के सेयर लगानीकर्ताको निराशा घटेको हो? बजार ओरालो लाग्ने गति भयो धिमा, सूचक स्थिरजस्तै

बिजमाण्डू
२०७८ मंसिर १४ गते १५:२१ | Nov 30, 2021
के सेयर लगानीकर्ताको निराशा घटेको हो? बजार ओरालो लाग्ने गति भयो धिमा, सूचक स्थिरजस्तै

काठमाडौं। मंगलबार सेयर बजारको नियमित कारोबार सत्र सामान्‍य उतारचढावमा बितेको छ। सोमबार बजार बन्द हुँदा २६३० विन्दुमा रोकिएको बजार सूचक नेप्से आज १८ अंक हाराहारीसम्मले बढ्दा लगभग त्यतिले नै तल पनि आयो। 

Tata
GBIME
Nepal Life

यससँगै मौद्रिक नीतिको समीक्षा कुरेर बस्न थालेसँगै ओरालो लाग्न थालेको सेयर बजारलाई केही राहत मिलेको छ। लगानीकर्ताहरु मौद्रिक समीक्षाको पर्खाइमा लाग्दा पछिल्लो १० कारोबार दिनमा सेयर बजार सूचक १७३ अंकले गुमेको छ। समीक्षाबाट राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४ करोड र १२ करोडको सीमालाई लचिलो बनाउने अनुमान लगानीकर्ताहरुको थियो। तर त्यसमा पुनरावलोकन नभएपछि बजार लगातार ओरालो लाग्ने क्रम रोकिएको छैन।

यद्यपि, सूचक घट्ने क्रम साँघुरिँदै १.६४ अंक मात्र भएसँगै यसले सेयर बजार लगानीकर्ताहरुको निराशा एक हदसम्म कम भएको बुझिन्छ। आज कारोबार भएका कम्पनीमध्ये सेयर मूल्य घट्ने र बढ्ने बराबरजस्तै रहे।

तर कारोबार रकमले भने लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा नै रहेको देखाएको छ। पछिल्लो ६ कारोबार दिनमा सेयर बजार सूचकमा जम्मा २३ अंकको मात्र उतारचढाव आउनुले पनि यसलाई पुष्टि गर्छ। यसबीच नेप्से अधिकतम २६५१ र न्यूनतम २६२८ विन्दुबीच घुमिरहेको छ।सोमबार ४ अर्ब रुपैयाँ हाराहारीको कारोबार भएकोमा मंगलबार यो रकम तीन अर्ब नौ करोडभन्दा पनि कम मात्र रह्यो। 

आज नियमित कारोबार सत्रको सुरुको २० मिनेटमा २६४८ विन्दुसम्म पुगेको सूचक नै मंगलबारको उच्च विन्दु रह्यो। त्यसबाट ओरोलो झर्दै पुनः सुधार हुँदै गएपछि दिउँसो पौने २ बजेतिर २६०६ को न्यूनतम विन्दुसम्म ओर्लियो। त्यहाँबाट पुनः माथि चढ्दै करिब ५० मिनेटमा सूचक २६४० सम्म पुगे पनि त्यो लयलाई कायम गर्न नसक्दा १५ मिनेटमै २० अंक हाराहारीले झर्यो। अन्तिम सात मिनेटमा सकारात्मक  साथ मिल्दा सूचकमा केही सुधार आए पनि सोमबारको अन्तिम विन्दुबाट १.६४ अंकले मात्रै भए पनि ऋणात्मक हुनबाट रोकिएन। यससँगै सेयर बजार सूचक २६२८.३७ विन्दुमा आइपुगेको छ।

कारोबार भएका सेयरको कित्ता संख्या भन्दा लगातार तल ओर्लिएको छ। गत आइतबार ९३ लाख ११ हजारभन्दा बढी कित्ता कारोबार भएकोमा यो आज मंगलबार करिब ४८ लाख हाराहारीमा सीमित भएको छ। यसले पनि किन-बेच दुवैका लागि लगानीकर्ता अहिले त्यति उत्साहित नरहेको वा पर्ख र हेरको स्थितीमा नै रहेको देखिन्छ।

यसक्रममा कारोबार भएका २२५ स्क्रिपहरुमध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ८६ वटामा लगानी गरेकाले गुमाए। १४ वटाको सेयर मूल्य स्थिर रह्यो। यी बाहेक अन्य स्क्रिपहरु म्युचुअल फन्ड र ऋणपत्रका एकाइहरु हुन्।

यस्तै, मूल्य धेरैले बढ्नेमा जलविद्युत कम्पनीहरु अगाडि देखिए, जसमा सामलिङ र न्यादीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो। तर रकमका हिसाबले धेरैको कारोबार हुनेमा भने मिश्रित क्षेत्रका कम्पनी देखिए। आइसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, हिमालयन डिस्टिलरी लगायतको कारोबार सर्वाधिक रकमको भएको हो। हिमालयन डिस्टिलरीको १० करोडभन्दा थोरै बढीको सेयर किनबेच भयो भने आइसीएफसीको १६ करोडमाथिको भयो। सेयर संख्याका हिसाबले महालक्ष्मी विकास बैंक, एचआइडीसीएल, आइसीएफसी आज सबैभन्दा धेरै कारोबार भएका स्क्रिप हुन्।