इच्छाराजको हिरासत अवधि लम्बियो : अब सहकारी ठगीमा हैन संगठित अपराधमा अनुसन्धान

बिजमाण्डू
२०७८ कात्तिक ४ गते २०:२८ | Oct 21, 2021
इच्छाराजको हिरासत अवधि लम्बियो : अब सहकारी ठगीमा हैन संगठित अपराधमा अनुसन्धान

काठमाडौं। सिभिल ग्रुपका अध्यक्ष तथा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध  अनुसन्धान गर्न अदालतले थप १८ दिनको समय दिएको छ। जिल्ला अदालत काठमाडौंबाट १८ दिनको म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी श्याम महतोले जानकारी दिए।

Tata
GBIME
Nepal Life

यसअघि पहिलोपटक अदालतबाट ५ दिनको म्याद थप गरिएको थियो। प्रहरीले अदालतबाट संगठित अपराधमा म्याद थप गरेको हो।

यसअघि तामाङलगायत अन्य १२ जनाविरुद्ध सहकारी ठगीमा म्याद थप गरिएको थियो।

संगठित अपराधमा म्याद थप गरेपछि प्रहरीले तामाङलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ। सहकारी ठगीमा प्रहरीले २५ दिन अगाडि नै अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। 

सिभिल ग्रुप मातहतका २० भन्दा धेरै कम्पनीका सञ्चालक तामाङलाई प्रहरीले असोज १९ गते ठगी अभियोगमा नियन्त्रणमा लिएको थियो। उनीसँगै अन्य ११ जना समेत पक्राउ परेका थिए।

पक्राउ पर्नेहरूमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायानानी महर्जन, जुनियर असिस्टेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक छन्।

त्यस्तै, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका हुन्।

तामाङविरुद्ध प्रहरीमा उजुरी आउने क्रम बढेको छ। बिहीबारसम्म तामाङविरुद्ध प्रहरीमा १ हजार १२६ उजुरी परेका छन्। उजुरीमा ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ ठगी भएको दाबी गरिएको छ। 

इच्छाराजले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए। उनी नै सहकारीको अध्यक्ष समेत भए। त्यतिखेर उनी ऋण उपसमितिका प्रमुख पनि थिए।

सिभिल ग्रुप नेपालमा चलेको व्यापारिक घराना बनिसकेको थियो। इच्छाराजले सिभिल होम, सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको देखिएको छ। वित्तीय अनुशासनका हिसाबमा उनको ऋण लिने शैली पूर्णत: गैरकानुनी हो।

सिभिल सहकारीमा हाल ३ हजारभन्दा धेरै निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ। तीमध्ये अधिकांश ठगिएका छन्। सहकारीले विभिन्न खाले चिठ्ठाको प्रलोभन देखाउँदै रकम संकलन गरेको पनि अनुसन्धानमा खुलेको छ। तामाङ नेकपा (एमाले) का तर्फबाट संविधानसभा सदस्य समेत रहेका थिए।