गभर्नर अधिकारीले वर्ष दिनमा ३२ लाख ६२ हजार रुपैयाँ तलब सुविधा लिए, डेपुटी गभर्नरको कति?

बिजमाण्डू
२०७८ मंसिर १३ गते १६:२६ | Nov 29, 2021
गभर्नर अधिकारीले वर्ष दिनमा ३२ लाख ६२ हजार रुपैयाँ तलब सुविधा लिए, डेपुटी गभर्नरको कति?


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका छन्। राष्ट्र बैंकको गभर्नरका रूपमा उनले तलब १३ लाख ९४ हजार ४०० रुपैयाँ बुझेका हुन्।

Tata
GBIME
Nepal Life

यो तलबलाई १२ महिनाले भाग गर्ने हो भने मासिक उनको तलब एक लाख १६ हजार २०० रुपैयाँ हुन आउँछ। उनले सञ्चालक समितिको बैठक भत्ताबापत २ लाख २५ हजार बुझेका छन् भने अन्य सुविधाबापत १६ लाख ४३ हजार रुपैयाँ बुझेका छन्।

दुई डेपुटी गभर्नरको तलब भने फरक फरक छ। वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले एक वर्षमा ३६ लाख ५८ हजार ७२४ रुपैयाँ तलब सुविधा बुझेकी छन्। उनले गभर्नरको भन्दा बढी अन्य सुविधा बुझेका कारण समग्र तलब सुविधा बढी देखिएको हो।

उनको वार्षिक तलब १२ लाख १५ हजार रुपैयाँ छ भने सञ्चालक समिति भत्ता ८० हजार र अन्य सुविधा २३ लाख ६३ हजार ७२४ रुपैयाँ बुझेकी छन्। 

गभर्नरको भन्दा उनको अन्य सुविधा कसरी धेरै भयो भन्ने राष्ट्र बैंकले खुलाएको छैन। अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब सुविधाबापत कुल ३४ लाख ७९ हजार ८४१ रुपैयाँ बुझेका छन्। उनले पनि गभर्नरको भन्दा बढी अन्य भत्ता तथा सुविधा बुझेका छन्।

मिश्रले वार्षिक तलब ११ लाख ३७ हजार ६०० रुपैयाँ बुझेका छन्। सञ्चालक समिति बैठक भत्ता ८० हजार बुझेका छन् भने अन्य सुविधाबापत २२ लाख ६२ हजार २४१ रुपैयाँ बुझेका छन्। 

सञ्चालक समितिका अन्य सञ्चालकहरुको भत्ता फरक फरक छ। उनीहरु बैठकमा सहभागिता जनाएअनुसार भत्ता पाएका छन्। श्रीराम पौडेलले २ लाख २५ हजार बैठक भत्ता र अन्य सुविधाबापत ७ लाख ९२ हजार ८८० रुपैयाँ पाएका छन्। यो अन्य सुविधाबापतको रकम रामजी रेग्मी र सुवोधकुमार कर्णले पनि ७ लाख ९२ हजार ८८० रुपैयाँका दरले नै बुझेका छन्।

सञ्चालक समिति भत्ता भने रेग्मीले २ लाख १० हजार र कर्णले एक लाख ९५ हजार रुपैयाँ बुझेका छन्।