टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरेर ८ स्थानहरुमा पुर्‍यायो टुजी र फोरजी सेवा

बिजमाण्डू
२०७८ मंसिर १२ गते २०:२१ | Nov 28, 2021
टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरेर ८ स्थानहरुमा पुर्‍यायो टुजी र फोरजी सेवा


काठमाडौं। नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी चालू आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

टेलिकमले सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरेको जनाएको छ। यी टावरहरुबाट टेलिकमले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराउने छ।

सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको जनाएको छ।

स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको बताइएको छ। त्यसैगरी,  टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ।

गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ।

गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको बताइएको छ।

मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध छ।

यसैगरी, अन्य तीन दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी छिटै टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ, नाचिपाङ र दार्चुलाको ब्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिने बताइएको छ।

हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको टेलिकमले जनाएको छ। सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीहरुले गुणस्तरीय भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सक्ने छन्। तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत टेलिकमले दूरसञ्चार सेवा विस्तार कार्यलाई अघि बढाइरहेको छ।