मर्दीलाई चिनाउने अल्लारे केटा सुदीप गौतमको कथा : भैंसी गोठको बदलिएको पहिचान

बिजमाण्डू
२०७८ मंसिर ११ गते १६:४० | Nov 27, 2021
मर्दीलाई चिनाउने अल्लारे केटा सुदीप गौतमको कथा : भैंसी गोठको बदलिएको पहिचान


पोखरा। नजिकै देखिने हिमाल। हरेक सिजनमा फरक फरक अनुभूति। एक स्थान तर रुप अनेक। मर्दी पदमार्गको सुन्दरता पनि मौसम अनुसार फरक। परिवर्तित मर्दीको सुन्दरताको भने आफ्नै विशेषता।

Tata
GBIME
Nepal Life

चैत वैशाखको समय लालीगुरासँले ढाकिएको जंगलका बिचबाट गरिने यात्रा। गुराँस फुल्ने जंगलैजंगल। चराचुरुङ्गीको चिरबिराहट। मर्दी हिमालको काखमात्र नभई, माछापुच्छ्रे, अन्नपूर्ण श्रृङ्खला नजिकैबाट हेर्न सकिने। जाडोमा हिउँले ढपक्कै ढाकिने पदमार्ग। जुनेली रातमा माछापुच्छ्रेमुनि मर्दीको सुन्दरता। तल देखिने झिलिमिल पोखरा। बादल माथिको मर्दी।

हरेक पटकको यात्रामा फरक अनुभूति हुने मर्दीको सुन्दरताबारे परिचित थिए सुदीप गौतम। कास्कीको माछापुच्छ्रे गाउँपालिका, ९ सिदिङ गाउँमा जन्मिएका सुदीपलाई मर्दीको सबैखाले सुन्दरताले लोभ्याइरहन्थ्यो। मर्दीको मुहारसँग बाल्यकालदेखि नै परिचित हुन् उनी।

जतिखेर उनले मर्दीलाई चिनेका थिए त्यतिखेर यस क्षेत्र पदमार्गका रुपमा चिनिन्न थियो। छोटो दूरीमा हिमाल छुन सकिने मर्दी भैंसी गोठका रुपमा चिनिन्थ्यो। तर, त्यही भैंसी गोठको थलोलाई सुदीपको नजरले भने फरक देख्थ्यो। सुदीपले जुन नजरबाट मर्दी देख्थे अहिले अरुलाई त्यसैगरी देखाउन सफल पनि भएका छन्। आज मर्दी पदमार्ग स्थापित बनिसकेको छ। कतिले यसको सुन्दरता आफैँले अनुभूति गरिसकेका छन् त कतिको घुम्ने सूचीमा यो नाम सूचीकृत भइसकेको छ।

सन् २००७ सम्म मर्दी पदमार्गमा होटल थिएन। मर्दी पदमार्गका रुपमा चिनिएको फरेष्ट क्याम्प, लो क्याम्प, हाइ क्याम्प, बादल डाँडा भैँसीगोठ बस्तीको थलो थिए। कहिलेकाँही विदेशी पर्यटक क्याम्पिङका लागि आइपुग्थे। पर्यटक आए पनि पानीको दु:ख उल्कै। भैँसी गोठमा बस्नका लागि व्यवस्थित स्थान थिएन त्यसबेला। ओडारमा बास बस्नुपर्ने। फाट्टफुट्ट आइपुग्ने पर्यटकलाई सामान बेच्न डोकोमा सामान ल्याउँथे सिदिङ गाउँका केही व्यापारी। सुदीपको स्मरणमा ताजै छ – डोकोमा पर्यटकलाई सामान बेचेको।

२०६४ साल मङ्सिर महिना। बाहिर चिसो भए पनि अन्तरमनमा सुदीपलाई भाउन्न छुटेको थियो। कक्षा १२ को परीक्षाफल कुरेर बसेका थिए उनी। नतिजा सोच्नै नसकिनेखालको आइदियो। कहिल्यै दोस्रो नभएका उनी त्यस परीक्षामा भने फेल भए। अकल्पनीय नतिजाले रन्थिनिएका सुदीपको मगज खलबलियो। असान्त दिमागलाई राहत दिन चाहन्थे उनी। फेल भएको पीडाकै बिचमा सिदिङ गाउँबाट उक्लिए भैंसीगोठतिर। हो, ठ्याक्कै त्यहीँ समयमा हो सुदीपले मर्दीको मुहारमा छचल्किएको फरक फरक सुन्दरता अनुभूति गरेको। त्यहीँबाट उनले बुने – मर्दीलाई चिनाउने सपना।

फेरि जे भयो त्यो पनि नसोचेकै। परीक्षाफल आएको नौ दिनपछि खबर आयो – त्रुटिका कारण नतिजा प्रकाशन गलत भएछ। सुदीप फेल किन हुन्थे? परीक्षाको नतिजा गलत रुपमा आउँदा भौतारिँदै मर्दीमा देखेको सपना उनले टुट्न दिएनन्। त्यसैले त आज सुदीपले मर्दीलाई चिनाए। अनि मर्दीले सुदीपलाई।

मर्दीको सुन्दरता विश्वसामु चिनाउने सपना बुने पनि अठार वर्षे ठिटोको कुरा कसले पत्याउनु?

सुदीपको सपनालाई 'पागलपन' भन्नेहरु पनि थिए। उनलाई बौलाहा भन्नेहरु नहुने कुरै भएन। आफन्त र छरछिमेकले उनको 'सपना'लाई उपहासको विषय बनाए। उनलाई उपहासको पात्र। तर, माछापुच्छ्रे मुनि मर्दी हिमालजस्तै सुदीप पनि अडिग रहिरहे। उनको अडानले मर्दी हिमाल पदयात्रालाई विश्वसामु चिनायो। विश्वसामु चिनिएको मर्दी पदमार्गलाई प्रवर्द्धन गर्न अन्यले साथ दिँदै गए। सुदीपकै पाइला पछ्याउँदै अरुले होटेल सञ्चालनमा ल्याउन थाले।

‘त्यतिबेला सबैले मलाई बौलाहा भन्नुहुन्थ्यो अहिले सबै साथीहरु मसँगै बौलाउनु भएको छ। साथी पाएको छु खुशी लाग्छ अहिले यो देख्दा,’ सुदीपले सुनाए।

उनले आँट त गरे। तर, गोजीमा बाबाले मलेसियामा बगाएको पसिना वापतको ४४ हजार रुपैयाँमात्र थियो। त्यस समय सिदिङको जग्गा राखेर बैंकले ऋण पत्याउँदैन थियो। आफन्तजनसँग लाखौंको ऋण लिएर उनले पदमार्गमा लगानी गरे। सुदीपले हाइक्याम्पमा होटल सञ्चालन गर्नुपूर्व मर्दी पदमार्गको अरु ठाउँमा 'टी सप' थिएन। उनले १४ महिना एक्लै निरन्तर खटेर 'टी सप' खोले – एक्लै जोखिम उठाए। हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सुरु भयो। सुदीपले होटल सञ्चालनमा ल्याएपछि लो क्याम्प, फरेष्ट क्याम्प र बादल डाँडामा होटल सञ्चालनमा आयो।

सुदीपले पदमार्गमा होटल त बनाए। तर, मर्दीको प्रवर्द्धन बाँकी नै थियो। बनाएको होटलमा ताला ठोकेर तल झरे। पर्चा, पाम्प्लेस्ट बनाए। पर्यटनसँग जोडिएका निकायका पदाधिकारीसँग भेट गरे। काठमाडौं र पोखरा धाए बारम्बार। अह ! सोचे जस्तो साथ पाएनन्। सुदीपको कलिलो उमेर देखेर कसैले नगन्ने। ‘भर्खरको ठिटो मान्छेले पत्याउने पनि थिएनन्। नाकमा सिंगान चुहाउने यस्तो बच्चाले पनि के प्रवर्द्धन गर्छ भन्थे,’ उनले संघर्षका दिन स्मरण गरे।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका संस्थापक अध्यक्ष रहेका सुदीपले दुईवर्ष अघिमात्र पदीय जिम्मेवारी हस्तान्तरण गरेका हुन्। अहिलेको जस्तो सामाजिक सञ्जाल प्रयोगकर्ता थिएनन् जतिखेर उनी मर्दीलाई चिनाउन संघर्ष गरिरहेका थिए। टिकटक, फेसबुकमा सोसल एड्भर्टाइस हुन्थेन त्यतिखेर। समय अस्थिर थियो। तर, सुदीप थिर भएर उभिइरहे। उनी गर वा मरको परिस्थितिमा थिए। बिचैमा छोडेर जाने सोच आएन उनमा कहिल्यै। विश्वास थियो एकदिन अवश्य समय फिर्नेछ, उनले चाहेजस्तै गरी। सुदिपले आफ्नो पैसाभन्दा बढी महत्वका कुरा लगानी गरिरहेका थिए – आफ्नो कलिलो उमेरको मूल्य। नौं वर्षभन्दा धेरै अवधि पदमार्ग चिनाउन एक्लै संघर्ष गरे।

'ढुक्क चाहिँ यति गरेपछि केही हुन्छ भन्ने थियो। बिचमा छोडेर जाने कुरा त मनमा आएन,' उनले सुनाए, 'जिन्दगीको पहिलो लगानी र जवानी यहीँ व्यतित गरेकाले छोडेर जाने मन भएन।'

अन्तत समयले कोल्टे फेर्‍यो। भैँसी गोठ विस्तारै पर्यटक लक्षित होटेल बन्न पुग्यो। अहिले भैँसीगोठ पूर्ण रुपमा विस्थापित भएर होटेल बनिसकेका छन्। रुटमा अरु पनि थपिइसकेका छन्।

काँडेबाट सुरु हुने पदमार्गको यात्रा अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्प सम्म छ। काँडेबाट यात्रा सुरु गर्नेहरू फर्कंदा माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट फर्किन्छन्। पोखराबाट सिदिङसम्म जीप जाने कोही पर्यटकले त्यताबाट पनि यात्रा तय गर्छन्। सो स्थानमा पर्यटकलाई लक्षित गरी हाइक्याम्पमा १३ वटा, फोरेष्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा ९ वटा, बादल डाँडामा ६ वटा होटेल संचालनमा छन्।

सुरुमा अप्ठ्यारो बाटो। निश्चित स्थानमा एकदुई होटलमात्र। पर्यटक बाटोमै हराउलान् भनेर होटल चलाउनेहरु नै आधा बाटोसम्म लिने जानुपर्ने हुन्थ्यो।

'पर्यटकले बाटो बिराउँछन् भनी कालो रंगको चिन्ह लगायौं। त्यो अझै पनि देखिन्छ बाटोमा,' उनले भने, 'देउरालीको बाटोबाट हिँडे तलसम्म लिन जान्थ्यौं। अन्य बाटोमा पनि त्यही गर्‍थ्यौं।'

मर्दी पदमार्गलाई चिनाउन सफल बने पनि यसलाई व्यवस्थित रुपमा अघि बढाउन उत्तिकै समस्या रहेको सुदीपको बुझाई छ। सम्बन्धित निकायबाट सोचे अनुरुपको साथ मिलेको छैन अझै। यद्यपि, सरकारको सहयोगमा पदमार्गमा स्तरोन्नतिका काम अघि बढेकोमा थोरै नै सहि सन्तोष मिलेको छ। पदमार्गमा अझै पनि पानी र बिजुलीको समस्या यथावत् छ। पदमार्गमा पानीको पाइप पुगे पनि पर्याप्त छैन।

त्यसैले यस क्षेत्रको दिगो विकास कसरी गर्ने भन्नेमा माथापच्ची हुनुपर्ने उनको भनाइ छ। 'सुरुवातको दु:खलाईलाई पर्यटकको आगमनले हराउँदै लग्यो। अब अहिलेको सुखलाई दिगोमा परिणत गर्नुपर्छ,' उनको आवाजमा उत्साह सुनिन्थ्यो।

निकै छोटो दुरीमै हिमालको काखमा पुग्न सकिने भएकाले पछिल्लो समय मर्दी पदयात्रामा पर्यटकको आकर्षण बढेको छ। सुदीपलाई थाहा छ – भिडसँगै आउनसक्ने प्रदुषणबाट मर्दीलाई जोगाउनुपर्छ।