एप्पलले तीन वर्षभित्र ‘फुल सेल्फ ड्राइभिङ’ अप्सनयुक्त कार ल्याउने, कर्मचारीलाई फिर्ता बोलाउँदै

बिजमाण्डू
२०७८ मंसिर ४ गते ०९:५१ | Nov 20, 2021
एप्पलले तीन वर्षभित्र ‘फुल सेल्फ ड्राइभिङ’ अप्सनयुक्त कार ल्याउने, कर्मचारीलाई फिर्ता बोलाउँदै

आइफोन निर्माता कम्पनी एप्पलले अबको तीन वर्षभित्र 'फुल सेल्फ ड्राइभिङ' अप्सनयुक्त कार सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले आउँदो २०२५ बाट यो गाडी सार्वजनिक गर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

गाडी उत्पादनका लागि कम्पनीले आउँदो फेब्रुअरीबाट आफ्ना कर्मचारीलाई काममा पुनः फर्काउन लागेको जनाएको छ। कोभिड महामारीका कारण कर्मचारीलाई लामो बिदा दिएको कम्पनी अब सामान्य अवस्थामा फर्किएको छ।

कम्पनीले ल्याउन लागेको यो गाडी स्टेरिङ र ह्वीलपेडलरहित तयार हुने जनाएको छ। यो गाडी ह्याण्ड्स अफ ड्राइभिङ अवधारणामा डिजाइन गरिएको छ। एप्पलले सन् २०२५ मा कार ल्याउने घोषणाले अमेरिकी सेयर बजार बढाएको छ।

कम्पनीको सेयर मूल्य बढेको छ। इभी कम्पनीका उत्पादनहरुलाई एप्पलले कडा चुनौती दिने आकलन लगानीकर्ताहरुको छ। कम्पनी अन्तर्गत प्रोजेक्ट टाइटानमा आधारित रहँदै एप्पलले सन् २०१४ बाट गाडीको डिजाइन सुरु गरेको जनाएको छ।

यो कम्पनीले सन् २०२४ सम्ममा आफ्नै ब्याट्री टेक्नोलोजीयुक्त प्यासेन्जर भेहिकल उत्पादन गर्ने जनाएको छ।