एक पटकमा बढीमा २५ हजार डलरको मात्र चाँदी आयात गर्न पाइने, निरुत्साहन गर्न झन्झटिलो प्रक्रिया

बिजमाण्डू
२०७८ मंसिर १३ गते ०९:२२ | Nov 29, 2021
एक पटकमा बढीमा २५ हजार डलरको मात्र चाँदी आयात गर्न पाइने, निरुत्साहन गर्न झन्झटिलो प्रक्रिया

काठमाडौं। नेपाल राष्ट्र बैंकले चाँदी आयातलाई लगभग ठप्प गर्ने नीति लिएको छ। अस्वाभाविक रूपमा चाँदी आयात भएर मुलुकको शोधनान्तर स्थिति नै खस्किएपछि राष्ट्र बैंकले एक पटकमा कति मूल्यको आयात गर्न पाइने भनेर सीमा नै तोकेको छ।

Tata
GBIME
Nepal Life

चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा गरिएको व्यवस्था लागू हुन भने निर्देशन कुर्नुपर्ने हुन्छ। यद्यपि मौद्रिक समीक्षामा परिसकेका कारण बैंकहरुले अब सटही सुविधा उपलब्ध गराउन छाडिसकेका छन्।

राष्ट्र बैंकले ड्राफ्ट/टीटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा दिन सकिने व्यवस्था गरेको छ। यो भनेको बढीमा २५ हजार डलर हो।

व्यवसायीहरुले एक पटकमा ३/४ लाख डलरको चाँदी आयात गर्दै आएका थिए। व्यवसायीले चाँदी आयात गर्नु परेमा पटक-पटक एलसी खोल्नुपर्ने हुन्छ। यसले प्रक्रिया झन्झटिलो बनाइदिएको छ भने बैंकहरुलाई एलसी खोलेबापत आम्दानीको ढोका फराकिलो बनाइदिएको छ।

'प्रत्येक पटक आएको चाँदी के हुन्छ? कहाँ जान्छ भनेर पनि हेर्न सकियो। अर्कोतिर झन्झटिलो बनाइदिएपछि लागत पनि बढ्छ र निरुत्साहित पनि हुन्छन् भन्ने हो,' राष्ट्र बैंक विदेशी विनिमय विभाग स्रोतले भन्यो।

चालु वर्षको असोज महिनासम्म ९ अर्ब ९७ करोड रुपैयाँको चाँदी आयात भइसकेको छ। पोहोर वर्षभरीमा ८ अर्ब ५९ करोड  ५० लाख रुपैयाँको चाँदी आयात भएको थियो।