भाखा सर्दै आएको अन्तर-आबद्धता निर्देशिका माघबाट लागू हुँदै, फोनकल शुल्क सस्तिने

बिजमाण्डू
२०७८ मंसिर ८ गते १५:२४ | Nov 24, 2021
भाखा सर्दै आएको अन्तर-आबद्धता निर्देशिका माघबाट लागू हुँदै, फोनकल शुल्क सस्तिने

काठमाडौं। एउटा कम्पनीको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क आगामी माघदेखि केही सस्तो हुने भएको छ। २०७६ चैतबाट लागू गर्ने भनिएको टेलिकम कम्पनीहरुको अन्तर-आबद्धता शुल्क आगामी माघबाट कार्यान्वयनमा आउने भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन गरेरै त्यसको प्रतिवेदनअनुसार एकैपटक अन्तर-आबद्धता शुल्क ४४ पैसा घटाउन लागेको हो।प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले माघ १ गतेबाट अन्तर-आबद्धता निर्देशिकाले तोकेको शुल्क कार्यान्वयनमा ल्याउने निर्णय भएको जानकारी दिए।

'सबै कम्पनीहरुले नयाँ अन्तर-आबद्धता शुल्क कार्यान्वयन गर्न सम्झौता गरी माघबाट कार्यान्वयनमा ल्याउनुपर्छ,' उनले भने। अहिले एउटा टेलिकम कम्पनीको नेटवर्कबाट अर्को कम्पनीको मोबाइल नेटवर्कमा कल गर्दा प्रतिमिनेट लाग्ने शुल्कमा ५४ पैसा अन्तर-आबद्धता शुल्क ग्राहकले तिर्दै आएका छन्। 

यो व्यवस्था लागू भएसँगै हाल सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्टसेलमध्ये एउटा सेवा प्रदायकको नम्बरबाट अर्कोको नम्बरमा कल गर्दा आबद्धता शुल्कवापत कम्पनीहरुले प्रतिमिनेट १० पैसामात्र लिन पाउने छन्। नयाँ निर्देशिकाअनुसार एउटै नेटवर्कभित्रको कलको दर पनि घट्ने भएकाले उपभोक्तालाई फाइदा हुने प्राधिकरणको तर्क छ। 

नयाँ निर्देशिका कार्यान्वयन भएर अन्तर-आबद्धता शुल्क घट्दा टेलिकम कम्पनीहरूले भने आफूहरूको नाफा घट्ने तर्क गर्दै कार्यान्वयन गर्न अनिच्छुक हुँदै आएका छन्। तर शुल्क घट्दा कलको दर बढ्ने भएकाले कम्पनीहरूलाई घाटा नहुने प्राधिकरणको जवाफ छ। 

निर्देशिका जारी भए पनि २०७६ चैत २० गतेदेखि मात्र शुल्क घट्ने प्राधिकरणले बताएपनि विभिन्न कारणले यसको भाखा सर्दै आएको छ। 
हाल नेपाल टेलिकमको नेटवर्कबाट अन्य कम्पनीका प्रिपेड सिममा कल गर्दा प्रतिमिनेट १ रूपैयाँ ५० पैसा लाग्ने गरेको छ। टेलिकमकै पोस्टपेड सिमबाट कल गर्दा प्रतिमिनेट १ रूपैयाँ लाग्छ। माघबाट यो शुल्क घटेर प्रिपेडबाट प्रतिमिनेट १ रूपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा लाग्ने प्राधिकरणले जनाएको छ। 

त्यस्तै, एनसेलबाट अन्य टेलिकम अपरेटरको नम्बरमा कल गर्दा प्रतिमिनेट २ रूपैयाँ ५४ पैसा लाग्दै आएको छ। निर्देशिकाअनुसार एनसेलबाट नेपाल टेलिकम वा स्मार्टसेलमा कल गर्दा प्रतिमिनेट दुई रूपैयाँ १० पैसा मात्र लाग्ने छ।

यस्तै हाल स्मार्टबाट अन्य टेलिकम कम्पनीमा कल गर्दा प्रतिमिनेट १ रूपैयाँ ९२ पैसा लाग्दै आएको छ। अब स्मार्टसेलबाट अन्य टेलिकम कम्पनीहरुमा कल गर्दा प्रतिमिनेट १ रूपैयाँ ४८ पैसा लाग्ने प्राधिकरणले जनाएको छ।