सम्पत्तिका लागि भाइसँग तिक्तता बढाएका मुकेशले सन्तानलाई कसरी बाँड्लान् २५० खर्बको साम्राज्य!




वर्षौंदेखि मुकेश अम्बानीले वाल्टनदेखि कोचसम्मका चर्चित अर्बपति परिवारहरुले कसरी नयाँ पुस्तामा आफ्नो विरासत हस्तान्तरण गर्छन् भन्नेबारे मिहिन ढंगले अध्ययन गरिरहेका थिए। आफ्नो २०८ अर्ब डलर (करिब २५० खर्ब रुपैयाँबराबर) को साम्राज्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्रममा एसियाकै धनाढ्य मुकेशले लामो समयसम्म नियालिरहेको त्यही प्रक्रियालाई अझ बढी गम्भीर भएर अनुसरण गर्नुपर्ने छ। उनले आफ्नो विरासत हस्तान्तरण गर्दा आगामी कदम कसरी अघि बढाउनेछन् भन्ने आम चासोको विषय पनि बनेको छ, जुन स्वाभाविकै पनि हो। 



वालमार्ट इन्कर्पोरेटका मालिक अमेरिकी अर्बपति परिवार वाल्टनको परिवारले अपनाएकै सिद्धान्तलाई ६४ वर्षका मुकेशले रुचाएको बताइन्छ। आफ्नो सम्पत्ति हस्तान्तरणका क्रममा उनले पनि यस्तै किसिमको फ्रेमवर्क तयार गरी यस समयकै सबैभन्दा ठूलो सम्पत्ति हस्तान्तरण मध्येको एक मानिने उनको पुस्ता हस्तान्तरणको संरचना तयार पार्नेछन्। अम्बानीले आफ्नो परिवारको सम्पत्तिलाई एक किसिमको ट्रस्टको संरचनामा बनाउने र त्यही ट्रस्टले मुम्बईको सेयर बजारमा सूचीकृत फ्ल्यागसिप कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडलाई नियन्त्रण गर्ने किसिमको संरचना बनाउन चाहेका छन्। 

अम्बानी र उनकी श्रीमती नीता र उनका तीन सन्तानको रिलायन्स र त्यसको बोर्डमा हिस्सा रहनेछ। त्यसमा लामो समयदेखि मुकेशका विश्वासपात्रका रुपमा रहेका केही व्यक्तिहरु सल्लाहकारका रूपमा रहने छन्। भारतकै सबैभन्दा प्रभावशाली कम्पनी रिलायन्सको व्यवस्थापनमा भने प्रोफेसनल आउटसाइडरहरु रहनेछन्, जसले कम्पनीको दैनिक कार्य सञ्चालन गर्नेछन्।

रिफाइनरीदेखि पेट्रोकेमिकलसम्म, टेलिकम्युनिकेसन्सदेखि इ-कमर्स र ग्रीन इनर्जीसम्म फैलिएको व्यापारलाई प्रोफेसनलहरुले नै बिस्तार गर्ने गरीको जनशक्ति तयार पार्नेगरी मुकेशले योजना बनाइरहेका छन्। मुकेशको इच्छामुताबिक तयार भएको योजनामा उनी एक्लै भने छैनन्। पारिवारिक विरासतलाई अर्को चरणमा प्रवेश गराउने मुकेशको यो फ्रेमवर्क संक्रमणकालीन अवस्थामा रहेका एसियाका धेरै धनाढ्यहरुको पनि रोजाइ हो। 

एसियामा नै बिजनेस टाइकुन मानिएका व्यापारिक घरानाहरुको पुरानो पुस्ताको उमेर ढल्कदै गएको छ। उनीहरु आफ्नो सम्पत्ति कसरी उत्तराधिकारीहरुलाई वितरण गर्ने भन्ने बारे समस्यामा छन्। दोस्रो विश्व युद्धपछि एसियाली क्षेत्रमा भएको आर्थिक वृद्धि, ‍औद्योगिक तथा पूर्वाधार विकासका कारण धेरै उद्योगीहरुले असाध्यै धेरै सम्पत्ति जोड्न सफल भए। एसियाकै पहिलो पुस्ताका उद्योगीहरुले झण्डै १.३ ट्रिलियन (१३ खर्ब) डलरको सम्पत्ति आगामी दशकमा आफ्ना उत्तराधिकारीहरुलाई हस्तान्तरण गर्ने अवस्था रहेको स्विटजरल्याण्ड अवस्थित इन्भेष्टमेन्ट बैंक तथा वित्तीय सेवा प्रदायक फर्म क्रेडिट स्विस ग्रुप (एजी)ले बताएको छ। 

क्रेडिट स्विसले विश्वभर गरेको एक अध्ययन अनुसार एक हजार सार्वजनिक सेयर निष्कासन गरेका कम्पनीहरु, जसमा परिवारको स्वामित्व वा लगानी छ, ती कम्पनीहरुमा एसियाली मूलकै परिवारको बाहुल्यता छ। यो सबै कम्पनीहरुको संयुक्त बजार मूल्य करिब ५.८ ट्रिलियन (५८ खर्ब) डलर रहेको छ। यसमध्ये भारतीय औद्योगिक घरानाहरुको मात्रै बजार मूल्य १.५ ट्रिलियन (१५ खर्ब) डलर रहेको छ। बिगत १० वर्षमा भएको आर्थिक वृद्धिका कारण यी कम्पनीहरुको सम्पत्ति अत्यधिक चुलिएको देखिन्छ।

अम्बानी परिवार।

हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीस्थित टानोटो सेन्टर फर एसियन फेमिली बिजनेस एण्ड इन्टरप्रेन्योरसिप स्टडिजका निर्देशक विन्नी कियन पेङ एसियाका धनाढ्य व्यक्तिहरुले कसरी सफलतापूर्वक आफ्नो पारिवारिक सम्पत्ति तथा शक्ति हस्तान्तरण गर्छन्, त्यसले अन्यलाई पनि उत्साह दिने भएकाले यसबारेको निर्णय सावधानीपूर्वक लिनुपर्ने धारणा राख्छन्। उनी भन्छन्- 'अम्बानीहरु एसियाकै सबैभन्दा धनी परिवार हुन्। उनीहरुबाट अरुले पनि सक्न सक्ने कुराहरु धेरै हुनेछन्।'

मुकेश अम्बानीको व्यक्तिगत सम्पत्तिमात्रै ९४ अर्ब डलर छ। त्यसैले उनले सम्पत्ति हस्तान्तरणको सबैभन्दा ठूलो निर्णय लिनुअघि बिभिन्न विकल्पहरुमाथि सोच्नुपर्ने हुन्छ। यसैले उनले निर्णायक घडी आउनुभन्दा अघि नै धेरै किसिमले सोचिरहेको उनीनिकट केही व्यक्तिहरुको भनाइ छ। 

उत्तराधिकारीको चयन गर्दा आइपर्ने जोखिमहरुका बारेमा एसियाली टाइकुनहरु निकै सचेत समेत रहेको सिंगापुरस्थित युबीएस ग्लोबल वेल्थ म्यानेजमेन्टका विभागीय प्रमुख जन बोएस बताउँछन्। बोएसको कम्पनीले एसिया प्रशान्त क्षेत्रमा पारिवारिक व्यावसायिक संलग्नताबारे रणनीतिहरु तयार पार्ने गर्छ। 

उनी भन्छन्- 'उनीहरु हर किसिमका जोखिमलाई पाखा लगाउन चाहन्छन्। त्यसमाथि यो कोरोना महामारीको समयमा उनीहरुले वास्तवमै के चाहिरहेका हुन् भन्ने बारे सोच्ने मौका पनि पाएका छन्।'

उनका अनुसार कोभिड महामारीका समयमा पारिवारिक उत्तराधिकारी तथा सम्पत्ति हस्तान्तरणका बारेमा कुरा गर्न पहिलेभन्दा दोब्बर बढी क्लाइन्टहरुले सोधपुछ गरिरहेका छन्। 

'साँस्कृतिक हिसाबले सम्पत्ति हस्तान्तरणका बारेमा कुरा गर्न मानिसहरु त्यति सहज मान्दैनन्,' बोयस भन्छन्, 'नयाँ पुस्ता पनि यसलाई सार्वजनिक गर्न रुचाउँदैन। तर मानिसहरु यसका लागि मानसिक रुपमै तयार भने भइसकेका हुन्छन्।'    

मुकेश-निता अम्बानीका तीन सन्तान - देब्रेबाट क्रमशः अनन्त, इशा र आकाश।

अम्बानी परिवारले  सार्वजनिक रूपमा आगामी दिनमा रिलायन्सको अध्यक्ष वा कार्यकारी निर्देशक को बन्छ भन्ने बारेमा कुनै योजना खुलाएको छैन। तर मुकेशका तीनै सन्तान कम्पनीको काममा पहिले भन्दा बढी 'भिजिबल' देखिएका भने छन्। गत जुनमा सेयरधनीहरुलाई सम्बोधन गर्ने क्रममा मुकेशले अदृश्य रुपमा आगामी दिनमा रिलायन्समा उनका दुई जुम्ल्याहा सन्तान आकाश र इशाका साथै कान्छा छोरा अनन्तको भूमिका अहम् हुने संकेत भने गरिसकेका छन्। 

इशा र आकाश ३० वर्षका छन् भने कान्छा अनन्त २६ वर्षका छन्, जसले भविष्यमा रिलायन्सको बागडोर सम्हाल्नेछन्। 

नयाँ पुस्ताका रुपमा यी तीनै सन्तान मिलेर रिलायन्सको नेतृत्व गर्दै विरासत सम्हाल्नेमा कुनै शंका छैन। तर मुकेशले पनि वाल्टन परिवारकै जसरी कम्पनीको विरासत हस्तान्तरणको निर्णय लिने युबीएस ग्लोबल वेल्थ म्यानेजमेन्टका विभागीय प्रमुख बोएसको अनुमान छ। 

वालमार्टका संस्थापक साम वाल्टनको सन् १९९२ मा निधन भएपछि उनको परिवार कम्पनीको बोर्डमा रहने र कम्पनीको दैनिक कार्य सञ्चालनका लागि आउटसोर्सिङ गरी दक्ष व्यक्तिहरु ल्याइएको थियो। मुकेशले पनि यसरी नै कम्पनी अघि बढाउन सक्ने विज्ञहरु अनुमान गर्छन्। सन् १९८८ देखि सञ्चालनमा रहेको वालमार्टमा संस्थापक सामपछि सीइओका भूमिकामा डेभिड ग्लासलाई नियुक्त गरिएको थियो।  

सामका जेठा छोरा रोब वाल्टन र उनका भतिजा स्टुआर्ट वाल्टन वालमार्टको बोर्डमा रहे। सन् २०१५ मा सामका नातिनी-ज्वाइँ ग्रेग पेनर आर्कान्सासस्थित कम्पनी वेन्टोनभिलका अध्यक्ष बने। तर यसका कारण परिवारले निकै आलोचना सहनुपरेको थियो। यस्तो निर्णयले सेयरधनीहरुको हितभन्दा परिवारको हितमा काम हुनसक्ने आशंका गर्दै आलोचना भएपछि वाल्टन परिवारका अधिकांश सदस्यहरुले वालमार्ट भन्दा बाहिर नै आफ्नो संलग्नता बढाए। उनीहरुले अन्य व्यापारका साथै दिगो लगानी तथा परोपकारका क्षेत्रमा आफूलाई केन्द्रित गरे। 

बेन्टोनभिलस्थित वाल्टन म्युजियममा राखिएको वाल्टन परिवारको तस्वीर।

'वाल्टन फ्यामिली मोडल'ले संस्थापक सामको दूरदर्शितालाई झल्काउँछ जसले वालमार्टलाई सानो स्टोरबाट फैलाउँदै ग्लोबल जायन्ट बनाएका थिए। उनले सन् १९५३ अर्थात आफ्नो निधनको ४० वर्ष अघिदेखि नै सम्पत्ति हस्तान्तरण तथा उत्तराधिकारीका बारेमा तयारी थालेका थिए। उनले त्यसैबेला आफ्नो पारिवारिक व्यापारको ८० प्रतिशत हिस्सा आफ्ना चार सन्तान एलिस रोब जिम र जोनलाई बाँडिदिएका थिए। त्यसले करहरु न्यूनीकरणमा समेत मद्दत पुग्यो भने कम्पनी विश्वकै ठूलो रिटेलरका रूपमा विकसित हुँदै जाँदा पारिवारिक  नियन्त्रण कायम रहन मद्दत पुग्यो। 

हाल वालमार्ट इन्टरप्राइजेज तथा अन्य पारिवारिक स्वामित्वमा रहेका ट्रस्टहरुमा वाल्टन परिवारको ४७ प्रतिशत सेयर छ। यस अनुसार आगामी दिनमा पनि वाल्टन परिवारले कम्पनीमा आफ्नो पकड तथा शक्ति कायम गर्नेमा कुनै दुविधा नरहेको वालमार्टकै बारेमा लेखिएको किताब 'द रिटेल रिभोल्युसन'का लेखक नेल्सन लिटेन्स्टियन बताउँछन्। 

उनी भन्छन्-'कम्पनीमा झण्डै ५० प्रतिशतमाथि पकड राख्नुको अर्थ हुन्छ उनीहरुले नियुक्त गरेका म्यानेजरहरुलाई के थाहा छ भने वास्तविक शक्ति कहाँ निहित छ।'

पिता धिरुभाइ (बीचमा) सँग मुकेश-अनिल।

सन् १९७३ मा मुकेशका बाबु धिरजलाल हिराचन्द अम्बानीले खोलेको सानो ट्रेडिङ हाउस रिलायन्स इम्पायरका रूपमा अघि बढ्यो। तर सन् २००२ मा धिरुभाईका नामले चिनिएका धिरजलालको निधन भएपछि भने कम्पनीले अप्ठ्यारो परिस्थितिको सामना गर्न पुग्यो। धिरुभाईले सम्पत्ति बाँडफाँडको कुनै निर्णय लिनु अघि नै उनको निधन भएको थियो। यसबाट धिरुभाईको सम्पत्तिमाथि अधिकारका लागि मुकेश र उनका भाई अनिलबीच एक वर्ष लामो झगडा चल्यो। त्यसबेला मुकेश र उनका भाई अनिल दुवै पारिवारिक व्यापारमा संलग्न थिए।  

सुरुवातमा मुकेशले अध्यक्ष र अनिल उपाध्यक्षका रुपमा रिलायन्समा सँगै काम गरे। तर जब कम्पनी बिस्तारको समय आयो, त्यसैबेलादेखि दाजुभाइबीच खटपट सुरु भयो। अनिल र मुकेश दुवैले एक अर्कासँग सल्लाह नगरी निर्णयहरु गर्न थाले। अनिलले पावर जेनरेसन प्रोजेक्ट सुरु गर्दा मुकेशसँग छलफल नै नगरेकोमा मुकेश भाईसँग रिसाए भने मुकेशले पनि रिलायन्सलाई पुनर्संरचना गर्दा अनिललाई वास्ता नगरेको भन्दै अनिल क्रोधित बने। 

एक समय यस्तो पनि आयो जतिबेला अनिलले रिलायन्सको वित्तीय कारोबारको कागजमै सही गर्न इन्कार गरे। यी सबै विवाद दाजुभाईबीचको सम्बन्धमा देखिने स्वाभाविक उतारचढावकै  कारण उत्पन्न भएको थियो। दाजुका रुपमा मुकेशले आफूलाई स्वाभाविक रुपमा बोस माने भने अनिलले आफूलाई पनि बाबुको सम्पत्तिमा दाजुसँग बराबरको हिस्सेदारका रुपमा आफूलाई उभ्याए। 

लामो समयसम्म दाजुभाईबीच चलेको यो टसललाई 'अम्बानी सिभिल वार'कै रुपमा लिइन्छ, जुन युद्धमा बाबुको निधन भएको तीन वर्षपछि आमा कोकिलाबेनले बाध्य भएर हस्तक्षेप गर्नुपर्यो। सन् २००५ मा आमा कोकिलाबेनको मध्यस्थतामा दुई दाजुभाईबीच रिलायन्सको सम्पत्ति बाँडफाँड भयो। 

मुकेश-अनिलकी आमा कोकिलाबेन (बीचमा)।

अनिलले टेलिकम्युनिकेसन्स एसेट म्यानेजमेन्ट इन्टरटेनमेन्ट र पावर जेनरेसन बिजनेस लिए भने मुकेशले रिफाइनिङ पेट्रोकेमिकल्स तेल तथा ग्यासका साथै टेक्सटाइल अपरेसन्समा आफ्नो नियन्त्रण कायम राखे। 

दुई दाजुभाइबीचको यो सम्पत्ति विवादलाई असफल उत्तराधिकारी व्यवस्थापनको परम्परागत नमुनाका रुपमा लिनुपर्ने इन्डियन स्कुल अफ बिजनेसका काबिल रामचन्द्रन बताउँछन्। उनी भन्छन् -'भाइसँगको तितो बिगतका कारण मुकेश अब पक्कै पनि आफ्नो पारिवारिक हाँगामा त्यस्तै किसिमको समस्या निम्त्याउन चाहँदैनन्।'

अब मुकेशका उत्तराधिकारीहरुले आफ्नो बाबुको सम्पत्ति प्राप्त गर्दा त्यो सम्पत्ति मुकेश र अनिलबीच भएको बाँडफाँडको समयमा रहेको पारिवारिक बिरासतभन्दा निकै फरक हुने देखिन्छ।

मुकेश र अनिल अम्बानी।

किनभने विगत दुई दशकमा मुकेशले रिलायन्समा आमूल परिवर्तन गरिसकेका छन्। विश्वकै ठूलो मानिने क्रुड रिफाइनिङ कम्प्लेक्सदेखि भारतमा मोबाइल कम्युनिकेसन्सको अग्र स्थानमा देखिएको जियो सम्म रिलायन्सले आफूलाई विविधिकरण गरिसकेको छ। यस्तै उसले भारतमा इ-रिटेलिङसमेत थालिसकेको छ।  सन् २०१६ देखि रिलायन्सको बजार मूल्य  चारगुना भन्दा बढीले वृद्धि भइसकेको छ, जसले रिलायन्सलाई भारतकै सबैभन्दा मूल्यवान कम्पनीका रुपमा स्थापित गरिदिएको छ। 

सन् २०२१ मा कम्पनीले ग्रीन इनर्जीतर्फ आफूलाई केन्द्रित गरी अघि बढेको देखिन्छ, जुन विश्वकै ठूलो फोसिल-फ्युल बिलेनियरका लागि 'स्ट्रयाटेजिक सिफ्ट' हुनेछ। जलवायू परिवर्तनका कुरा उठिरहेका बेला परम्परागत ऊर्जा उद्योगका लागि यसतर्फ अघि बढ्नु भविष्यका लागि सुरक्षित हुनु पनि हो। अम्बानीले आफ्नो दुई वर्षदेखिको साउदी अरेबियन तेल कम्पनीलाई आफ्नो तेल र केमिकल युनिटको २० प्रतिशत बेच्ने योजना रद्द गर्नुले कम्पनीले आफ्नो प्राथमिकताहरु परिवर्तन गरेको संकेतका रुपमा बुझ्न सकिन्छ।  

उनले आफ्नो व्यापारलाई परिवारकै नियन्त्रणभित्र रहनेगरी पुनर्गठनसमेत गरिरहेका छन्। रिलायन्समा परिवारको नियन्त्रण ५०.६ प्रतिशत पुर्याइएको छ, जुन सन् २०१९ सम्म ४७.२७ प्रतिशत मात्रै थियो। भविष्यमा रिलायन्सले ऊर्जा, रिटेल र डिजिटल यी तीन व्यापारमा मात्रै आफूलाई केन्द्रित गर्दै लैजाने पनि विश्लेषण भइरहेको छ। विज्ञहरुका अनुसार रिलायन्स कम्पनीमा मुकेशकी श्रीमती निता र तीनै सन्तानको समान हिस्सा रहने र सबैले समान तहको शक्ति तथा अधिकार प्राप्त गर्नेछन्। 

यस्तो किसिमको समान वितरणले कम्पनीमा द्वन्द्वको अवस्था ननिम्तिने भएकाले समान तह र शक्ति तथा अधिकारको योजना बनाइएको बताइएको छ। 

'भारतीय कम्पनीहरुमा सेयरधनीको नियन्त्रणको अर्थ उनीहरुको मतको अधिकार पनि हो, जसले डाइरेक्टर बोर्डबाट सदस्यहरु नियुक्त गर्न तथा हटाउन सक्छ।'-इन्डियन इन्स्टिच्यूट अफ म्यानेजमेन्टका प्रोफेसर भिके उन्नी तर्क गर्छन्। 

उनी भावी दिनमा मुकेशको सञ्चालन तथा रणनीतिक निर्देशन तथा कम्पनीको पुनर्संरचनालाई भारतले मात्र नभई विश्वले नै नजिकबाट नियाल्ने धारणा राख्छन्। 

क्रेडिट स्विसका अनुसार पहिलो पुस्ताले हाल सञ्चालन गरिरहेका एसियाका व्यापारिक घरानाहरुमध्ये कम्तीमा एक सय कम्पनीहरुको सम्पत्तिमाथिको नियन्त्रण आगामी एक दशकभित्र हस्तान्तरण हुने छ। यसका लागि ती कम्पनीका उत्तराधिकारीहरुलाई पश्चिमी बिजनेस मोडलसँग परिचित गराइएको छ भने उनीहरुलाई विदेशमै अध्ययन अध्यापन गराइएको छ। मुकेशका पनि तीनै सन्तानले विदेशमा उच्च शिक्षा लिएका छन्। 

अम्बानीले आफ्ना सन्तानहरुलाई भविष्यमा निकै उम्दा प्रदर्शन गर्न सक्नेगरी ग्रुमिङ गरिरहेको स्पष्ट छ। जुम्ल्याहा इशा र आकाशले कम्पनीको रिटेल र टेक्नोलोजीतर्फको सिफ्टका लागि निकै महत्वपूर्ण भूमिका खेले। उनीहरुले नै मुकेशको इ-कमर्सको महत्वाकांक्षी परियोजनाका लागि हाल मेटा प्लाटफर्मका रुपमा बदलिएको फेसबुक इन्कर्पोरेटसँग ५.७ अर्ब डलरको लगानी सुरक्षित गरे। अनन्त जियो प्लाटफर्म, आयल एण्ड केमिकल बिजनेस तथा रिलायन्स इनर्जी युनिटका निर्देशक हुन्। 

'अम्बानी जे गर्दैछन् त्यो एकदमै दुर्लभ छ।'- टानोटो सेन्टरका पेङ मुकेशका भावी योजनाहरुको विश्षलेषण गर्दै भन्छन् -'सामान्यता पिताले अन्तिम समयसम्म आफ्नो सम्पत्तिमा नियन्त्रण राख्न खोज्छ। तर आफ्नो परिवारको बिगतका गल्तीहरुबाट पाठ सिकेर बुद्धिमान बनेका मुकेश भविष्यमा फेरि उस्तै गल्ती नदोहोरियून भन्नेमा सचेत देखिन्छन्।'


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell