चांगनको प्रिमियम सेडान ‘अल्स्विन’ नेपाली बजारमा, ४२ लाख पर्ने गाडीमा यस्ता छन् विशेषता

बिजमाण्डू
२०७८ मंसिर ७ गते १३:४४ | Nov 23, 2021
चांगनको प्रिमियम सेडान ‘अल्स्विन’ नेपाली बजारमा, ४२ लाख पर्ने गाडीमा यस्ता छन् विशेषता

काठमाडौं। चिनियाँ मोटर उत्पादक चांगनको प्रिमियम सेडान सिरिज 'अल्स्विन' नेपाली अटोमोबाइल बजारमा आएको छ। यो गाडी एमएडब्लु अन्तर्गतको वृद्धि अटो कर्पले सोमबार सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

चांगनका गाडीको पहिलो बिक्री नै प्रिमियम सेग्मेन्टबाट थालिएको जनाएको कम्पनीले यो गाडी सेडान मन पराउने सवारी प्रयोगकर्ताले रुचाउने जनाएको छ। 

सुरुवाती मूल्य ४२ लाख रुपैयाँ रहेको अल्स्विनमा अहिले आएका गाडीहरुमध्ये भविष्य उन्मुख डिजाइन प्रविधि रहेकाले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्डहरू स्थापित गर्ने बिक्रेता कम्पनीका अध्यक्ष विष्णु अग्रवालले बताए। 'हामीले हाम्रा ग्राहकहरूलाई सबैभन्दा राम्रो बिक्री र बिक्रीपछिको सेवा पूर्वाधार दिनेछौं र ग्राहकको आनन्द र अनुभवमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्नेछौं,' उनले भने।

चांगन इन्टरनेसनलका उपमहाप्रबन्धक डेङले सेडान सिरिजको यो गाडीले नपाली बजारमा नवीनतम परिणाम दिने दाबी गरेका छन्।
१.४ लिटर ब्लुकोर इन्जिनयुक्त यो गाडीमा पाँच स्पिड म्यानुअल अल्ट्रा ट्रान्समिसन जडान गरिएको छ।

१३७० सीसी इन्जिन क्षमताको यो गाडीमा ९९ बीएचपी र १३५ एमएम टर्क उत्पादन क्षमता छ। २५ सय ३५ एमएमको ह्वीलबेस रहेको गाडीमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स छ। चार सिलिण्डरयुक्त गाडीमा ३९० लिटरको बुटस्पेस समावेश गरिएको छ।

गाडीमा सात इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम,एन्टिलक ब्रेकिङ सिस्टम, पार्किङ रिभर्स लगायतको विशेषता समावेश गरिएको छ।
चांगन सन् २०२१ मा चीनमा सबैभन्दा बढी प्यासेन्जर भेहिकल बिक्री गर्ने कम्पनी हो। सन् २०२० मा यो ब्राण्डका गाडी ६० वटा मुलुकमा २० लाखभन्दा बढी बिक्री भएका थिए।