होटल बिगमा सुविधा थपिदै, अब क्यासिनो, हेल्थ क्लब र स्वीमिङ पुल, लगानी ७५ करोड रुपैयाँ पुग्यो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ मंसिर १६ गते ०९:०१ | Dec 2, 2021

विराटनगर। साढे तीन वर्षअघि विराटनगरको रोडशेष चोकमा संचालनमा आएको होटल बिगले लगानी विस्तार गरेको छ ।होटलले क्यासिनो, इनडोर स्वीमिङ पुल, जिम क्लब, स्पा, सोना र स्टिम बाथ, हेल्थ क्लब लगायतका सेग्मेन्टको निर्माणका लागि लगानी विस्तार गरेको हो।

Tata
GBIME
Nepal Life

काठमाडौंका ऊर्जा व्यवसायी भरतबहादुर खत्रीले यसअघि ८ कट्ठा १० धुर जमिनमा ५० करोडका लगानीमा सञ्चालनमा ल्याएको होटलले थप २५ करोडका लागतमा अरु सेवा विस्तार गर्न लागेका हुन्।

होटलका व्यवस्थापक संजय शाहले विस्तारसहितको होटल बिग छिटोमा आगामी फागुनको पहिलो सातादेखि पूर्ण सञ्चालनमा आउने जानकारी दिए।व्यवस्थापक शाहका अनुसार क्यासिनोको क्षमता ७० प्लेयरका लागि छ। विराटनगरमा यसअघि रत्ना र स्वागतम गरी २ होटलले क्यासिनो संचालन गरेका थिए। हाल दुबै होटलले क्यासिनो बन्द गरिसकेका छन् । यही देखेर होटल बिगले भने क्यासिनोमा हात हालेको छ।

यसबाहेक विराटनगरका होटलमा बिगले पहिलो पटक जिम क्लबको संचालन गर्ने भएको छ। जिम क्लबमा २५ जनाको क्षमता हुनेछ ।
त्यस्तै विराटनगरकै होटलमा पहिलो पटक स्पा पनि बिगले नै ल्याउने भएको छ। स्पा संचालनका लागि भौतिक संरचनाको निर्माण धमाधम भइरहेको छ।

होटलले महिला र पुरुषका लागि अलगअलग स्टिम बाथ र साउना बाथको निर्माण गरिरहेको व्यवस्थापक शाहले जानकारी दिए। यो अतिरिक्त बिगले निर्माण गरिरहेको इनडोर स्वीमिङ पुलमा ठूला व्यक्ति १५ जनाले सजिलै पौड्न मिल्ने गर्न सक्ने शाहको भनाइ छ। विराटनगरमा हाल कुनै पनि होटलमा स्वीमिङ पुल छैन।

स्वीमिङ पुल भएको एक मात्र होटल जेनियल बन्द छ। बिगको स्वीमिङ पुल ४ देखि ६ फिटसम्म गहिरो हुनेछ। होटलले संचालन गर्ने हेल्थ क्लबमा अत्याधुनिक उपकरण राखिने छ। होटलले पार्किङको पनि विस्तार गरिरहेको छ। हाल ४० गाडी र ३५ बाइक अटाउने बिगको पार्किङ क्षेत्र छ। विस्तारपछि ७० गाडी र ६० बाइक अटाउनेछन्।

विस्तारपछि होटल पूर्ण रूपमा संचालनमा आएपछि कोठामा बस्ने पाहुनालाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क उपलब्ध गराइने शाहले उल्लेख गरे। हाल कोठाका बस्ने पाहुनाले बिहानको खाजा र विराटनगर विमानस्थलसम्म आउनेजाने सुविधा निःशुल्क पाइरहेका छन। यसअघि २०७५ वैशाख १ देखि सञ्चालनमा आएको होटल बिगमा ६५ वटा कोठा छन्। होटलमा सुइट रुम ३, सुपर डिलक्स १० र डिलक्स रुम ५२ भएको शाहले जानकारी दिए।

पाँच तले होटलमा पहिलो तलामा ३० जनाको र पाचौँ तलामा ३ सय र २ सय ५० का गरी ३ वटा छुट्टाछुट्टै ब्याङ्केट हल छन । होटलमा एक फाइन डाइनिङ, एक गार्डेन रेस्टुरेन्ट र एक कफी सेन्टर समेत छन् ।

व्यवस्थापक शाहले होटलमा औद्योगिक–व्यापारिक घरानाका पाहुना, गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका अधिकारीहरू, स्थानीय प्रदेश र सङ्घीय सरकारका निकाय र ती सरकारका पाहुना, पूर्व आउने कूटनीतिक नियोगका अधिकारी, मेडिकल कलेज र फर्मास्युटिकल्स र भारतीय पाहुना विशेष ग्राहक हुने गरेको स्पष्ट पारे ।