मोरङको फुजिमा आयलले सुरु गर्‍यो उपयोगपछिको ग्यारेन्टी बीमा, सीमा एक करोड

२०७८ कात्तिक ९ गते १७:०२
मोरङको फुजिमा आयलले सुरु गर्‍यो उपयोगपछिको ग्यारेन्टी बीमा, सीमा एक करोड


विराटनगर। विभिन्न लुब्रिकेन्ट्स तेलको उत्पादन गरिरहेको मोरङको फुजिमा आयलले आफ्नो उत्पादनको उपयोग पछिको ग्यारेन्टी बीमा (प्रोडक्ट लाइबिलिटी इन्स्युरेन्स) गर्ने भएको छ।

Tata
GBIME

नेपालका ८ वटा ठूला लुब्रिकेन्ट्स कम्पनीमा सबैभन्दा पहिले फुजिमाले ग्यारेन्टी बीमाको योजना ल्याएको हो। फुजिमाका प्रबन्ध निर्देशक सुबोध कोइरालाले उद्योगका उत्पादन प्रयोग गरिएका मोटर, मेसिन, इन्जिन लगायतका कुनै पनि सामानमा समस्या आएमा त्यसको बीमाको ग्यारेन्टी गरिने जानकारी दिए।

‘कुनै पनि उपभोक्ताले सामान बिग्रिएर बीमा दाबी गरेमा उसले हाम्रो उत्पादन प्रयोग गरेको छ कि छैन भनेर हामी प्रयोगशालामै परीक्षण गर्छौं,’ प्रबन्ध निर्देशक कोइरालाले पत्रकार सम्मेलनमा भने, ‘हामीसँग लुब्रिकेन्ट्सको गुणस्तर परीक्षण गर्ने नेपालकै ठूलो प्रयोगशाला छ। यहाँ परीक्षण सम्भव नभए विदेशमा लगेर परीक्षण गरिनेछ।’

कोइरालाले फुजिमाका उत्पादनको प्रयोग गरेर मेसिन बिग्रिएको प्रमाणित भएमा मात्र बीमा रकम उपलब्ध गराइने बताए। उनले हिमालय इन्सुरेन्ससँगको सहकार्यमा उद्योगले बीमा कार्यक्रम चलाएको उल्लेख गर्दै यसको सीमा वर्षको १ करोड रुपैयाँ भएको स्पष्ट पारे।

कोइरालाले उद्योगका कन्ट्रोल, म्याजिक प्लस र रोयल लुब्रिकेन्ट्स ब्रान्डका २ सयभन्दा बढी उत्पादन तथा ग्रिजको उपयोग गरेपछि मेसिन र इन्जिनमा समस्या आएमा उपभोक्ताले वीमा दाबी गर्न सक्ने जनाए। उनले २०५२ सालदेखि फुजिमा आयलले उत्पादन सुरु गरेको र बितेका २७ वर्षमा यस उद्योगका कुनै पनि उत्पादनको गुनासो नआएको जिकिर गरे।

कोइरालाको भनाइ थियो, ‘सदैव लुब्रिकेन्ट्स उत्पादकको नेतृत्व गर्दै आएको फुजिमाले नेपालमै पहिलो पटक ‘प्रोडक्ट लाइबिलिटी इन्स्युरेन्स’ कार्यक्रम ल्याएर आफूलाई पायोनियर बनाएको छ। र, उपभोक्ताप्रति उद्योग जिम्मेवार भएको प्रमाणित गरेको छ।’


Sunrise Bank