काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले लागू गरेको धमाकेदार दशैं-तिहार अफर अन्तर्गत विजेता घोषणा गरेको छ। यो अफरअन्तर्गत जीतबहादुर खत्रीले स्कुटर प्राप्त गरेका छन्।
घटस्थापनादेखि छठ पर्वसम्म सेवा लिने यात्रुका लागि ल्याइएको अफरमध्ये उनी भाग्यशाली विजेता बनेका हुन्। उनले पोखरा-काठमाडौं उडान गरेका थिए।
बुधबार कम्पनीको फेसबुक लाइभमार्फत आयोजित लक्की ड्र कार्यक्रमबाट खत्रीलाई विजेता घोषणा गरिएको हो।
विजेता बनेसँगै उनले दुई लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको यामाहा फ्यासिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन्।
यो अवधिभर कम्पनीको उडान सेवा लिने मध्येबाट तीन जना भाग्यशाली विजेता छनोट भएको जनाइएको छ।
दोस्रो विजेता भएका ध्रुवराज भट्टराईले एक जोडीका लागि काठमाडौं-दुबई-काठमाडौंको दुईतर्फी फ्री टिकट प्राप्त गरेका छन् भने तेस्रो भाग्यशाली विजेता सरुप्य सत्यालले हिराको टप प्राप्त गरेका छन्।
कम्पनीका अनुसार यो अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो ।
योजना अवधिभर (३५ दिनमा) एक लाख सात हजार ५५ जनाले यती एयरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यमा यात्रा गरेको उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। कम्पनीले आउँदा दिनमा पनि यात्रुलक्षित अन्य योजनाहरु सार्वजनिक गर्दै जाने उनले बताए।