापा जिल्लास्थित बिर्तामोड गरी ६ ठाउँमा स्टोर सञ्चालनका लागि निर्माण कार्य गरिरहेको भट्टराईले जानकारी दिए।