नाडा चुनावः चौधरीको प्यानल सार्वजनिक, भने- ‘प्रतिस्पर्धा छैन, एकअर्काको सुझाव आत्मसात गर्छौं’

बिजमाण्डू
२०७८ मंसिर १५ गते १९:०१ | Dec 1, 2021
नाडा चुनावः चौधरीको प्यानल सार्वजनिक, भने- ‘प्रतिस्पर्धा छैन, एकअर्काको सुझाव आत्मसात गर्छौं’

काठमाडौं। नाडा अटोमोवाइल्स एसोसिएशनको आगामी कार्यसमितिको चुनावका लागि करण चौधरीले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै अध्यक्षका उम्मेदवार चौधरीले प्यानल घोषणा गरेका हुन्।

Tata
GBIME
Nepal Life

उनको प्यानलमा अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिङ्हानिया, राजन बाबु श्रेष्ठ, अभिक ज्योति, मिलन बाबु मल्ल, निलमणि पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई, गङ्गाराज भट्टराई लगायत रहेका छन्।

यीमध्ये को कुन पदका लागि भन्ने अहिले खुलाइएको छैन। प्यानल सार्वजनिकका क्रममा चौधरीले आफूबाहेक अन्य उम्मेदवारले प्रतिस्पर्धा गर्ने पद भने केही दिनभित्रै जानकारी गराउने बताए।

चुनावकै लागि प्यानल घोषणा गरेको भए पनि चौधरी नाडाको चुनावमा अध्यक्ष तथा अन्य पदमा कुनै प्रतिस्पर्धा नरहेको जिकिर गरे। नेपालमा मारुती सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प र सीजी होल्डिङ्सका कार्यकारी निर्देशक चौधरी हाल नाडाको उपाध्यक्ष रहेका छन्।

बुधबार आफ्नो समुहका सदस्य सार्वजनिक गर्दै चौधरीले चुनावमा जसको हारजित भए पनि एकअर्काको सुझावलाई आत्मसात गर्दै अगाडि बड्ने प्रतिबद्धता जाहेर गरेका छन्। सोही क्रममा उनले भने, 'नाडाको चुनावमा कुनै प्रतिस्पर्धा छैन। नेतृत्वमा जो आए पनि एकअर्काको सुझावलाई आत्मसात गर्दै अगाडि बढ्नेछौं।' 

चौधरीले आफ्नो प्यानलमा अटोमोवाइल क्षेत्रमा लामो अनुभव बटुलेका व्यवसायीदेखि नयाँ पुस्ताका युवा व्यवसायीहरुसम्म समेटिएको बताए। जसमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन व्यवसायी, स्पेयर पार्ट्स बिक्रेतादेखि हेभी इक्विपमेन्ट व्यवसायी लगायत सबै क्षेत्रलाई समेटिएको उनको दाबी छ। 

'हाम्रो समुहमा अनुभव र जोशको राम्रो समिश्रण छ। त्यसैले अनुकुलता र प्रतिकुलता दुवैमा अटोमोवाइल क्षेत्रलाई सन्तुलित तरिकाले अगाडि लैजान हाम्रो समुह सक्षम छ,' उनले भने। 

चौधरीसँग अध्यक्षमा पोखराका व्यवसायी ध्रुब थापाले प्रतिस्पर्धा गर्दैछन्। थापा नेपालका लागि फोर्स मोटरको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन्। उनले बिहीबार आफ्नो प्यानल घोषणा गर्दैछन्।