ढुंगा खोपेर भविष्य कोर्दै राजेन्द्र ! सिलौटो बनाएर परिवार पाल्नै मुस्किल, ढुंगा खोप्नेको कथा




बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको छेउमै भेटिन्छन् राजेन्द्र पत्थरकट्टा। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान स्थित सडक छेउमा ‘राजेन्द्र सिलौटा उद्योग’ लेखिएको एउटा पुरानो बोर्ड झुन्ड्याइएको छ।



उमेरले साढे ४ दशक नाघेका उनी दैनिकजसो यही ठाउँमा आफ्नै सुरमा ढुंगा कुँदिरहेका हुन्छन्। बुट्टेदार सिलौटोमा अल्झिएको छ उनको परिवारका ६ जना - श्रीमती, तीन छोरा र एक छोरीको जिन्दगी। धुलाम्मे सडकको छेउमा बसेर यसैगरी एकोहोरो घन र छिनो चलाउँदै राजेन्द्रले आफ्नो जिन्दगीको दुई दशक कटाइसकेका छन्।

‘घन र छिनो सानैदेखिको साथी हो,’ उनले सुनाए, ‘पुर्खाले यसैलाई कमाइ खाने भाँडो बनाए। सिलौटो बनाएर जसोतसो मुस्किलले जीवन निर्वाह भइरहेको छ।' उनका बुबा, हजुरबुबाहरुले पनि यसरी नै सिलौटो बनाइरहेको देखेका थिए राजेन्द्रले। अहिले उनी उनीहरुकै पदचापमा अगाडि बढिरहेका छन्।

रुपन्देहीको पूर्वी क्षेत्र धगधईमा जन्मिएका उनी काम खोज्दै रुपन्देहीको सीमा पाल्पाको तिनाउ गाउँपालिका पुगेका हुन्। जेठो छोरो १२, माइलो ११ र कान्छो ८ कक्षामा पढ्दैछन्। छोरीको विवाह भइसक्यो। दिनभर छोराहरु पढ्न जान्छन्। श्रीमान् श्रीमती सडक छेउमा घन र छिनो चलाइरहन्छन्।

‘छोराहरुले पढ्दैछन्, दैनिक खर्च बढ्दैछ। श्रीमान् श्रीमती मिलेर काम गछौँ, बिदाको समयमा छोराहरुले पनि सघाउँछन्,’ उनले भने। सिलौटो बनाउन त्यति सजिलो भने नहुने उनले अनुभव गरेका छन्।

‘ढुंगा खोज्दै टाढा टाढासम्मका खोला र जंगलमा पुग्नुपर्छ। राम्रो ढुंगा भेटाउन मुस्किल पर्छ,’ राजेन्द्रले सुनाए, ‘केही ढुंगा बाटोमै फुट्छन्। बचेका ढुंगालाई धेरै मेहनत गरेपछि मात्र सिलौटो तयार हुन्छ।'

ढुंगालाई विभिन्न आकार दिएर मसला पिस्ने सिलौटो, लोहोरा, मकै, कोदो, गहुँ, जौँ, चामल पिस्ने जाँतो, ओखल लगायत घरायसी प्रयोगका सामग्री बनाउन निकै सिपालु छन् राजेन्द्र। तर, यी सामग्रीले बजार नपाएपछि सिलौटो बनाउने पेशा निल्नु न ओकल्नु जस्तै भएको अनुभव गर्न थालेका छन्।

‘पहिले दिनमा ७/८ वटासम्म सिलौटा बनाउँथे। तर, अहिले ३-४ वटा मात्रै बनाउँछु। कहिले बिक्री हुन्छ, कहिले हुँदैन। व्यापार घटेपछि बनाएर मात्र किन थुपार्नु?’ प्रश्नको गुत्थीसँगै उनले भने, ‘केही वर्ष पहिलासम्म सिलौटाको व्यापार राम्रो हुन्थ्यो। एउटा सिलौटोलाई एक हजार ५ सय रुपैयाँसम्म बिक्री हुन्थ्यो। तर, अहिले ३ सय देखि मुस्किलले एक हजार रुपैयाँसम्ममा मिल्छ।’

महँगीले बजार भाउ आकाशिँदै जाँदा उनको मेहनतको मूल्य भने झन् झन् घट्दै गएको अनुभव गरेका छन् उनले।

पहिला सिलौटा, जाँतो, ओखलहरु बिक्रीका लागि पाल्पाका विभिन्न ठाउँहरुसँगै बुटवल, गुल्मी, स्याङ्जा, पोखरातिर पुग्ने गरेको उनले सुनाए। लगेको सबै बिक्री गरेर फर्किँदा राम्रै आम्दानी हुन्थ्यो उनको।

राजमार्गको छेउमै भएकाले उनले बनाएका धेरैजसो सिलौटो, लोहोरा देशका विभिन्न ठाउँमा पनि यात्रुसँगै पुगेका छन्।

‘पछिल्लो समय मेहनत गरेर बनाएको सिलौटा ग्राहकहरुले एकदमै कम मूल्यमा माग्ने गर्नुहुन्छ। आफ्नो लागत पनि उठ्दैन। ढिकी र जाँतोमा पिस्नेको संख्या पनि एकदमै न्यून छ। जाँतो र सिलौटाको काम छैन भनेर किन्न मान्दैनन्,’ राजेन्द्रले भने।

केही वर्ष अघिसम्म यही पेशाबाटै राम्रो आम्दानी गर्दै आएका पत्थरकट्टा जातिको पुर्ख्यौली पेशा छोटो समयको अन्तरालमै संकटतिर धकेलिँदै गएको छ। ‘नयाँ नयाँ प्रविधि आएका छन्। मसला पिस्न बिजुलीबाटै चल्ने मिसिन आइसके। हाम्रो पेशा संकटमा पर्दै गयो,’ उनी निरास सुनिए, ‘ढिकी जाँतो कसैले गर्न चाँहदैनन्। मिल आए। हाम्रो व्यापार पनि खस्किँदै गयो।'

सिलौटो बनाएर दुई दशक गुजारेका राजेन्द्रलाई नयाँ पेशा अंगाल्न सिप छैन। अर्को पेशा गर्न मनले पनि माँन्दैन। ‘उमेर छँदा अरु सिप पनि सिकिएन, ढुंगा खोपेर परिवार धान्नै मुस्किल हुन थाल्यो,’ उनले भने।

पहिले हरेकका घरमा सिलौटो र जाँतो हुन्थ्यो। आज त्यसको विकल्पमा ग्राइन्डरहरु आइसकेका छन्। पिस्ने क्षेत्रमा आधुनिकताको प्रवेशसँगै उनको पुर्ख्यौली पेशा विस्थापित हुने बाटोमा छ।

‘यस्तै रहे न गाउँ घरमा सिलौटो भेटिन्छ न जाँतो,’ उनी चिन्तित सुनिए, ‘हाम्रा सन्तानले पनि यस पेशा अंगाल्दैनन्। हाम्रा परम्परागत उपकरण लोप हुन्छन्।’

पुर्खादेखि चल्दै आएको व्यवसाय पुस्तान्तरण हुँदै आएको भए पनि अब उनीभन्दा पछि त्यसैगरी पुस्तान्तरण नहुने चिन्ता पत्थरकट्टाहरुमा छ। ‘व्यवसाय नै संकटमा परेपछि यसैमा आउनुपर्छ भनेर मैले छोरालाई कसरी भन्नु?,’ उनले प्रश्न गरे, ‘जीवन नै नचल्ने पेशा अंगाल भन्न त सकिन्न नि?’

आधुनिकतासँगै परम्परागत पेशा लोप हुँदै जाँदा युवाहरु रोजगारीका लागि विदेश पलायन हुने समस्या बढ्दै गएको छ। हिजोआज गाउँघरमा परम्परागत पेशाहरु अन्तर्गतका आरन पनि चल्दैनन्। आफ्ना छोराहरु पनि विदेश पलायन हुनुपर्ने बाध्यतामा बाँधिने हुन कि भन्ने चिन्ता राजेन्द्रलाई पनि छ।

‘सीपमा बाँच्नेहरूलाई राज्यले सहयोग गर्नुपर्‍यो नि। उनीहरुको जीवनशैली उकास्न मद्दत गर्नुपर्‍यो। अनिमात्र युवा विदेश पलायन हुनबाट रोकिन्छन्,’ उनले सुझाए, ‘हाम्रा परम्परागत पेशाहरु पनि जोगिन्छन्। यी त हाम्रा सम्पत्ति हुन नि।’

पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले लोपोन्मुख तथा सीमान्तकृत समुदायको पेशा संरक्षणका लागि अहिलेसम्म कुनै पनि पहल नभएको स्वीकार्छन्।

वडा ३ दोभानमा पहिले देखिनै केही पत्थरकट्टाहरुले जीविकोपार्जनका रुपमा सिलौटा, लोहोरो, जाँतोहरु बनाउँदै आएको उनले पनि देखिरहेका छन्। तर, स्थानीय सरकारले उनीहरुको पेशा संरक्षणमा योजना बनाएको छैन।

‘उहाँहरु पनि समस्यामा परेको भनेर आउनुभएको छैन, आउनुभयो भने संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्नेछौँ,’ उनले भने।

सरकारले लोपोन्मुख सूचीमा रहेको ‘पत्थरकट्टा’ जातिलाई सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ अनुसार सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। तर, सामाजिक सुरक्षा भत्ता प्रदान गरेको सरकारले उनीहरुको पेशा संरक्षणका लागि योजना भने बनाउन सकेको छैन।

यसैगरी एक पछि अर्को गर्दै परम्परागत पेशहरु लोप हुने, युवाहरु विदेश पलायन हुँदै जाने हो भने- हाम्रो आफ्नो भन्ने परम्परा र औजारहरु हेर्न भोलिका हाम्रा सन्ततिहरु संग्रालय पुग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell